2026-11-02 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पानीका मुहान सुक्दै

असार ४, बैतडी । पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार÷पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताउनुभयो । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो ।

पछिल्लो समयमा गाउँमा खानेपानीको समस्या बल्झिँदै गएको मेलौली नगरपालिका–१ का लक्ष्मण पार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका कुवामा समेत पानी सुक्न थालेपछि गाउँलेलाई खानेपानीको समस्या भएको छ”, जथाभावी वन फडानी हुनु, लागत अनुमानविना ठाउँठाउँमा सडक खनिनुले पानीको मुहान सुक्दै गएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।  

जङ्गल मासेर सडक खनिएका धेरै निवेदन आफूकहाँ आइपुगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “जथाभावी सडक खन्दा पानीका मुहानजस्ता प्राकृतिक सम्पदा नष्ट हुने र यसले मानवको जीवनमा सङ्कट निम्त्याउने छ ।”

यसैबीच सुक्खायामको शुरुआतसँगै बैतडीको मेलौलीमा खानेपानीको चरम समस्या भएको छ । काँडाबजार र आसपासका गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीयवासीले बताएका छन् । खानेपानी अभाव हुँदा होटल व्यवसायी, भाडामा बस्दै आएका कर्मचारी, विद्यार्थी र स्थानीय बासिन्दा निकै समस्यामा परेका छन् । खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नुपर्ने अवस्था आएको स्थानीय सुना दमाइले बताउनुभयो ।  

प्रत्येक वर्ष सुक्खायाममा पानीकै अभाव झेल्नुपर्ने अवस्था आएको स्थानीयवासी गङ्गासिंह नायकले बताउनुभयो । काँडाबजारमा खानेपानीको चरम समस्या हुँदा होटल व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको होटल व्यवसायी सीता चन्दले बताउनुभयो । 

मेलौलीमा विसं २०४० मा ग्वाल्लेकबाट ल्याएको खानेपानी योजना जीर्ण हुँदा र मुहानमै पानी कम हुँदा पानीको हाहाकार भएको हो । स्थानीय सरकारले खानेपानीको समस्या समाधान गर्न नसक्दा स्थानीय बासिन्दा निराश छन् ।

 सतबाँझमा वाटर टेबल टेस्ट

बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रमा वाटर टेबल टेस्ट गरिएको छ । वाटर टेवल टेस्ट गर्दा उक्त क्षेत्रमा पानी निस्किने देखिएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिनुभयो ।

रु छ लाख ७५ हजार खर्च गरेर गरिएको उक्त टेस्टमा पानी निस्किने भएपछि आगामी आर्थिक वर्षदेखि उक्त क्षेत्रमा बोरिङबाट पानी निकालिने उहाँले बताउनुभयो । बोरिङबाट पानी निकाल्नका लागि करीब रु ७० लाख लाग्ने अनुमान गरिएको छ । २२५ फिट गहिराइबाट बोरिङ गरी पानी निकालिन लागिएको हो ।

सुक्खा फलफूल विकास केन्द्रमा पानी निस्केपछि सिँचाइका लागि सजिलो हुने भएको छ । त्यहाँ रहेका १४ पोखरीसमेत हाल पानी नहुँदा सुक्दै गएका छन् । आकाशे पानीको भरमा रहेका ती पोखरी सुक्दै गएका हुन् । पोखरी सुक्दै जाँदा हाल तरकारी उत्पादनमा पनि कमी आएको छ ।

विसं २०१९ मा स्थापना भएको बागवानी विकास केन्द्र २०६२ देखि सुक्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छाडेपछि स्याउ फल्न पनि छाडेको छ । जलवायु परिवर्तनको असरले स्याउ फल्न छाडेपछि सुक्खा फलफूल विकास केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो । सुक्खा फलफूल विकास केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तराकारी खेती गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की