२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘फुट्यो ताल, टुट्यो सपना’

२०७६, २० श्रावण सोमबार १५:३६

रामबहादुर थापा, साउन २०, बागलुङ (रासस) । तुरतुरे ताल अब रहेन । चानचुन एक वर्ष थामिएको ताल साउनको बाढीसँगै बिलायो । सुन्दर ताल सोमबार बिहान एकाएक बगरमा परिणत भयो । अकस्मात बनेको ताल उसैगरी गयो । भाग्यवश ताल फुट्दा ठूलो क्षति भने भएन । 

गत वर्ष भदौ ३० गते खसेको पहिरोले बडिगाड खोला थुनिदा ताल बनेको थियो । ताललाई स्थानीयलले ‘तुरेतुरे’ नाम दिएका थिए । तुरतुरे बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा पर्छ । एक किमी क्षेत्रफलमा फैलिएको तालले पर्यटकीय आकर्षण थपेको थियो ।

ताललाई गाउँलेले आयआर्जनको माध्यम बनाएका थिए । गएको हिउँदमा व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गरिएको थियो । बिदाको दिनमा त ताल घुम्नेको घुइँचो नै लाग्थ्यो । घमाइलो दिनमा तालको सौन्दर्य कुनै प्राकृतिक तालको भन्दा कम थिएन । ताल नजिक कतिपयले सानोतिनो व्यवसायसमेत शुरु गरेका थिए ।

ताल प्रभावित क्षेत्रका बासिन्दाले ‘तुरतुरे ताल डुङ्गा व्यवस्थापन समिति’ नै बनाएर काम अघि बढाएका थिए । जलयात्राका लागि डुङ्गा किन्न ढोरपाटन नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । अब न ताल रह्यो, न खेतबारी । फुट्यो ताल, टुट्यो सपना जस्तै भएको छ ।

तालले ढोरपाटन नगरपालिका–२ सिमलचौर र खप्तरीबाङका दुई घर, पाँच गोठसहित सय रोपनीभन्दा बढी खेतीयोग्य जमीन डुबानमा पारेको थियो । घरखेत डुबेपनि ताल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुने आशामा गाउँले थिए । “तालले पर्यटकलाई आकर्षित गरेको थियो”, स्थानीयवासी नवीन पुनले भन्नुभयो, “डुङ्गा व्यवसायबाट आयआर्जन पनि भइरहेको थियो ।” 

दिगो रुपमा ताल जोगाउन सकेमा पर्यटकीय पूर्वाधार निर्माणको योजनासमेत बनाइएको थियो । व्यावसायिक माछापालनका लागिसमेत गाउँले तयारी गरेका थिए । ताल क्षेत्रमा घरबास (होमस्टे), रेष्टुराँलगायतका आयमूलक व्यवसाय चलाउन ढोरपाटन नगरपालिकाले सघाउने प्रतिबद्धता गरेको थियो । दुई÷चार वर्ष ताल केही नहुनेमा नगरपालिका पनि ढुक्क थियो । 

पर्यटकीय गन्तव्य बन्ने आशामा ताल जोगाउने मात्रै कुरा गरेपनि व्यवस्थित संरक्षणतिर कोही लागेनन् । निसी, भुजी र तमानखोलाबाट आएको बाढी बडिगाडमा मिसिदा तालले थेग्न सकेन । ताल फुट्दा आएको बाढीले सँगै साढे दुई सय मिटर मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि बगाएको छ । 

“अहोभाग्य भन्नुपर्छ, “तालले अन्य ठूलो क्षति पु¥याएन”, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भन्नुभयो, “तालको धेरैजसो पानी बगिसकेको छ, तल्लो तटीय क्षेत्रमा अब जोखिम छैन ।” यसरी एक्कासी ताल फुट्ला भनेर नसोचिएको उहाँको भनाइ छ । मध्यरातिदेखि नै तालबाट पानी बग्न थालेपछि सुरक्षा सतर्कता अपनाइएको थियो । बागलुङसँगै छिमेकी गुल्मीका बासिन्दासमेत रातभर जागा बसेका थिए ।

गत वर्ष पहिरो गए लगत्तै ताल फुटाउँदा जोखिम निम्तने खतरा भएपछि ताल उही स्वरुपमा राखिएको थियो । उतिबेलै नेपाली सेनाको प्राविधिक टोलीले तत्काललाई जोखिम टरेको भन्दै ताल नफुटाइ फर्केको थियो । हिउँदमा कुनै समस्या नभएपनि वर्षामा ताल के हुने हो भन्ने आशङ्का व्याप्त थियो । केही वर्ष ताल जोगिए पनि पछि पुरिने सम्भावना कतिपयले औँल्याउँदै आएका थिए ।

“जोखिम नहुने अवस्थामा मात्र ताल संरक्षण गर्ने योजना थियो”, अध्यक्ष पाइजाले भन्नुभयो, “तर, अब त्यो सम्भव रहेन ताल आफैँ फुट्यो ।” गत वर्ष ताल अवलोकनका लागि पुगेको नेपाली सेनाको प्राविधिक टोलीले ताल फुटाउनै परे पनि सुख्खायाममा फुटाउन सुझाव दिएको थियो ।

स्थानीयवासीले सरकारले नै तालको प्राविधिक अध्ययन गरी संरक्षण गर्नुपर्ने माग गर्दै आएका थिए । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने सानो आकारमा ताल रहिरहने बताउनुभयो । “पहिले जस्तो नहुने भयो, सानो स्वरुपमा भए पनि ताल रहन्छ”, उहाँले भन्नुभयो, “अहिलेलाई तालभन्दा पनि लोकमार्ग कसरी खुलाउने भन्ने चिन्ता छ, त्यसमै केन्द्रित छौँ ।”

ताल फुट्दा आएको बाढीले मध्यपहाडी पुष्पलाल लोकमार्गमा क्षति पु¥याएपछि सवारी अवरुद्ध हुँदा ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिकासँगको सडक सम्पर्क टुटेको छ । भिमगिठे, दर्लिङ हुँदै बुर्तिबाङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । तुरतुरेमा भत्केको सडक बनाउन केही समय लाग्ने जनाइएको छ ।

तालको पानी घट्दै गएपछि डुबानमा परेका खेत देखिन थालेको स्थानीयवासीले बताएका छन् । डुबानबाट ४८ घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । डुबेका दुई घर नगरप्रमुख नेपालीको व्यक्तिगत सहयोगमा पुनःनिर्माण भइसकेका छन् । अन्य डुबान प्रभावितले भने कुनै क्षतिपूर्ति पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो