2026-10-03 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

पेशाबाट पलायन हुँदै इलामका पत्रकार

टीका खतिवडा । पुस ६, मङ्गलबारे ।  नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ । करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग आबद्ध भएर उहाँले जिल्लामा रही पत्रकारिता गर्नुभयो । उहाँले जिल्लामा नै पहिलो दैनिक पत्रिकासमेत सञ्चालन गर्नुभयो । तर पत्रकारितामा भविष्य नदेखेर उहाँले यो पेशा छोडेको बताउनुहुन्छ । 

उहाँसहित उहाँकी श्रीमतीले पनि पत्रकारिता पेशा छोड्नुभएको हो । उहाँकी श्रीमती कमला भट्टराई पनि काठमाडौँबाट प्रकाशन हुने नेपाल समाचारपत्रसँगै जिल्लाकै पहिलो दैनिक पत्रिका सन्दकपुरमा कार्यरत हुनुहुन्थ्यो । तर उहाँहरु दुवै जना हाल फरक काम गर्न थाल्नुभएको छ । कमला हाल सूर्योदय नगरपालिकामा काम गर्न थाल्नुभएको छ ।  

विसं २०६५ बाट प्रकाशति जिल्लाकै पहिलो दैनिक पत्रिका बन्द गरेर उहाँहरु फरक पेशामा लाग्नुभएको छ । पत्रकारिता धेरै व्यस्त हुने पेशा हो तर उहाँहरुको दैनिकी त्योभन्दा कम व्यस्त छैन अहिले । “पहिलेभन्दा धेरै ब्यस्त भइएको छ”, रोहितचन्द्र भट्टराईले भन्नुभयो । मालपोत कार्यालय इलाममा सेवाग्राहीका लागि उहाँ खट्नुहुन्छ । उहाँलाई पत्रकारिता पेशाप्रति भने सम्मान छ । गाउँगाउँमा गएर रिपोर्टिङ गर्दा आनन्द हुने भए पनि पैसा बचाउन नसक्दा भने घर चलाउन नै समस्या हुने गरेको कमला भट्टराईले बताउनुभयो ।

पत्रकार महासङ्घकै पूर्वअध्यक्ष उमेश गुरुङ पनि हाल समाजसेवा र यससँगै राजनीतिमा लाग्नुभएको छ । उहाँ रेडियो नेपालमा आबद्ध भएर लामो समय काम गर्नुभएको थियो । जिल्लाको इलाम एफएममा समेत कुशल प्रस्तोताका रुपमा ख्याती कमाउनुभएका उहाँले हाल सञ्चारमाध्यमको जागिरलाई चटक्कै माया मारेर गाउँमा समाजसेवा तथा राजनीतिकर्मीका रुपमा आफूलाई व्यस्त राख्नुभएको छ । धिरेन चेम्जोङ पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँसमेत जिल्लाका विभिन्न साप्ताहिकसँगै चियाबारी दैनिकको प्रधान सम्पादक समेत रहेर काम गर्नुभयो । 

उहाँ पनि हाल राजनीतिमा नै क्रियाशील हुनुहुन्छ । इलामकै अर्का पत्रकार विमल वैद्य नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य हुनुभयो । तर उहाँ पनि हाल पत्रकारितामा सक्रिय हुनुहुन्न । जिल्लाको शुभप्रभात साप्ताहिकदेखि विभिन्न पत्रिकामा काम गरे पनि उहाँ हाल सदरमुकाममा व्यवसाय सञ्चालन गरिरहनुभएको छ । साहित्य लेखनमा सक्रिय उहाँको अहिलेको पेशा भने पत्रकारिता होइन । 

नेपाल टेलिभिजनका पूर्वजिल्ला समाचारदाता प्रभाकर प्रधान हाल व्यवसायमा क्रियाशील हुनुहुन्छ । उहाँ जस्तै नुतन रञ्जितकार, मोहनमान श्रेष्ठ पनि हाल पत्रकारिताभन्दा पनि व्यवसायमा नै आफ्नो सबै समय खर्चिनुहुन्छ । महासङ्घका सदस्य भएर पनि मदन कुमार खड्का र उत्तम पौडेल जिल्लामा अधिवक्तारुपमा नै आफ्नो पेशा स्थापित गरिसक्नुभएको छ । होम ढकाल सीमावर्ती क्षेत्रका कार्यरत संस्था माइती नेपालमा आबद्ध हुनुहुन्छ । 

ठाकुर नारायण श्रेष्ठ र जयकुमार राई जनप्रतिनिधिकैरुपमा रहनुभएको छ । श्रेष्ठ इलाम नगरपालिका– ५ का वडाध्यक्ष हुनुहुन्छ भने राई सूर्योदय नगरपालिकाको एक वडाको वडा सदस्य हुनुहुन्छ । केशव द्यौराली, भीम सङ्गम कार्की, प्रकाश अधिकारी, बेदमाया मुखिया, गोविन्द लामिछाने, युवराज पिसी, विचारसिंह लावती, विमल दाहाल हाल एनजिओमा आबद्ध भई काम गरिरहनुभएको छ । माधव गुरुङ, बेनुप भट्टराई र इन्दिरा घिमिरे हाल विदेशमा हुनुहुन्छ । लक्ष्मी मिश्र हाल सूर्या लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक रहेर काम गरिरहनुभएको छ । गोविन्द मिश्र सवारी व्यवसायीका रुपमा जिल्लामा सेवा दिइरहनुभएको छ । पत्रकारिता क्षेत्रमा निकै लामो समय काम गरिसकेर पनि उहाँहरुले पेशा परिवर्तन गरिरहनुभएको छ । 

गोरखापत्र दैनिकमा रहेर जिल्लाबाट क्रियाशील बुद्धवीर राई दक्षिण कोरियामा हुनुहुन्छ । दुसवी भट्टराई समेत विदेशमा नै कार्यरत हुनुहुन्छ । सञ्चारमाध्यमले समयमा पारिश्रमिक नदिने, दिए पनि कम दिने भएकाले पेशा परिवर्तन गर्नुपरेको उहाँहरु बताउनुहुन्छ । 

पत्रकारितामा रहँदारहँदै मेहनत गरेर केही पत्रकार निजामती सेवातर्फसमेत लाग्नुभएको छ । महासङ्घ इलामका पूर्वसचिव अशोककुमार बान्तवा, अमृत सुब्बा, देवेन्द्र चापागाईं, दिलकुमार लिम्बू, कोपिला बस्नेतले राष्ट्र सेवकका रुपमा सेवा दिइरनुभएको छ । हेमराज ढकाल इलाम नगरपालिकामा कार्यरत हुनुहुन्छ । पत्रकार महिला पनि विवाहपछि पेशाबाटै पलायन हुनुभएको छ । उर्मिला सुवेदी, तीर्थकुमारी तिम्सिना, मेनुका भट्टराई, कमला थापा, कृष्णकला खतिवडा, मिना खतिवडा, रेश्मा अधिकारी, सावित्रा गुरगाइँ सञ्चारमाध्यममा त्यति सक्रिय हुनुहुन्न । डिल्ली चापागाईं, कमल श्रेष्ठ, कुबेर निरौला, हरिप्रसाद लुइँटेल, जीवन शर्मा, खगराज घिमिरे, कुमार गुरुङ, कौशिला राई, योगेन्द्र शङ्कर, सन्तोष नेम्वाङ, प्रेमप्रसाद भण्डारी, बलराम बराइली, मिलन आचार्य, विष्णुप्रसाद गड्तौला, दुर्गा भवानी पोख्रेल, बुद्धमाया सोङ्मीसमेत पत्रकारिताभन्दा फरक पेशामा रमाउनुभएको छ । गोपाल दाहाल हाल युनियन लाइफ इन्स्योरेन्स इलामका शाखा प्रबन्धकका रुपमा कार्यरत हुनुहुन्छ । सरोज खतिवडा, सरोज कट्वाल, सुवास भट्टराई, सुवास गुरगाइँ, योगराज सापकोटा, सुप्रिया श्रेष्ठलगायत सञ्चारकर्मी पनि अन्य पेशा, व्यवसाय र रोजगारीमा रमाइरहनुभएको छ । 

उहाँहरु मात्र होइन पछिल्लो समय पत्रकार महासङ्घको सदस्यता लिएका पनि अन्य क्षेत्रमा नै बढी क्रियाशील हुनुहुन्छ । विभिन्न पेशागत तथा व्यावसायिक सङ्घसंस्थामा क्रियाशील भए पनि सञ्चारमाध्यममा कम समय दिने पत्रकारको सङ्ख्या बढ्दो छ । 

पहिला सञ्चारमाध्यमले जति तालीम, गोष्ठी आदि गरी नयाँ पत्रकार उत्पादन गर्ने गर्दथे । अहिले यस्तो परम्परा घट्दै गएको छ । युवायुवतीमा सञ्चारमाध्यमप्रतिको रुचि कम हुँदै गएका कारण पनि तालीम हुन छोडेको बताइन्छ । पहिला पत्रकारिता तालीमको आयोजना हँुदा सयौँको सङ्ख्यामा प्रशिक्षार्थी सहभागी हुने गरेकामा हाल त्यति आकर्षण नरहेको पत्रकार महासङ्घ प्रदेश नं १ का उपाध्यक्ष तथा रेडियो नेपालबाणी एफएम इलामका स्टेशन म्यानेजर सोम सुशेलीको भनाइ छ । उहाँ हाल सञ्चारमाध्यममा काम गर्नेको कमी हुँदै गएको बताउनुहुन्छ । 

जिल्लामा हाल छ वटा रेडियो सञ्चालित छन् । दुई वटा दैनिक पत्रिका र एउटा साप्ताहिक पत्रिका छ । केही अनलाइन हाल क्रियाशील छन् । पछिल्लो समय अनलाइन पत्रकारितातर्फ धरैको चासो बढेको नयाँ बुलन्द डटकम इलामका सम्पादक राल लिम्बू बताउनुहुन्छ । पछिल्लो समय अनलाइन सञ्चारमाध्यमको विकास हुँदै गएको छ । अहिले पत्रकारिता गर्न चाहने कतिपय युवायुवतीहरु अनलाइनमा आउन चाहन्छन् तर रेडियो र पत्रिकामा उनीहरुको रुचि छैन ।  

राम्रो कमाइ नभएकाले नै पत्रकारितामा आकर्षण घटेको हो । 

जिल्लामा हाल करिब २० जनाको हाराहारीमा मात्र क्रियाशील पत्रकार रहेको बताइएको छ । तर पत्रकार महासङ्घमा यस वर्ष ४७ जना सदस्य थपिएको महासङ्घ इलामका उपाध्यक्ष सुजन तिम्सिनाको भनाइ छ । उहाँका अनुसार त्यसअघि महासङ्घमा १३८ जना आबद्ध भएका थिए । हाल महासङ्घमा १८५ जना आबद्ध भएको बताइएको छ । 

नेपालका सबै सञ्चारमाध्यमले सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन नसक्नु पत्रकार पलायन हुनुको मुख्य कारण रेहेको बताइने गरेको छ । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरेर यसको अनुगमन गर्ने बताए पनि यो नियम कार्यान्वयन हुन नसक्दा यस्तो समस्या रहने गरेको धेरै पत्रकारको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने