पढ्न करिब 5 मिनेट लाग्छ

सञ्चिता घिमिरे । असार २७, मेलम्ची (रासस)। मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्र दुलालको दिनचर्या अहिले बदलिएको छ । गत जेठ मसान्तसम्म उहाँलाई प्रशासनिक कामसँगै वडामा निर्माणाधीन संरचनाको निरीक्षण गर्न भ्याइ नभ्याइ हुन्थ्यो ।

उहाँ हिजोआज यही असार १ गते मेलम्ची नदीमा लेदोसहितको बाढीले भत्काएका संरचना अवलोकन तथा क्षतिको विवरण सङ्कलन गर्न व्यस्त हुनुहुन्छ । तत्कालका लागि वडावासीलाई बस्ने र खाने व्यवस्था मिलाउन, मेलम्ची बजारलाई पूर्ववत् अवस्थामा पुर्याउन तथा नदी व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ उहाँलाई ।

बजार क्षेत्रमा व्यक्तिगत घर, होटल, रेष्टुरेन्टसहित नगरपालिकाको भौतिक संरचना निर्माणाधीन थिए । अकल्पनीय बाढीले बनिसकेको र बन्दै गरेका संरचना क्षणभरमा भत्किए । केही बजार क्षेत्र बगरमा परिणत भएको छ । बाढीले सरकारी सम्पत्तिमा धेरै क्षति पुर्याएको छ । चन्द्रशम्शेरले निर्माण गरेको ऐतिहासिक पुलसहित अन्य पुल पनि भत्किएको छ ।

वडाध्यक्ष दुलाल बाढी आउने साँझ वडा कार्यालयको काम सकेर बजारमै रहेका बेला उहाँलाई इन्द्रावती गाउँपालिकाबाट बाढी आउँदैछ भन्ने सूचना आयो । उहाँले तत्काल प्रहरीको सहयोगमा बजारबासीलाई सजग हुन माइकिङमार्फत आग्रह गर्नुभयो । कतिपयले पत्याए पनि धेरैजसोले सूचनालाई बास्ता गरेनन् । उहाँले भन्नुभयो, “ वडामा भौतिक क्षति हुँदाहुँदै पनि मानवीय क्षति भने तुलनात्मक रुपमा कम गर्न सकियो । ”

उहाँलाई असार १ बिर्सन नसकिने दिन सावित भएको छ । सो दिन साँझ कतिपय व्यक्ति पाकेको खाना नै छाडेर भागे भने कतिले घरको सामानको समेत वास्ता नगरी रित्तै हात परिवार लिएर सुरक्षित गन्तव्यतिर लागे । कतिपय व्यक्तिले केही सामान झिक्न पाए पनि हुने भन्ने आशा गरेको उहाँले बताउनुभयो । रातभरी सबै स्थानीयवासी विद्यालयमा बसे । उहाँ झण्डै १ बजेसम्म विद्यालयमा रहेर त्यसपछि घर फर्कनुभयो । आफ्नो व्यक्तिगत सम्पत्तिमा नोक्सान नभए पनि वडाका अभिभावक भएकाले सबै क्षति आफ्नो भएको उहाँलाई लागेको छ । उहाँको घरभन्दा दुईचार घर यतासम्म पनि बाढी पसेको रहेछ । उहाँले भन्नुभयो, “बिहान हेर्दासम्म हामीले कल्पना पनि गर्न नसक्ने गरी पूरै बजार डुबिसकेको थियो ।”

सो वडामा अहिले एक तलासम्म बाढीले पुरेका १४० घर पूर्ण क्षतिग्रस्त छन् भने ४२ घर उच्च जोखिममा छन् । असार १ गते बजारका धेरै मान्छे त्यस क्षेत्रको सुरक्षित स्थान मानिने इन्द्रेश्वरी माध्यामिक विद्यालय र सेनाको ब्यारेकमा आश्रय लिएकामा विस्तारै कोही भाडामा र कोही सार्वजनिक भवनमा सर्न थालेको वडाध्यक्ष दुलालले बताउनुभयो । कतिपय व्यक्तिको घरको माथिल्लो तलामा रहेका सामान झिक्ने काम भइरहेको छ । नगरपालिकाले यहाँका झण्डै दुई सय घरलाई दुई महिनाको भाडा तिर्न सहयोग गर्ने भएको छ ।

स्थानीयवासीले अस्थायीभन्दा स्थायी घर नै बनाउन चाहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वर्षामा जसोतसो निर्वाह गरेर हिउँदपछि पुनःवासका बारेमा सोच्नुपर्छ ।”मेलम्ची नगर प्रमुख डम्बरबहादुर अर्यालले नगरपालिकाले तत्काल बाढी प्रभावित नगरवासीका लागि राहत र व्यवस्थापनका काम गरिरहे पनि दीर्घकालीन रुपमा सङ्घीय र प्रदेश सरकारका सहयोगमा मात्रै व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

बाढी आएको दिन माइकिङ गरेर पूर्वसूचना गरी धेरैलाई घर बाहिर ल्याएर सुरक्षित स्थानमा सारिएको र चार जना व्यक्ति घरभित्रै रहेकामा हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । नगरपालिकाले त्यतिबेला विद्यालय र सैनिक ब्यारेकमा नै बस्ने र खाने प्रबन्ध गरेको थियो । उहाँले भन्नुभयो, “विस्तारै स्थानीयवासी अरुका घरमा बहालमा बस्न थालेका छन् ।”

नगरपालिकाले पूर्ण क्षतिग्रस्त घरको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लाभग्राही कायम गराउन फाराम पठाएको छ । वातावरण संरक्षणमा काम गर्ने सरकारी र गैरसरकारी संस्थासँग छलफल गरिएको नगर प्रमुख अर्यालले जानकारीदिनुभयो । राहत वितरणमा एकद्वार प्रणाली लागू गरिएको र विपद् व्यवस्थापनमा नगरस्तरीय समितिको गठन गरेर काम भइरहेको उहाँले बताउनुभयो ।

‘मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोष’ मा नगरपालिकाले रु ५० लाख, जनप्रतिनिधिले एक महिना र कर्मचारी र शिक्षकले तीन दिनको तलब जम्मा गरेको जनाइएकोे छ । उहाँले भन्नुभयो, “अरु व्यक्ति र संस्थाबाट पनि सहयोग आइरहेको छ ।”

नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीलाई पहिलेको अवस्थामा फर्काउन १० स्काभेटरको प्रयोग गरिरहेको छ । नदीको कटान रोक्न ढुङ्गाको प्रयोग गरी ग्याबिन बक्स भर्ने काम भइरहेको नगर प्रमुख अर्यालले बताउनुभयो । हेलम्बु र पाँचपोखरी थानपाल गाउँपालिसँगको यातायात चालु गर्न सडक मर्मत र वैकल्पिक सडक खुलाउन ठेक्का सम्झौता गरिएको छ ।

यहाँका झण्डै १८० घरपरिवारलाई पुनःवासका लागि नगरपालिकाले केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक रहेको जनाएको छ । मेलम्ची र इन्द्रावतीमा दुई बेलिब्रिज राख्न आवश्यक छ । झण्डै तीन हजार ५०० रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेकाले इन्द्रावती र मेलम्चीलाई तटबन्ध निर्माण गरी खेतीयोग्य जग्गा संरक्षण गर्नुपर्नेमा उहाँको जोड छ । बस्तीलाई त्यही सुरक्षित गर्ने कि अन्यत्र सार्ने भनी छलफल गरेर निर्णयमा पुग्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “वातावरण र भूगर्भविद्ले मेलम्ची र इन्द्रावती नदी किनाराको बस्ती स्थानान्तरण नै गर्नुपर्ने भनेका छन् तर स्थानीयवासी यहीँ बस्न चाहन्छन् ।”

जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको सधैँ उच्च जोखिममा रहेकाले यसमा संघीय सरकारले ध्यान दिनुपर्छ भन्नुभयो । सरकारले विपद्का समयमा घरबारविहीन भएकालाई पुनःस्थापित गर्न चासो देखाउनुपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, “जुरे पहिरोका पीडितले कानुनी उल्झनका कारणले अझै सहयोग पाइसकेका छैनन् ।”