असार ६, काठमाडौं | नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा विशिष्ट व्यक्तिको हवाई उडानमा दुईजना पाइलट राख्नुपर्ने व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चालक समितिको बैठक सकिए लगत्तै प्राधिकरणले विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुईजना पाइलोट रहनुपर्ने निर्णय गरेको हो ।

यसका साथै प्राधिकरणले स्वचालित प्रणालीले तोकेबमोजिम दुईजना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ ।
अहिले नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन् । प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको जनाएको छ ।
हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ ।
त्यस्तै हेलिकप्टरले पनि यही ७ गतेदेखि तोकिएका काठमाडौं बाहिरका विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने भएको छ ।