फागुन १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शनिबार सामाजिक सञ्जालमार्फत् आफूलाई राजीनामा दिन दबाब बढेको बताएपछि त्यसको चौतर्फी बहस भएको छ । मेयर बालेनका सचिवालयका अनुसार राजीनामाको दबाब दिँदै ज्यान मार्ने धम्की र घर जलाउने धम्की खेप्नु परेको हो ।
सही नियतले काम गर्न थाले पनि गिरोहहरुले चरणवद्ध रुपमा राजीनामा दिन दबाब दिएको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार साथै खुलेआम ज्यान मार्ने धम्की आउँदा पनि राज्यका सुरक्षा संयन्त्र मौन रहेकोप्रति बालेनको असन्तुष्टि छ ।
उनका अनुसार पछिल्लो समय अवैध संरचना भत्काउने कामलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको बेला सुकुम्बासी, व्यापारीलगायतका स्थानीयले भित्रभित्रै बालेनविरुद्धको अभियान चलाइरहेका थिए ।
महानगरका मेयर बालेनले आफूलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दै करिब तीनमहिना पहिले गृह मन्त्रालयसँग सुरक्षा समेत माग गरेको सचिवालयका एक सदस्यले जानकारी दिए । अहिले बालेनको सुरक्षार्थ महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे नेतृत्व खटिरहेको छ ।
बालेन निकट कुमार व्यञ्जनकारका अनुसार अनधिकृत रुपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट राजीनामाको दबाब आइरहेको छ ।
“थुप्रैपटक परिवारका सदस्यहरुलाई समेत ज्यानको धम्की र मानसिक यातना दिइएको छ । उहाँले धेरै अगाडि नै आफूलाई धम्की दिनेहरुविरुद्ध प्रहरीमा किटानी उजुरीसमेत गर्नुभएको थियो,” उनले भने, “तर, सरकार र प्रहरीले कुनै चासो नै दिएको छैन । मार्छु भनेर धम्की दिने नै प्रहरीको अघि–पछि हिँडिरहेका छन् । यसको अर्थ के अब तँ पदमा नबस् भन्न खोजिएको होइन ?”
शनिबार बालेनले सामाजिक सञ्जाल फेसबुकका स्ट्याटस लेख्दै भनेका थिए, “मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।”
यसअघि बालेनले सुकुम्बासी बस्तीमाथि डोजर चलाउने प्रयास गरेका थिए । सो समयमा उनलाई ज्यान मार्ने धम्की दिइएको थियो ।
त्यस्तै अण्डरग्राउन्ड पार्किङमा डोजर चलाउने बेला पनि व्यापारीले चर्को विरोध गरेका थिए । पछिल्लो समय बालेनको कार्यशैलीको विरोध हुँदै आएको छ ।
नेपालको संविधानको धारा २१६ को उपधारा (८) ले नगर कार्यपालिका प्रमुखको पद रिक्त हुने अवस्था उल्लेख गरेको छ ।
पहिलो नगर कार्यपालिका प्रमुखले उपप्रमुख समक्ष राजीनामा बुझाएमा सोको पद रिक्त हुने व्यवस्था रहेको छ । त्यस्तै पदावधि समाप्त भएमा आफैँ सो पद रिक्त हुन्छ ।
तेस्रो मृत्यु भएमा पद खाली हुने व्यवस्था छ । त्यसपछि बालेन फेरि अर्को स्ट्याटस लेखे । “अटल, अजर, अडिग, निडर । कसैले नि सक्दैन । आइ डन्ट गिभ अप ।”
बालेनले केही व्यक्तिहरुको दबाबमा परेर राजीनामा नगर्ने महानगरले जनाएको छ । “मेयरलाई राजीनामा गराउन चर्को दबाब थियो । तर, निडर भएर काम गर्ने गरी गृहकार्य भइरहेको छ,” ती सदस्यले भने ।