२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अन्तरजातीय विवाह गरेका सुखी जोडीहरू

२०७५, ७ चैत्र बिहीबार ०६:१४

चैत ७, लमही (रासस) | कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरेका अन्तरजातीय जोडी सफल भएका छन् भने समाजमा एउटा उदाहरणीय पात्र बन्ने गरेका छन् । 

दाङ तुलसीपुर उपमहानगरपालिका–१ का गोविन्द सापकोटाले विसं २०३३ मा तारादेवी सुनारलाई अन्तरजातीय विवाह गर्नुभयो । अहिले उहाँको एउटा छोरा छन् । अन्तरजातीय विवाह गर्दा घरपरिवारबाट अपमान सहन बाध्य भएका सापकोटा अन्ततः परिवारको प्यारो बन्न पुग्नुभयो । एक्काइसौँ शताब्दीमा रुढीवादी कुसंस्कार अन्त्य गर्न सफल भएको भन्दै सबैले प्रशंसा गर्न थालेपछि घरपरिवार पनि सकारात्मक भएको उहाँ बताउनुहुन्छ । “रगत सबैको रातो हुन्छ, मान्छे सबै एउटै हो”, उहाँले भन्नुभयो, “मान्छेमान्छेबीचको विभेद अन्त्य हुनुपर्ने आवाज उठाउँदै अन्तरजातीय विवाह गरेको हूँ ।” 

अहिले अन्तरजातीय विवाह गरेकै कारण सबैले प्रशंसा गर्ने गरेको उहाँको भनाइ छ । त्यस्तै मुलुक नयाँ युगमा प्रवेश गरिसकेको अवस्थामा परम्परागत कुसंस्कार अन्त्य गर्नुपर्ने भन्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । 

त्यस्तै सोही वडा भमकेका २१ वर्षीय सञ्जीव नेपालीले नेपालगञ्जकी यशोदा गुरुङलाई एक वर्षअघि विवाह गर्नुभयो । “समाजमा अझै पनि अन्तरजातीय विवाहलाई स्वीकार गरिएको छैन”, गुरुङले भन्नुभयो, “यसलाई चिर्न पनि अन्तरजातीय विवाह गरेकी हूँ ।” 

सबैको रगत रातो हुने, सबैले फेर्ने सास एउटै हुने भन्दै मान्छे–मान्छेबीच हुने विभेद अन्त्य गर्न अन्तरजातीय विवाह गरेको गुरुङको भनाइ छ । “अन्तरजातीय विवाह गरेपछि आमाबुबा र समाजले स्वीकार गर्दैनन् भन्ने पहिले नै थाहा थियो”, उहाँले भन्नुभयो, “तर समाजको कुसंस्कार अन्त्य गर्न जस्तोसुकै परिस्थितिमा पनि सामना गर्न तयार भएँ ।” कामका आधारमा जात छुट्याइएको भन्दै यसलाई अन्त्य गर्न यसरी नै सबैको समर्थन आवश्यक रहेको उहाँको भनाइ छ । आफूले अन्तरजातीय विवाह गरेपनि सुन्दर जीवनयापन गर्न सकिन्छ भनी समाजमा चेतना प्रदान गर्न अन्तरजातीय विवाह गरेको उहाँको तर्क थियो । 

त्यस्तै तुलसीपुर–८ का ३० वर्षीय शुक्रराज चौधरीले पनि सोही ठाउँकी बालिका विकलाई छ वर्षअघि विवाह गर्नुभयो । विवाह हुनेबित्तिकै समाजले स्वीकार गरेन । घरपरिवारले पनि स्वीकार गर्न मानेन । तर छ महीनापछि समाज र घरपरिवारले स्वीकार गर्यो र विधिवतरूपमा विवाह भयो । 

अहिले उहाँहरु सहजै ससुराली आवतजावत गर्नुहुन्छ । समाजले पनि सम्मानजनक व्यवहार गर्ने चौधरीले बताउनुभयो । “मुलुक धेरै अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो, “हामी भने जातभात, छुवाछुतमै अल्झिएका छौँ ।” समृद्ध समाज निर्माणका लागि जातीय र लैङ्गिक विभेदको अन्त्य हुन जरुरी रहेको उहाँको तर्क थियो । अन्तरजातीय विवाहलाई आफूहरुले प्रोत्साहन गरिरहेको भन्दै राज्यले पनि अन्तरजातीय जोडीलाई उचित सम्मान दिने हो भने जातीय उन्मूलन गर्न सकिने उहाँको भनाइ छ । जातिय उन्मूलनको कडी अन्तरजातीय विवाह भएको भन्दै यसलाई प्रोत्साहन गर्न सके जातीय विभेद अन्त्य गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो । 

माथिका तीन जोडी उदाहरण मात्रै हुन् । दाङमा धेरै अन्तरजातीय विवाह गरेका जोडी खुशी छन् र सुखी जीवन बिताइरहेका छन् । अझै पनि नेपाली समाजले अन्तरजातीय विवाहलाई मन खोलेर स्वीकार गर्न नसकेको दलित अधिकारकर्मी निर्मल नेपालीले बताउनुभयो । 

उहाँका अनुसार अन्तरजातीय विवाहलाई प्रोत्साहन गरे मात्रै पनि जातीय उन्मूलन गर्न टेवा पुग्ने उहाँको भनाइ थियो । “राज्यले पनि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्न सकेमा मात्रै पनि जातीय विभेद न्यूनीकरणमा मद्दत पुग्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते