११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

२ माघ २०७९, सोमबार ०७:१२

माघ २, पोखरा | प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ जानुभएको थियो । पदाधिकारीको बैठक सकेर आइतबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । 

प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उड्नुभएको थियो । 

“आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवः माघे सङ्क्रान्तिमा परिवारसँग मनाउने योजनापछि उहाँले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ”, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भन्नुभयो ।


पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन । “आइतबार बिहान काठमाडौँबाट ‘गुड मर्निङ बुढी’ भन्दै म्यासेजको रिप्लाइ आएको रहेछ”, बहिनीलाई सम्हालिरहनुभएकी पौडेलकी दिदीसासू अजिता अधिकारीले भन्नुभयो, “सम्भवतः हतारमा बिहान आउँदैछु भन्ने खबर गर्न नपाएको हुनसक्छ ।”

यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा हुनुहुन्थ्यो भन्ने हेक्का थिएन । दिउँसोको टिकट काट्नुभएको भन्दै उहाँ श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा हुनुहुन्थ्यो । 

सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमान्को नाम देखेपछि भने उहाँको मनको शङ्का बढ्दै गएको थियो । जब पटकपटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शङ्का यथार्थमा बदलिदियो । दुर्घटनापछि श्रीमान् खोज्दै अस्पताल पुग्नुभएकी उहाँ बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न लैजानु परेको थियो । 

आइतबार साँझ ६.३० बजेसम्म उहाँलाई अस्पतालबाट घर फर्काइसकिएको थियो । कोठाका भित्ताभरी टाँगिएका श्रीमान्का तस्बिर हेर्दै उहाँ एकोहोरो रोइरहनुभएको थियो । टेबुलमाथिको पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेका श्रीमान्को तस्बिरलाई हेरेर उहाँ निकैबेर रुनुभयो । 

“कस्तो मान्छे होला, अहिलेसम्म नआउने, बिरामी हुँदा त आउनुपर्छ नी, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको ?” श्रीमान्को तस्बिरसँग उहाँले गुनासो गर्नुभयो । उहाँको ती शब्दले वरिपरि बसिरहेका आफन्त शुभचिन्तकको आँखा रसाइरहेको थियो । 

“ज्वाइँ काठमाडौँमै भएकाले माघको ५÷६ गतेतिर श्रीमतीलाई उतै बोलाउने भन्ने पनि कुरा भएको रहेछ”, पत्रकार पौडेलकी दिदीसासू अधिकारीले भन्नुभयो, “माघ ९ गतेको ‘एनिभर्सरी’ उतै मनाउने योजना उहाँहरुको थियो ।”

आइतबार साँझसम्म घरमा मानिसको भिड लागिसकेको थियो । तल्लो तलामा श्रीमती र माथिल्लो तलामा आमालाई सम्झाउनेलाई सम्हाल्न गाह्रो भइरहेको थियो । “मलाई त काठमाडौँ गएको भन्ने पनि थाहा थिएन, म जाने बेलामा अघि लागेर आफैँ गयो”, रुँदै गरेकी पौडेलकी आमाले भन्नुभयो, “कतै जाँदा सधैँभरी खबर गर्ने छोराले खोइ किन हो तर यसपाली गरेन ।”

सानै उमेरदेखि पत्रकारितामा होमिनुभएका पौडेल सानैदेखि मिहेनती हुनुहुन्थ्यो । पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक)का अनुसार पौडेलले १५÷१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गर्नुभएको थियो । 

“मैले जनप्रियमा ७ कक्षादेखि १० कक्षासम्म पढाएँ, निकै टाठो र मेहनती थियो”, उहाँले भन्नुभयो, “माओवादीप्रति झुकाव राख्ने भएकाले सेना र प्रहरीको निगरानी थियो । मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ । त्यसअघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिएँ ।” 

छोटो समयमा निकै प्रगति गरी आफूलाई स्थापित गर्न सफल पत्रकार पौडेल सबैलाई सहयोग गर्ने स्वभावको भएको उहाँले बताउनुभयो । आफूलाई पनि बेलाबेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, भेट्न आउने गरेको उहाँले स्मरण गर्नुभयो । घटनाले आफूलाई निकै मर्माहत बनाएका साथै पत्रकारिता जगतमै अपूरणीय क्षति भएको उहाँको भनाइ छ । 

उमेरले ३७ वर्ष पुग्नुभएका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसक्नुभएको थियो । 

पौडेल तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गर्नुभएको थियो । विसं २०७५ मा विवाह गर्नुभएका पौडेलकी एक छोरा पनि हुनुहुन्छ । पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहनुभएका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो । 

स्वर्गीय पौडेलको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उहाँको सम्झनामा नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस युनियन, प्रेस चौतारीलगायतका विभिन्न सङ्घसंस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन् । 

पौडेलको पार्थिव शरीरलाई आजै पत्रकार महासङ्घ कास्कीको कार्यालयमा ल्याएर श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेका पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह