2026-09-18 06:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

दनुवार जातिको रामदल नृत्य सङ्कटमा

 पुस १७, गाइघाट हरिकुमार राई  (रासस) : उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको चुहाडे राजाबास, कटारीको रिस्कु, उदयपुर गढीक्षेत्रको दनुवार बेसी क्षेत्रमा बसोबास गर्दै आएका जिल्लाका पुरानो आदिवासी दनुवार जातिको सांस्कृतिक पहिचान झल्काउने रामदल नृत्य हिजोआज सङ्कटमा पर्न थालेको छ । 

विशेषगरी युवायुवतीले खेतीपाती गर्ने समयमा र वनजङ्गल दाउराघाँस गर्दा दनुवार जातिको वेषभूषामा रहेर सामूहिकरूपमा गीत गाउने र नाच्ने रामदल नृत्य दनुवार जातिलाई चिनाउने पहिचानमूलक संस्कृति हो । हिजोआज युवायुवतीले कृषि पेशा छाडेर अन्य पेशामा लागेका तथा अन्य गीतसङ्गीतको प्रभावका कारण यो संस्कृति लोप हुँदै सङ्कटमा पर्न थालेको नगरपालिका–७ गैरुनका ७० वर्षीय लालबहादुर दनुवार बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “खास गरेर धान रोप्ने, मकै छर्ने, गोड्ने बेलादेखि विभिन्न मेलापात दाउराघाँसमा समेत दनुवार युवायुवती आफ्नो जातीय वेषभूषामा रहेर गाइने र नृत्य गरिने यो नृत्य हिजोआज युवायुवतीका कारण नै चट्टै बिर्सिँदै गएको छ, अहिले कहीँकतै पनि दनुवार बसोबास क्षेत्रमा रामदल नृत्य देख्न र सुन्न पाउन छाडियो ।” 

यस्तै कटारी रिस्कुका ७४ वर्षीय ज्ञानबहादुर दनुवार भन्नुहुन्छ, “बाह्र, पन्ध्र वर्ष अघिसम्म पनि गाउँघर खेतबारी मेलापातमा समेत रामदल गीत, नृत्य, घन्कने गर्दथ्यो, रामदल नृत्य देख्न पाइन्थ्यो, अहिलेको युवायुवती अब कृषि पेशाबाट पलायन हुँदै अन्य गीत सङ्गीतको समेत प्रभाव पारेपछि यो नृत्य हराउँदै गयो, यो हाम्रो संस्कृति अहिले सङ्कटमा रहेको देख्छु ।” 

ज्ञानबहादुरका अनुसार अहिलेको दनुवार पुस्ताले नै यसको संरक्षणमा जोड दिनुपर्ने भए पनि युवापुस्ताले रामदल नृत्य बिर्सिन थालेका छन् । 

पुरुष युवाले कछाड, दौरा, इस्टकोट र टोपी तथा महिलाले गुन्यू, चौबन्दी र दनुवार जातिका गरगहना लगाएर मायाप्रीति, दुःखसुखका गीतमा सामूहिक गायन र नृत्य गर्ने रामदल नाचले दनुवार जातिको रहनसहन र खानपान तथा गाउँघरका संस्कृति झल्काउने गरेको राजाबासका समाजसेवी युवा केदार दनुवारको भनाइ छ । 

अहिलेसम्म पनि यसको उचित संरक्षण अनुसन्धानमा राज्यको समेत ध्यान नगएको र दनुवार समुदायको पनि खासै पहल हुन नसकेको तथा स्थानीय सरकारले समेत यसतर्फ उचित ध्यान दिन नसकेको उहाँको गुनासो छ । 

दनुवार जातिको रामदल नृत्यको संरक्षण र महत्वबारे भाषाविद् तथा संस्कृतिविद् डा कैलाशकुमार राई भन्नुहुन्छ, “थोरै सङ्ख्यामा र लोपोन्मुख अवस्थामा रहेको दनुवार जाति र उसको भाषा संस्कृति संरक्षण गर्नसके देशको पनि सांस्कृतिक विकास हुन्छ, त्यसैले यसको संरक्षणमा अब स्थानीय सरकारले उचित ध्यान दिनुपर्छ, बौद्धिक समुदायले पनि यसको उचित खोज र अनुसन्धान गरेर संरक्षणमा मद्दत पुर्याउन आवश्यक छ ।” 

उदयपुरमा लामो समयदेखि राई दनुवार, कछाडिया, अधिकारी, सुसिया, फनेर, कचा, रावत, कचरिया, राजन, राय, गोराइत, नामपुच्छ्रे, डोनेजस्ता जातिका दनुवार बसोबास गर्दै आएका छन् । उनीहरूको पनि गोत्र र थर तथा वंशानुगत हाँगा छुट्याएर विवाहवारी नाता कुटुम्ब बनाउने गरेको उदयपुर चुहाडेका मानबहादुर दनुवार बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई