२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भान्सामा छैनः बारीको तरकारी गाईवस्तुलाई

११ जेष्ठ २०७७, आईतवार ०३:२४

जेठ ११, रोल्पा | सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास गर्ने उपभोक्ता पनि गाउँ फर्किसकेकाले उहाँ त्यत्तिकै गाउँ फर्कनुभयो ।

पिँठ्यूमा डोकोभरिको तरकारी र  घाँटीमा  तराजु भिर्नुभएका उहाँले भन्नुभयो,  “सस्तै मूल्यमा भए  बिक्री गर्न खोज्दा पनि भएन, त्यति टाढाबाट थोरै भए पनि पैसा पर्छ कि भनेर बोकेर ल्याएँ, अब घर लगेर भैँसीलाई दाना बनाई दिनुपर्ला ।” 

रोल्पा नगरपालिका वडा नं ४ लिवाङ निवासी विष्णु बुढालाई साँझबिहान के तरकारी पकाऊँ भन्ने चिन्ताले दिनदिनै पिरोल्छ । बाहिर बजारमा सुनसान सडक, सबै पसल बन्द, एकाबिहानै उहाँले घरको छतबाट बाहिर सडकतिर कसैले तरकारी बेच्न ल्याउँछ कि भनेर हेर्दा पाउनुभएन ।  सदरमुकाम लिवाङमा तरकारी पसल गर्दै आउनुभएका गोमा पुन झण्डै दुई महिनादेखि पसल बन्द गरेर बस्नुभएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले बजारमा चहलपहल नभएकाले  व्यापार नभएपछि पसल बन्द गर्नुपरेको उहाँको भनाइ  छ । पुनले भन्नुभयो, “तरकारी डोकोमा सस्तोमा त आउँछ, तर राखेर के गर्नू, बिक्री हुँदैन, यहाँ पनि कुहिएरै जाने हो ।” 

यस्तै सदरमुकाममा तरकारी तथा फलफूलको व्यापार गर्ने जुना पुनले पनि झण्डै दुई महिनादेखि पसल बन्द गर्नुभएको छ । बाहिरबाट आउने तरकारी र फलफूल किन्दा कोरोना संक्रमणको जोखिम हुने त्रासले पसल बन्द गर्नुपरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पसल खोलेर के गर्नू, व्यापार पनि छैन, आफू पनि सुरक्षित हुनुपर्यो ।” 

सदरमुकाममा बसोबास गर्ने मानिसहरु बजार आसपासका किसानले डोकामा बोकेर ल्याएको तरकारी प्रयोग गर्छन् । बन्दाबन्दीले गर्दा जिल्ला सदरमुकाममा जिल्ला बाहिरबाट बेमौसमी तरकारी र  फलफूल आउनेक्रम रोकिएपछि अहिले लिवाङ बजारका तरकारी पसल प्रायः बन्द छन् ।  बन्दाबन्दीअघि तरकारी व्यापारीहरु खरीद गर्नका लागि कृषककै बारीमा आउने गरेको नगरपलिका वडा नं २ का कृषक गौरी केसी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले थोक तथा फुटकरमै बारीमै बिक्री हुन्थ्यो, अहिले घरघरमा डुलाउँदा पनि बिक्री हुँदैन, मैले त अब बजारमा लैजान पनि छाडेँ ।”

द्वन्द्वका बेला गाउँमा बस्ने वातावरण नभएपछि सदरमुकाममा आएर बजार नजीकैका बाँझो जमीन भाडामा लिई तरकारी खेती गर्नेको सङ्ख्या रोल्पामा धेरै छ ।  रसोलाबाङ, थलिबाङ, काभ्रेखर्क, धनमुडा, कालिबाटी, मूलपानी, देउराली, मेवाङ र माडीचौरलगायत स्थानमा किसानले मुख्य बालीका रुपमा तरकारी खेती गर्दै आएका छन् । बजार आसपासका कृषकले उत्पादन गरेको तरकारीले नै सदरमुकाम लिबाङमा माग धानेको छ । 

बन्दाबन्दीका कारण आफूले उत्पादन गरेको तरकारीले बजार नपाउँदा जीविकोपार्जनमा समस्या थपिएको किसानको गुनासो छ । किसानको खेतबारीमा अहिले  प्याज, टमाटर, सिमी, लसुन, बन्दा, काउली, साग, आलुलगायत तरकारी उत्पादन हुने गरेका छन् । बारीमा उत्पादित तरकारीले बजार नपाउँदा किसानहरु घरपालुवा जनावरलाई खुवाउन बाध्य छन् ।  सदरमुकाम लिवाङ बजारबासी भने ताजा फलफूल र तरकारी नपाउँदा दिक्क बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता