२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित

१ फाल्गुन २०७६, बिहीबार ०५:०३

पूर्णप्रसाद न्यौपाने, फागुन १, ओखलढुङ्गा (रासस) । पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न आउने पर्यटक अहिले मन खिन्न पारेर फर्किने गरेका छन् । 

‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेका सिन्धुपाल्चोकका विपिन न्यौपाने  साथीहरुसहित माघ पहिलो साता यहाँ आउनुभयो । उहाँले कवितामा कल्पना गरेजस्तो मन भुलाई हाल्ने ठाउँ  सदरमुकाम आसपासमा भेट्नुभएन । “प्राकृतिक रूपले कवितामा जतिकै सुन्दर लाग्यो ।” उहाँले भन्नुभयो, “तर आकर्षक पूर्वाधार बनाएर हामी जस्तो बाहिरबाट घुम्न आउनेलाई अडिन मन लाग्ने ठाउँ बनाएको पाइँन । क्या मज्जा लिउँला भनेर आइयो खास स्वाद आएन ।” साँघुरो सडक र अव्यवस्थित पार्किङजस्ता कुराले झन दुःख हेर्न आएको महसुस भएको उहाँले बताउनुभयो । 

उहाँलेजस्तै यहाँ आउने अधिकांशले कविता पढेर परिकल्पना गरेजस्तो ओखलढुङ्गा नपाउँदा खिन्न हुन्छन् । पर्यटन वर्ष चलिरहँदासमेत जिल्लाका कुनै स्थानीयतहले पर्यटक भित्र्याउन गतिलो योजना बनाएका छैनन् । पछिल्लो समय पूर्वाधारका नाममा बाटो खन्ने र महोत्सव गर्नेभन्दा अन्य योजनाले प्राथमिकता पाएका छैनन् । पर्यटक लोभ्याउने ठाउँ नभएसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने र रमाउने अवस्था नरहेको पर्यटन व्यवसायी डेण्डी शेर्पा बताउनुहुन्छ । “स्वदेशी विदेशी हामीसँग धेरै पर्यटक सम्पर्कमा हुन्छन् । आफ्नो जिल्लामा लैजाउँ भन्यो भने घुम्ने हेर्ने खास छैन ।” उहाँले भन्नुभयो, “प्राकृतिक सम्पदा त छँदैछन् । पूर्वाधार विकास भएन । यी दुवै कुरा मिलाएर आकर्षक विकास नभएसम्म पर्यटन प्रवद्र्धन हुँदैन ।” 

डेढ दशकअघि निर्माण शुरु भएको सदरमुकामसँगै रहेको थामडाँडास्थित शहीद उद्यान सम्पन्न  नहुँदै जीर्ण भइसकेको छ  । ढुङ्गा माटोका केही सिँढी र एउटा टहराभन्दा अरू पूर्वाधार निर्माण भएनन् । दशकभन्दा बढी बित्यो, थामडाँडाको शहीद पार्कबारे अहिले कसैलाई चासो र चिन्ता  छैन ।

सिद्धिचरण नगरपालिका–१२ मा रहेको वीरेन्द्र उद्यानमा एउटा स्मारक बनाउने कामभन्दा अरू केही भएनन् । हालै मात्र सांसद यज्ञराज सुनुवारको पहलमा सांसद विकास कोषबाट पटकपटक गरी रु ५० लाखभन्दा बढी खर्च गरेर सो उद्यान  नजिकै स्रष्टा पार्क निर्माण गरिएको छ । 

सो उद्यानमा जिल्लामा जन्मिएका साहित्य र कलाका स्रष्टा प्रथम गायिका  मेलवादेवी, युगकवि  सिद्धिचरण श्रेष्ठ,  गायक  पाण्डव सुनुवार र राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको अर्धकदको शालिक राखिएको छ  । “स्रष्टा पार्कको निर्माणले पूर्णता पाएको छैन”, उहाँले भन्नुभयो, “यसलाई पूर्ण बनाएर नमूना बनाउने मेरो लक्ष्य छ । यही नै अन्तिम होइन ।” स्रष्टा उद्यान बनाइए पनि यसको व्यवस्थापन छैन । शालिक राखिएका छन् तर कस्को शालिक हो भन्ने नामसमेत छैन । 

स्रष्टा उद्यान र सिद्धिचरण उद्यानको गत जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य कार्यक्रम गरेर उद्घाटन गर्नुभएको थियो । स्रष्टा उद्यान निर्माणले पूर्णता नपाउँदा कतिपय पूर्वाधारमा क्षति पुग्न थालिसकेको छ । “व्यवस्थित गर्ने हो भने आन्तरिक तथा स्थानीय पर्यटक नै दिनमा एक डेढ सयको सङ्ख्यामा स्रष्टा उद्यान आसपास घुम्न आउँछन् ।” स्थानीय उमङ्ग श्रेष्ठले भन्नुभयो, “धेरै खर्च भइसक्यो भन्छन् तर आवश्यक पूर्वाधार अझै बनेको देखिन्न ।”

युगकवि सिद्धिचरणको जन्मस्थलमा रहेको सिद्धिचरण उद्यान बल्लतल्ल हेर्न लायक हुने क्रममा छ तर, सानो क्षेत्रफलमा सीमित भएकाले एउटा पूर्णकदको शालिकबाहेक अन्य संरचना विस्तार गर्ने ठाउँ छैन । उद्यानमा समेत सिद्धिचरण प्रतिष्ठान, नगरपालिका र अन्य सरकारी शीर्षकमा करोडभन्दा बढी लगानी भइसकेको छ । विगत चार वर्षयता सिद्धिचरण नगरपालिका ११ नं वडामा नगर उद्यान निर्माण शुरु भएको छ । बहुवर्षीय योजनामा गरी यस वर्षसहित रु ८५ लाखभन्दा बढी नगरउद्यानको संरचना निर्माणमा खर्च भइसकेको छ । १३ रोपनी क्षेत्रफलको उद्यान सम्पन्न हुँदा रु सात करोडभन्दा बढी खर्च हुने लक्ष्य राखिएको छ तर, यो उद्यानले पनि पूर्णता पाउने हो या होइन भन्न नसकिने अवस्थामा रहेको छ । 

गत वर्ष निर्माण गरेको लगलगे दृष्य अवलोकन केन्द्रमा क्षति पुगिसकेको छ । छानोसहितको संरचना भत्किएको भए पनि मर्मत र थप पूर्वाधार निर्माण गरेर पर्यटक आकर्षित गर्ने योजना नगरपालिकाले बनाएको छैन ।नगरपालिकाको प्रवेशद्वार लगलगे नजिक सिमानामा निर्माण गरिएको नगरगेट पनि कुरुप लाग्दो छ । बनाई नसक्दै गेटको केही भाग चर्किएको छ । सिद्धिचरण नगरपालिकामा स्वागत गर्न बनाइएको गेट नै आकर्षक नभएको भन्ने टिप्पणी हुने गरेको छ । 

त्यस्तै सोलुखुम्बुको सिमानमा निर्माण गर्ने भनिएको नगरगेटको जग हालिएको एक वर्ष वितिसक्यो अहिलेसम्म काम अघि बढ्न सकेको छैन । रड ठड्याउनेबाहेक अरु काम अगाडि बढेको छैन । नगर क्षेत्रका अन्य पर्यटकीय गन्तव्यमा गरिएको पूर्वाधार विकास पनि दिगो नभएको स्थानीय बताउँछन् । “भ्यु टावर भत्किसक्यो ,  गेट हेर्दै घिनलग्दो छ । ओखलढुङ्गा पहिचान हो लेउ लागेर बसेको छ ।” नेपाली काँग्रेसका नेता डिल्ली खनालले भन्नुभयो, “नगरपालिकाले विकासलाई दिगो बनाउन सकेन । अहिलेका जनप्रतिनिधि मनलागी काम गर्छन् हामीलाई थाहासमेत दिँदैनन् ।” 

फोहर र अव्यवस्थित पार्किङले बजार अस्तव्यस्त सिद्धिचरण नगरपालिका जिल्लाको सदरमुकाम र ठूलो बजार क्षेत्र भएको ठाउँ हो । सडक मार्ग भएर सोलुखुम्बु प्रवेश गर्ने मार्गका रुपमा  पर्दछ । खोटाङको हलेसी पुगेर फर्केका पर्यटक सोलुखुम्बुको पत्ताले सम्म जान रुचाउँछन् । यसबीचमा पर्ने सिद्धिचरण नगरमा भने पर्यटकले रुचाउने वातावरण छैन । 

साँघुरो सडकमा जथाभावी गरिएको पार्किङ र सडक नै छेकेर राखिएको निर्माण सामग्रीले बजार क्षेत्र कुरुप बनेको छ । नगरपालिकाले बजारबाट सङ्कलन गरेको फोहर पनि नगर प्रवेशद्वार नजिकै यत्रतत्र फाल्ने गरिएका कारण लगलगे क्षेत्रमा दुर्गन्ध फैलिने गरेको छ । 

साँघुरो सडकमा दुईतर्फ मोटर गुड्ने अवस्था छैन । दुवैतर्फका सवारी आएको बेला लामो समय जाम हुन्छ । भिरालो सडकमा मानिसको आवागमन बढी हुने भएकाले दुर्घटनाको जोखिम पनि उत्तिकै छ । साथै साँघुरो सडकमा स्थानीयले घरको निर्माण सामग्री जताततै थुर्पादा साँघुरो र ठाडै ओरालो सडकमा पैदलयात्रुलाई जोगाउन मुस्किल हुने गरेको सवारी चालक सुवास खड्काले बताउनुभयो । 

बजारमा पैदलयात्रीलाई सहज आवतजावत गर्ने बाटोसमेत छैन । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले समस्या समाधान गर्ने काम भइरहेको बताउनुभयो । विद्यार्थी विद्यालय जाने र फर्कने समयमा बढी पैदलयात्रुको चाप हुने भएकाले यो समयमा बजार क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई एकतर्फि गर्ने उहाँले जानकारी दिनुभयो । “नयाँ बजारदेखि रमाइलो डाँडासम्म सडक निर्माणको काम सकिए पछि बजार क्षेत्रमा सञ्चालन हुने सवारीलाई वान वे गर्ने निर्णय भएको छ ।” प्रमुख श्रेष्ठले  भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु