2026-07-25 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

पूर्णप्रसाद मिश्र | माघ ४,काठमाण्डौ | भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । 
माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । “रु तीन करोड १४ लाखमा मन्दिर पुनःनिर्माण हुनेछ, पुनःनिर्माण पहिले प्रयोग गरिएकै निर्माण सामग्रीको प्रयोग हुनेछ, विश्व सम्पदा सूचीमा सूचिकृत स्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ पुनःनिर्माणको काम हुनेछ”, उहाँले भन्नुभयो । 
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले एक महिना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि गत वर्ष सम्झौता रद्ध गरेको थियो । 
दाता शर्मा शुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य भएको बताउनुहुुन्छ । “विभागले नक्सा स्वीकृत गर्न डेढ वर्ष लगायो, विभागले दिएको स्वीकृति फेरि कोषले स्वीकार गरेन, मैले भत्किएको सम्पदा पुनःनिर्माणमा केही सहयोग गर्न सकिन्छ कि भनेर सानो प्रयास गरेको हुँ, यसक्रममा विभाग, विश्व सम्पदा र स्थानीयवासीको फरकफरक इच्छा भएर काममा अप्ठ्यारो भयो”–उहाँले भन्नुभयो । 
भूकम्पको चार वर्ष हुन लाग्दा समेत जयवागेश्वरी मन्दिरको छानो पालले ढाकिएको छ । टुँडाल र इट्टा धमाधम झर्न थालेका छन् । चारैतिर चर्किएर प्वाल परेको मन्दिर ढल्ने क्षण कुरेर बसेको छ । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउँदा सडक खनिएकाले मन्दिरमा थप क्षति पुगेको छ । सडक नजिकै मन्दिर छ । दैनिक हिँड्ने सवारी साधनले जीर्ण मन्दिरमा क्षति थपिँदै जाने निश्चित छ । 
सडक छेउमै रहेको जीर्ण मन्दिर भत्किएर दुर्घटना हुनसक्ने खतरा छ । सडक पेटीसँगै पैदल यात्रु पनि हिँड्ने भएकाले यो संवेदनशील अवस्थाप्रति कसैको ध्यान नगएकाप्रति काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष दीनेश डङ्गोलले आपत्ति जनाउनुभयो । 
मन्दिर परिसर घुमेर हेर्दा लाग्छ भगवान् बस्ने मन्दिरको यो अलपत्र अवस्थाको आर्तनाद सुनिदिने कोही छैन । सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ । 
चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य–सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउनुहुन्छ । पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । १५ सम्पदा पूर्णरुपमा क्षति भएका थिए । 
पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये १७ गरी कुल १८ सम्पदा बनाइएको निर्देशक भरत मरासिनीले बताउनुभयो । भूकम्पले अति प्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म २०१ वटाको मात्र पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 
जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि 
जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो । 
मन्दिरको कलेबर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जगवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीय सन्देश मुनिकारले बताउनुभयो । 
जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ । 
जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना छ । 
गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट शुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक