मंसिर १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका छन् । चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक त जित्यौँ । तर गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन् । प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन् । हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौँ । तपाईंहरु पनि रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला ।’
गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको घटना तर्फ इङ्गित गर्दै त्यति बेला नै प्रतिगमनतिर जाने षडयन्त्र भएको दाबी गरे । ‘सबै राजनीतिक नेतृत्व सडकमा जानुपर्ने परिस्थिति भयो । तपाईंहरुले पनि जनमत निर्माण गर्न मद्दत गर्नुभयो । यसका लागि राजनीतिक नेतृत्वको तर्फबाट म धन्यवाद पनि दिन चाहन्छु ।’