२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

४ जेष्ठ २०७८, मंगलवार ०४:५३

जेठ ४, पाँचथर (रासस) । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो । आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो ।

आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । “घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउनुपर्ने आवश्यकता छ”, स्थानीयवासी दिलकुमार खुदाङले भन्नुभयो, “धेरै जना हुँदा भौतिक दूरी कायम गरेर बस्न र राख्नसमेत गाह्रो परिरहेको छ ।” मास्क र स्यानिटाइजरसमेतको अभाव भएको र तत्कालै सबैको परीक्षण प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ छ ।

“गाउँभरिमा १५० भन्दा बढी बिरामी छन् । सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएका छन्”, खुदाङले भन्नुभयो, “निषेधाज्ञाले गर्दा हामीले स्थानीयस्तरबाट मास्क, स्यानिटाइजरको प्रबन्ध गर्न, गम्भीर समस्या भएकालाई अस्पताल पठाउने कामसमेत गर्न सकेका छैनौँ ।” कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी गाउँभरि हुँदासमेत सरकारी निकायले पर्याप्त चासो नदिएको उहाँको गुनासो छ ।

सोमबार सोही विवाहमा सहभागी भएका हिलिहाङ–३ डाँढे टोलका सात जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोभिड–१९ पुष्टि भयो । हिलिहाङ–३ का स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका कर्मचारी शम्भुराज पालुङ्वाले भन्नुभयो, “परीक्षण गराएकाहरुमा सङ्क्रमण पुष्टि भयो । घरैपिच्छे बिरामी भए पनि अधिकांशले घरेलु औषधि र सिटामोल, निम्स, साइनेक्सजस्ता स्थानीयस्तरमा उपलब्ध औषधि सेवन गरिरहेका छन् ।” हालसम्म कसैलाई पनि गम्भीर समस्या नदेखिएको पालुङ्वाको भनाइ छ । उनीहरु पनि हिलिहाङ–५ को विवाहमा सहभागी भएका कारण त्यहीँबाट सङ्क्रमण भएको स्थानीयवासीको अनुमान छ ।

हिलिहाङ–५ सुभाङमा मात्रै हालसम्म २० जनामा कोरोना सङ्क्रमण देखिएको छ भने गाउँभरि ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी भेटिएका छन् । “हाम्रो वडाको मालबाँसे, भालुखोपलगायत टोलका ५५ भन्दा बढी घरमा बिरामी छन् । तर कसैलाई पनि गम्भीर समस्या भने छैन”, स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका प्राविधिक ओमप्रकाश पौडेलले भन्नुभयो, “अरु बेलाको जस्तो मौसमी स्वास्थ्य समस्या ठानेर अहिलेसम्म सबैले पचाइरहेका छन् । तर परीक्षण गरिएकाहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।” हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरे परीक्षण गरिएका अधिकांश स्थानीयवासीमा कोरोनाको सङ्क्रमण देखिएको बताउनुहुन्छ । सोमबार नै हिलिहाङकै वडा नं १ मा पाँचमा सङ्क्रमण देखिएसँगै उक्त गाउँपालिकामा मात्रै सङ्क्रमतिको सङ्ख्या ३९ पुगेको घिमिरेको भनाइ छ ।

गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बिरामीको सङ्ख्या बढ्दै गएको भन्दै जटिल बिरामीलाई तत्कालै उद्धार गर्ने प्रबन्ध मिलाइएको बताउनुभयो । गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा अक्सिजनसहितका १० शय्या तयार पारेको छ । कन्ट्याक्ट टे«ेसिङमा परेका तथा लक्षण देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रमै एन्टिजेन परीक्षण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष लिङदेनले बताउनुभयो । “तर गाउँबस्तीमा सङ्क्रमित थपिँदै जाँदा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले विवाह, व्रतबन्धलगायतका भीडभाड हुने कार्यका कारण जिल्लाका गाउँबस्तीमा कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभयो । प्रजिअ ढकालले भनेजस्तै फिदिम नगरपालिका–११ नांगीन, याङवरक गाउँपालिका–१ च्याङथापू, फालेलुङ गाउँपालिका–२ एकतीनमा विभिन्न धार्मिक कार्यक्रमका कारण सङ्क्रमण बस्तीसम्म फैलिएको पाइएको छ । यी स्थानमा ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या उल्लेख्य रहे पनि धेरैको परीक्षण नै हुनसकेको छैन ।

निषेधाज्ञा दुई साता थपियो

पाँचथरमा थप दुई साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । नयाँ भेरिएन्टको कोरोना सङ्क्रमण जिल्लामा निकै तीव्ररूपमा फैलिँदै गएको भन्दै सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार तथा मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी ढकालले मध्यरात १२ बजेदेखि यही जेठ १७ गते मध्यरातसम्मका लागि निषेधाज्ञाको आदेश जारी गर्नुभएको हो । गत वैशाख २७ गते जारी भएको निषेधाज्ञाको समय गएराति सकिएको थियो ।

निषेधाज्ञाअनुसार सर्वसाधारणले अत्यावाश्यक काम तथा औषधि उपचारको प्रबन्धका लागि मात्रै घरबाहिर निस्कन पाउनेछन् । यस अवधिमा अन्य कुनै पनि भीडभाड हुने गतिविधि गर्न रोक लगाइएको छ । सरकारी कार्यालयलाई अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा स्थगन गर्न निर्देशन दिइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले सातामा तीन दिन मात्रै सेवा दिन पाउने भएका छन् । सहकारी तथा वित्तीय संस्थाले घरघरमा गई रकम सङ्लन गर्ने कार्यसमेत बन्द हुने भएको छ । 

व्यापार व्यवसायतर्फ फलफूल, दूध तथा दुग्धजन्य पदार्थ र सागसब्जी बिक्री गर्ने पसल सबै दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछन् । खाद्यान्न, एलपी ग्यास, निर्माण सामग्रीलगायत बिक्री गर्ने पसल आइतबार, मङ्गलबार र शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्न पाउने भएका छन् । जिल्लामा हालसम्म १४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु