फागुन ८, काठमाडौं | आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो ४:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । यसअघि, सत्तारुढ दलहरुबीच राष्ट्रपति नेकपा (एमाले) र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको थियो ।
राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष औपचारिक आग्रह गरेका थिए । सोही अनुसार आज पदाधिकारी बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।