२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८०० भाडा

२२ असार २०७७, सोमबार ०७:३३

रामचन्द्र न्यौपाने। असार २२, डोल्पा। डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ । लकडाउनको मौका छोपी जीप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् ।

कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक सङ्कट भएको अवस्थामा दुनै–सुपानी, सुपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ । सिंहदरबार गाउँगाउँमा भने पनि धेरैजसो कामका लागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारण बताउँछन् ।

“दुनै आउन जान गरेर भाडा मात्रै रु एक हजार ६०० तिर्नुपर्ने बाध्यता छ, अरु खाना खाजासहित जोडेर रु तीन हजार खर्च हुन्छ”, त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले गुनासो गर्नुभयो । तराईका जिल्लामा १५० किलोमिटरसम्म यात्रा गर्न मिल्ने पैसा डोल्पामा आजभोलि १४ किमीमा तिर्नुपर्ने बाध्यता रहेको सार्कीले बताउनुभयो ।

यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दूरी कायम गर्दै तीनजनासम्म नागरिक बोक्न पाउने व्यवस्था गरेको छ तर यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लङ्घन गर्दै छ जनासम्म यात्रु ओसार्दै आएका छन् । सामान्य अवस्थामा जस्तै छ जनासम्म यात्रु बोके पनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रतिव्यक्ति रु ८०० लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गर्नुभयो ।

लकडाउन हुनुभन्दा अगाडिसम्म छ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति रु ३५० कायम गरिए पनि आजभोलि आफूखुशी भाडा उठाउने गरेको उहाँले बताउनुभयो । “डोल्पाका जीप व्यवसायीलाई नियम कानून केही नलाग्ने रहेछ, ट्राफिकले नियमन गर्न खोज्दा पनि उल्टै जाइलाग्ने गरेको देखेँ”, उहाँले भन्नुभयो । मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उहाँको भनाइ छ ।

ट्राफिक हैरान

डोल्पाका जीप चालकको गलत व्यवहारले सबै हैरान भएका छन् । उनीहरुले नियम विपरीत आफूखुशी जीप सञ्चालन गर्ने र कारवाही गर्न खोज्दा उल्टै जाइलाग्न थालेपछि ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मेहम्मे भएको हो ।

“डोल्पामा काम गर्न धेरै गाह्रो छ, नियमानुसार डोल्पामा गाडी चलाउनै मिल्दैन, फेरि यहाँ रातो प्लेटले पनि धमाधम मान्छे ओसारी रहेका छन्”, ड्युटीमा खटिएका एक ट्राफिकले गुनासो गर्नुभयो, “व्यावहारिकरूपमा गाडी चल्न दिइएको छ, तर पनि सुरक्षित भएर सरोकारवालाले कायम गरेको भाडा उठाउनु भनेर सम्झाउँदा पनि उल्टै चालक जाइलाग्ने गर्दछन् ।” गलत गर्ने चालक र गाडीलाई कारवाही गर्न खोज्दा जनप्रतिनिधिलाई फोन गर्न लगाएर दबाब दिने गरेकोे उहाँको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले महँगो गाडी भाडा लिएको विषयमा छलफल गर्ने बताउनुभयो ।

कर्मचारीले गर्दा भाडा महँगियो

डोल्पामा कर्मचारीका कारण गाडी भाडादर महँगिदै गएको सर्वसाधारणले बताएका छन् । कर्मचारीले रिजर्भ गर्दा गाडीवालाले भनेअनुसारको मूल्य पाउने भएकाले सर्वसाधारण मर्कामा परेको बताइएको छ । सर्वसाधारणले निश्चित भाडामात्रै तिर्न तयार हुने भएकाले गाडीवाला सर्वसाधारणभन्दा कर्मचारी बोक्न तयार हुने नागरिकको गुनासो छ । एउटै कर्मचारीले रु चारदेखि–पाँच हजारसम्म तिरेर रिर्जभ गर्दै आएको यस सडकखण्डमा सञ्चालित जीप व्यवसायी बताउँछन् ।

प्रशासन र स्थानीय सरकार मौन

सर्वसाधारण महँगो भाडाको चरम मारमा परिरहँदासमेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले कुनै चासो देखाएका छैनन् । नियमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय डोल्पाले चासो नदिएपछि यातायात व्यवसायीले पनि मनपरी जीप भाडा असुल्न थालेका हुन् । चर्को भाडादरको मारमा सर्वसाधारण पर्दासमेत सडकले जोडिएका त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र स्थानीय प्रशासनले भाडादर नियन्त्रणका लागि भरपर्दो कदम नचालेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो । भाडादरका विषयमा पटकपटक निर्णय गर्ने गरे पनि लामो समय कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह