पढ्न करिब 2 मिनेट लाग्छ

वैशाख २५, झापा (रासस)। झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् ।

यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताउनुभयो । नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जलि हस्पिटल सञ्चालित छन् ।

घरघरै अक्सिजन पुरयाउँदै मेचीनगर

यसैबीच, मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।

वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताउनुभयो ।

“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भन्नुभयो, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं ।” नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।