२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तिलिचो ताल पुगेसँगै सबै थकान मेटिन्छ’

२०७६, २१ जेष्ठ मंगलवार ११:००

नारायणी रजौरे, जेठ २१, मनाङ । गत हप्ता तिलिचो ताल पुगेका खोटाङ हलेसीका ४६ वर्षीय नयन कुमार राई औधी खुशी छन् । यहाँ आएर जुन आनन्दको अनुभूति गर्न पाए त्यसबाट उनी सन्तुष्ट छन् । उनी भन्छन् – “चार दिनसम्म तिलिचो ताल छेउमा रात बिताउँदा निकै आनन्दित भएँ । मैले स्वर्गीय आनन्द नै प्राप्त गरेको छु ।” 

मानिसले स्वर्ग देखेको छ या छैन अथवा स्वर्गीय आनन्द प्राप्त गरेको हुन्छ वा हुँदैन भन्ने त थाहा छैन तर पनि, यो तालसम्म आइपुग्ने जो सुकैले पनि यस्तै अनुभूति भने पोख्ने नै गरेको बताउँछन् स्थानीय पर्यटनसेवी क्षेत्र गुरुङ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका पर्यटन सहायक गुरुङको अनुभव छ – यहाँ आउने स्वदेश या विदेशी पर्यटक यति भावुक र उत्साहित हुन्छन् कि यो तालको सुन्दरताको बयान गर्न उनीहरुसँग शब्द नै हुँदैन । 

खोटाङका राई खासमा तिलिचो ताल हेर्ने र यहीँ ध्यान गर्ने गरी आएका हुन् । उनी रातको समयमा एक्लै पाल टाँगेर बसेका छन् र रातदिन ध्यान गरिरहेका छन् ।  ताल छेउ बसेर ध्यान गर्दा आफूलाई निकै ऊर्जा मिलेको उनको भनाइ छ । चारदिनसम्म अन्न नै मुखमा नहाली तीन बोत्तल मिनरल वाटर र आधा किलो काजु, पेस्ता र किसमिस खाएर ध्यान गरिरहेको र दिन प्रतिदिन ऊर्जा मिलेको उनी बताउँछन् । 

दाङ जिल्लाबाट गएका हामी केही पर्यटकलाई राईले आफ्नो अनुभव सुनाइरहँदा तालको पूर्वपट्टि कुनामा एक महिलाको ठूलो आवाज आयो । यसो हेर्दा लाग्थ्यो उनी निकै नै भावुक बनिन् । उनी शुरुमा त तालमा पुगेपछि त्यहाँ रहेका नेपाली पर्यटकहरुसँगै खुशीले अङ्कमाल गरिन्, आँशु झारिन् र भनिन् – “नेपाल देश र यहाँका नागरिक कति भाग्यमानी रहेछन् !” यस्तो अद्वितीय प्राकृतिक मनोरम उपहार दिने भगवान्लाई पनि उनले धेरै पटक धन्यवाद दिइन् । 

उनले  यो सुन्दरतालाई बचाइराख्न आमनेपालीलाई आग्रह पनि गरिन् । उनी भन्दै थिइन् – यहाँसम्म  आउन निकै मेहनत गर्नुपर्ने रहेछ तर, यहाँ आइपुगेपछि त सबै थकान नै मेटिन्छ । 


उनको यो खुशी देखेर तिलिचो ताल अवलोकन गर्न तनहुँबाट पुगेका ४३ वर्षीय तेज पन्तले भने – “तिलिचो तालले नेपाललाई विश्वमा चिनाएको छ । यो हाम्रो अद्वितीय सम्पत्ति हो । यसको संरक्षण र सम्बद्र्धनका लागि हामी सबै लाग्नुपर्छ ।” 

मनाङ जिल्लाको  साविकको खाङसार गाविस वडा नं ९  र हाल निस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने सो ताल समुद्री सतहबाट ४ हजार ९१९ मिटर अग्लो स्थान अवस्थित छ । यसको लम्बाइ ३।९ किलोमिटर र चौडाइ १।६ किलोमिटर छ । यो ८५ मिटर गहिरो छ । यो विश्वकै सबैभन्दा अग्लो स्थानमा पर्ने ताल ४।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस ताल वरपर सेतै टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज, जुलु पिक, नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल लगायतका रहेका छन् । 

यहाँ असोज–कात्तिक महिनामा नीलो रङ्गको सङ्ग्लो पानी देखापर्छ । 

धेरै अग्लो स्थानमा रहेको र हिमालहरु नजीकै रहेकाले चिसो र लेक लाग्ने सम्भावनाका कारण यस ताल अवलोकन गर्नेको लागि कात्तिकदेखि मङ्सिरसम्मको समय बढी उपयुक्त हुन्छ । अर्को समय भने चैतदेखि जेठसम्मको हुने गरेको गुरुङले जानकारी दिए । उनका अनुसार पुस महिनादेखि जेठ १५ गतेसम्म आन्तरिक र बाह्य गरी ८ देखि ९ हजार पर्यटकले तालको अवलोकन गरेका छन ्।

 अहिले दैनिक तिलिचो तालमा ५० देखि ६० जनासम्म आन्तरिक र बाह्य पर्यटकहरु आउने गर्दछन् । ताल अवलोकनमा आउने पर्यटकहरुमध्ये केही सिधै मनाङ फर्कने गर्दछन् भने केही मनाङको थोराङ घाँटी हुदै मुस्ताङ जाने र मुस्ताङबाट पोखरा पुग्ने गरेका छन् ।

ताल पुग्नुअघि यतिखेर १५ देखि २० मिनेट हिउँमा पनि यात्रा गर्नुपर्ने हुन्छ । त्यस्तै, ठाउँ ठाउँमा हिमपहिरो खस्ने समेत खतरा बढेको छ । त्यस्तो ठाउँमा सावधानी अपनाएर हिड्नुपर्ने हुन्छ । उच्च लेक लाग्ने संम्भावना पनि त्यत्तिकै छ । अनि तालमा पुगेपछि सबै कष्टहरु भुल्ने गरेको पर्यटकहरु बताउँछन् । तिलिचो तालमा पर्यटकका लागि कुनै पनि सुविधा छैन् । पर्यटकलाई आफैंले पिउने पानी,  खाजा लगायतका सामग्री बोक्नुपर्ने बाध्यता छ । यो क्षेत्रमा चिया पसल पनि छैन । उच्च लेक लाग्ने सम्भावनाका कारण त्यहाँ कुनै पसल नभएको स्थानीय बासिन्दा बताउँछन् ।

नेपाल आउने पर्यटकहरु ट्रेकिङ एजेन्सीहरुको सहयोगमा तिलिचोसम्म पदमार्ग गर्छन् । धेरैजसो पदमार्ग हुँदै त्यहाँ पुग्ने पर्यटकहरु लमजुङको बेंसीशहरसम्म सवारी साधनमा आउने र त्यहाँ बास बस्ने गर्छन् । दोस्रो दिन बिहानै मनाङका लागि हिँड्दै जान्छन् । केही भने उपल्लो मनाङसम्म जीपमा चढेर जाने अनि मात्र पैदल हिँड्ने गरेका छन् ।

उपल्लो मनाङबाट साढे दुई घण्टाको पदैल यात्रापछि खाङसार गाउँ पुग्न सकिन्छ । खाङसार गाउँबाट  करीव ५ घण्टाको पैदल यात्रापछि तिलिचो तालको आधार शिविरसम्म पुग्न सकिन्छ । आधार शिविर पुग्नुभन्दा अगाडिको बाटोको पैदल यात्रा निकै चुनौतीपूर्ण रहेको छ । यो बाटो हिँड्दा निकै चनाखो हुनुपर्ने देखिन्छ । छिनछिनमा  धुले (सुख्खा) पहिरो खस्ने, कतै हिमपहिरो खस्ने, साँघुरो सडकले यात्रालाई निकै कष्टकर बनाउँछ । तालको आधार शिविरमा  पुगेपछि त्यही बास बस्नुपर्छ । भोलिपल्ट बिहानै पदमार्गबाट ४ देखि साढे ४ घण्टाको समयमा तिलिचो ताल पुग्न सकिन्छ ।

पश्चिम, दक्षिण र उत्तर दिशामा सेताम्य हिमालले  घेरेको तिलिचोमा अहिले पुग्दा मानौँ कि ताल हिउँसँगै मुस्कुराइरहेको भान हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा