फागुन २, सप्तरी | सप्तरीमा ऋण तिर्न नसकेर फेरि एकजनाले आत्महत्या गरेका छन्।
सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्। मृत फेला परेकी भुजेलको शव पोष्टमार्टमपश्चात परिवारको जिम्मा लगाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेश सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
भुजेल इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको महुलीमा २०७७ साल कार्तिक १६ गतेदेखि र स्वावलम्बन लघुवित्त विकास बैंकको शाखा महुलीमा २०७३ साल चैत्र १२ गतेदेखि आवद्ध रहेको कागज फेला परेको छ । दुवै लघुवित्तबाट उनले ऋण लिएकी थिइन् । ऋण नतिरेपछि लघुवित्तका कर्मचारीहरुले उनको घरका सबै समान लागेका थिए । त्यसपछि उनी तनावमा रहेको बुझिएको छ । उनले आफ्नो १० धुर जग्गा पनि साहुको नाममा पास गरेर थप ऋण लिएको स्थानीयले बताएका छन् । साहु र लघुवित्तको ऋण तिर्न नसकेकै कारण उनले आत्महत्या गरेको स्थानीयको दाबी छ ।
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले पनि ऋण तिर्न नसकेकै कारण भुजेलले आत्महत्या गरेको बताइन् । उनले भनिन्, ‘आत्महत्या गरेको जानकारी पाएलगत्तै म घटनास्थल पुगेको थिएँ । त्यहाँका सबैले ऋणमै डुबेपछि उनले आत्महत्याको बाटो रोजेको बताएका छन् ।’
आत्महत्या गरेकी भुजेलका श्रीमान भीमबहादुर केही दिनअगाडि आफ्नो घरमा आएको उपप्रमुख पोखरेलले बताइन् । उनका अनुसार भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको जानकारी दिएका थिए ।