असार १७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको कारण आज दिनभरी नै सडक सञ्चालन नहुने भएको छ । गएराति देखि निरन्तर भएको वर्षासँगैका कारणले सडकमा सवारीहरुको निकैनै लामबद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडक खण्डको चार किलो, पाँच किलो, जलवीरे र भालुढुङ्गामा माथिबाट ठूलो पहिरो खसेको छ ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको उनले जानकारी दिए । ‘पानी परिरहेको छ, माथिबाट पहिरो खसिरहेको छ, पन्छाउने सम्भावना छैन । पानी रोकिएमा पहिरो पन्छाउने काम हुनेछ,’ खनालले भने । उनका अनुसार अब वर्षात् रोकिएमा राति अबेरसम्ममा बाटो खुल्ने सम्भावना छ ।
बिहान ६ बजेबाट अवरुद्ध सडक ९ बजे केहीबेरका लागि खुलेको भए पनि पुनः ती ठाउँमा पहिरो खस्न थालेपछि पहिरो पन्छाउन नसकिएको उनले बताए ।
ठाउँठाउँमा पहिरो खसिरहेकाले सुरक्षित ठाउँमा बस्न वा वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ जान आयोजनाले सबैमा आग्रहसमेत गरेको छ । बिहानदेखि सडक अवरुद्ध बनेपछि सडकको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
जोखिममा परेका यात्रु अलपत्र अवस्थामा रहेका छन् ।