साउन २५, सिन्धुली । छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो ।

त्यतिमात्र होइन पहाडीलाई साँझ बिहान टुकीकै उज्यालोमा धुवाँमा खान पकाउनेलगायतका घरधन्दा गर्नुपर्ने बाध्यता थियो । उहाँको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको थियो । तर, गाउँमा स्थानीयवासीकै पहलमा ग्रामीण लघु जलविद्युत् सञ्चालन आएपछि हिजोआज पहाडीको जीवनस्तर फेरिएको छ ।

घरमा बिजुली बत्ती जडान गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा आधुनिक प्रविधिको विद्युतीय मिल सञ्चालन तथा सुधारिएको चुलो निर्माण गरेपछि उहाँलाई सहज भएको हो । “गाउँमा बत्ती बलेपछि आधारातमै उठेर जाँतो पिस्नु पर्दैन,” उहाँले भन्नुभयो । सुधारिएको चुलो बनाएपछि धुवाँमा बसेर घरभित्रको काम गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।

गाउँमा सुधारिएको नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले समयको बचतसँगै आम्दानी समेत हुन थालेको छ । पिसानी मिलबाट मकै कोदो पिस्दा आम्दानी हुन थालेको पहाडीको भनाइ छ । धुवाँमा बस्नुपर्ने बाध्यताको अन्त्य हुँदा खोकी लाग्ने, दम बढ्ने, आँखा दुख्ने जस्ता समस्या कम हुँदैे गएको छ ।

पहाडीको मात्र हैन पछिल्लो समय जिल्लामा नवीकरणीय ऊर्जाको प्रयोगले महिलाको जीवनमा परिवर्तन आउन थालेको छ । जिल्लामा सञ्चालनमा आएका लघु जलविद्युत्, सुधारिएको चुलो, साना जलविद्युत्, सुधारिएको पानी घट्ट, साना घरेलु सौर्य ऊर्जा प्रणाली, घरेलु बायोग्यास प्लान्टलगायतका नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले महिलाको जीविकामा परिवर्तन आउनुका साथै समयको बचत हुनथालेको छ ।

जिल्लामा पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएसँगै महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार आउनुका साथै समयको बचत र आम्दानीको स्रोत समेत बन्न थालेको छ । जिल्लाको कुल ५७ हजार ७०० घरधुरीमध्ये २५ हजार ९२९ घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको जिविसअन्तर्गत ऊर्जा तथा वातावरण शाखाका प्रमुख सन्दिप उपाध्याय बताउनुहुन्छ ।

वैकल्पिक नवीकरणीय ऊर्जा प्रविधिले परम्परागत चुलोमा खाना पकाउन दैनिक दाउरा सङ्कलन गर्नुपर्ने, ढिकी जाँतो चलाउनुपर्ने, दियालो खोटो, तथा मट्टीतेलबाट बत्ती बाल्नुपर्ने, धुवाँमा गुम्सेर घरधन्दा गर्नुपर्ने बाध्यता हटेको छ । जिल्लाका अमले, भुवनेश्वरी र वितिजोर घरभित्रको घुवाँमुक्त गाविस घोषणा भइसकेका छन् ।

जिल्लामा लघु जलविद्युतबाट तीन हजार २३३ घरधुरी, सुधारिएको पानी घट्टाबाट १८ हजार १५६, साना घरेलु सौर्य ऊर्जा प्रणालीबाट १३९, सामुदायिक सौर्य विद्युत् पम्पबाट २२१, घरेलु बायोग्यास प्लान्टबाट आठ हजार ३९६ र सुधारिएको चुलोबाट १३ हजार ५७२ घरधुरीका महिलाको जनजीविकामा सुधार ल्याएको जिविसले जनाएको छ । रासस