असार ६, काठमाडौं | असार १ गते नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुको ठाउँमा नयाँ नाम सिफारिस समेत गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हेरफेर गर्न अस्वीकार गरे । त्यसपछि समाजवादीबाट सिफारिसमा परेका मन्त्रीहरुले सपथ लिन पाएनन् ।

यो विषयमा प्रधानमन्त्री देउवा र समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच चर्काचर्की समेत भयो । तर, देउवा तत्काल मन्त्री नफेर्ने अडानबाट पछि हटेनन् । जसले गर्दा समाजवादीको मन्त्री फेर्ने निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकिरहेको छैन् । देउवाको उक्त कदममा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि साथ छ ।
आइतबार सत्ता गठबन्धनका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा पनि यो विषय उठेको थियो । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्न पुनः ताकेता गरे । तर, देउवाले मानेनन् ।
यो विषयमा देउवा र प्रचण्डले एक अर्कालाई कारण बताइरहेका छन् । अध्यक्ष नेपालका अनुसार प्रधानमन्त्री देउवा माओवादी केन्द्र अध्यक्ष प्रचण्डका कारण मन्त्री हेरफेर गर्न नसकिने बताइरहेका छन् । आफुसँगको भेटमा देउवाले माओवादीका साथीहरुले पनि अब त्यस्ता मागहरु आफ्नो पार्टीभित्रबाट पनि आइरहेको भन्दै केही दिन पर्खिदिनुपर्यो भनेको अध्यक्ष नेपालको भनाई छ ।
अध्यक्ष नेपाललाई देउवा र प्रचण्डले साथ नदिँदा मन्त्री फेरबदलबारे केही निर्णय गर्न सक्ने अवस्थामा छैनन् । संसदीय प्रणालीमा मन्त्री हेरफेर गर्ने निर्णय सम्बन्धित पार्टीलाई हुन्छ । तर, प्रधानमन्त्री देउवाले सहयात्री दलको निर्णयलाई लत्याउँदै आएका छन् ।
नेपालकोसँगको अनौपचारिक छलफलका क्रममा प्रधानमन्त्री देउवाले अहिले नै मन्त्री हेरफेर गर्न खोजियो भने आफ्नो पार्टी नेपाली कांग्रेसभित्र पनि विवाद हुने बताएका थिए ।
एकीकृत समाजवादीले देउवा सरकारमा ५ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । तर, देउवाले अस्वीकार गर्दा अन्तिममा आएर उनीहरुको सपथ कार्यक्रम रोकिएको थियो । समाजवदाीको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सहभागी छन् । पछि कानूनमन्त्री बनेका शर्मा र राज्यमन्त्री खापुङ बाहेक अन्य चारजनालाई फेरेर उनीहरूको स्थानमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने पार्टीले सिफारिस गरेको थियो ।
स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्री बनाउन एकीकृत समाजवादीले सिफारिस गरेको थियो । तर, नयाँ मन्त्रीहरुले दौरा सुरुवालसमेत सिलाइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले गठबन्धनकै साझेदार दलको निर्णय कार्यान्वयनमा अटेरी गरेका हुन् । जसले गर्दा सत्ता गठबन्धनसँग समाजवादी पार्टी असन्तुष्ट देखिएको छ ।