फागुन ९, काठमाडौं | विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाली ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा १ रनमा नै पेभिलियन फर्किएका छन्। अघिल्लो खेलमा नामिबियाविरुद्ध ५ बलमा १ रन बनाएर आउट भएका भुर्तेल स्कटल्यान्ड विरुद्धको अन्तिम खेलमा पनि राम्रो सुरुवात गर्न असफल भए।
पहिलो खेलमा नामिबियाविरुद्ध ११५ रन बनाएर राम्रो ओपनरको छवि बनाएका भुर्तेल त्यसपछिका खेलमा भने निस्प्रभावी भइरहेका छन्। मंगलबार स्कटल्यान्डविरुद्ध पनि कुशल ४ बलमा १ रन बनाउँदा मार्क वाटद्वारा एलबिडब्लुको सिकार भए।
उनले जारी लिगको पहिलो खेलमा शतकीय इनिङ खेल्दा दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध १६ रन बनाएका थिए भने तेस्रो खेलका रूपमा रहेको नामिबियाविरुद्ध पनि एक रनमा नै आउट भएका थिए। अहिले क्रिजमा आसिफ शेख ७ र ज्ञानेन्द्र मल्ल ४ रनमा अविजित छन्।