भदौ ३१, नयाँदिल्ली | वैदेशिक रोजगारको अवैध गिरोहद्वारा पछिल्लो समय मौरिसस, माल्दिभ्स, न्युजिल्यान्ड, माल्टा, दक्षिण कोरिया पठाइदिने भन्दै सयौं नेपाली युवायुवतीलाई भारतका नयाँदिल्ली लगायत सहरमा पुर्याउने र अलपत्र पार्ने क्रम बढेको छ ।
यसरी ल्याइएका युवाहरूलाई ती गिरोहले पासपोर्ट नियन्त्रणमा लिने र चाडै उडाइने भन्दै महिनौं अलपत्र पार्ने गरका छन् । यस्तै नियति भोगेका छन् पोखराका शौरभ छेत्री तथा गोर्खाका रमेश बराम, निरञ्जन गुरुङ र राजेन्द्र गुरुङले ।
माल्दिभ्सको एउटा रिसोर्टमा काम लगाइने र मासिक कम्तीमा पनि ३ सय अमेरिकी डलर पाइने प्रलोभनमा पारेर डेढ लाख रुपैयाका दरले दलाललाई रकम बुझाएको उनीहरूले बताए । तर, दुई महिनामा दिल्लीमा उनीहरूले पाएको मानसिक र शारीरिक पीडा सामु त्यो रकम केही होइन भन्छन् उनीहरू । ‘जीवनमा नचिताएकोदुःख पाइयो, न बस्नेठाउ छ न खानलाई पैसा,’ छेत्रीले भने।
उनीहरूलाई दिल्ली पुगेको दुई दिनमै उडाइने आश्वासन दिइएको थियो तर महिना दिन बित्यो । उनीहरूलाई अलमल्याउन एक दिन दिल्लीकै एउटा ट्राभल एजेन्सी समेत पुर्याइयो । ती एजेन्टसामु उक्त ट्राभल एजेन्सीका कर्मचारीले अब सबै प्रक्रिया पूरा भइसकेको छ, चाडै उडाइने भन्दै आश्वासन दिए । त्यो सुनेर उनीहरूलाई केहि राहत मिल्यो । तर पछी त्यहि ट्राभल एजेन्सी पुग्दा उनीहरू छागाबाट खसेजस्तो बने । किनकि ट्राभल एजेन्सीमा पहिलेका आश्वासन दिएका कुनै पनि कर्मचारी थिएनन् ।
पिडितहरुको रकमै डुब्ने चिन्ता भइरहेका बेला उनीहरूमाथि अर्को तनाव थपियो । घर साहुले उनीहरूसंग भाडा माग्न थाले । बुझ्दा कोठाभाडा मात्र भारु डेढ लाख नाघिसकेको रहेछ । कोठा
भाडामा लिने कुमारले सुरुदेखिकै रकम बुझाएका रहेनछन्। तिनै कुमारले छेउछाउका अन्य घरमा पनि त्यसैगरी कोठा लिएर नेपाली युवालाई राखेका रहेछन् र ती सबैको ठाको भाडा हिसाब
गर्दा डेढ लाखभन्दा बढी पुगेको रहेछ । ‘हामीलाई जस्तै मोरिसस, माल्टा, कोरिया, न्युजिल्यान्ड पठाउनेभन्दै यहा ल्याएर राख्ने रहेछन्, पछि पो थाहा भयो,’ छेत्रीलेभने । त्यति ठूलो रकम उनीहरूले तिर्न सम्भव थिएन । त्यसपछि ती घरसाहुले भाडा नतिरसम्म सामान पनि फिर्ता नहुने भन्दै कोठामा ताल्चा लगाइदिए । त्यसपछि उनीहरू सहयोगका लागि दूतावासको सम्पर्कमा आएको उनीहरूको भनाइ छ । आफ्ना पासपोर्ट लगायत सामान फिर्ता पाऊ भनी उनीहरूले दिएको लिखित उजुरीका आधारमा दूतावासले कारबाही अगाडि बढाएको छ ।
- आजको कान्तिपुरमा सुरेशराज न्यौपानेले लेख्नुभएको छ ।