2026-09-07 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई

2026-06-13

काठमाडौँ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरी र असफलताका कारण पतनको मार्गमा रहेको दाबी गरेका छन्। उनले अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भइसकेको बताए। शनिबार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’को नियम झैँ नयाँ पद्धतिको विकास र निर्माणका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गरे।

भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले छोटो समयमै सफलता पाएको बताए। यद्यपि, रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको उनको टिप्पणी थियो। देशको बहुसङ्ख्यक जनता अझै पनि गरिबीको रेखामुनि रहेको र ७० देखि ८० प्रतिशत नागरिक गुणस्तरीय शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उनले जोड दिए। नेपालको जातीय, क्षेत्रीय विविधता र आर्थिक पछौटेपनलाई केवल बजारको भरमा मात्र छाड्न नसकिने भन्दै उनले यसका लागि राज्यको सक्रिय भूमिका भएको विकासमुखी बाटो आवश्यक रहेको औँल्याए।

पूर्वप्रधानमन्त्री भट्टराईले पुराना शक्तिहरूको विकल्पमा देशमा कम्तीमा दुईवटा प्रमुख वैकल्पिक शक्तिहरू हुनुपर्ने धारणा राखे। उनका अनुसार एउटा रास्वपा जस्तो ‘राइट अफ सेन्टर’ र अर्को प्रगतिशील विचार बोक्ने ‘लेफ्ट अफ सेन्टर’ (मध्य–वामपन्थी) शक्तिबिच देशमा प्रतिस्पर्धा हुनुपर्छ। यी दुई धारले राष्ट्रियताको साझा मुद्दामा सहकार्य र नीतिगत विषयमा स्वस्थ प्रतिस्पर्धा गर्दा मात्रै देशको वास्तविक हित हुने उनको तर्क छ।

डा. बाबुराम भट्टराईले भने, ‘रास्वपालाई अहिले शङ्काको सुविधा दिनुपर्छ। भर्खरै उदय भएको शक्तिलाई सुरुमै आलोचना गर्नुभन्दा पनि काम गर्ने अवसर दिनुपर्छ। पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्। बहुमत या दुई–तिहाइको सरकारले मात्रै देशमा निकास दिँदैन भन्ने उदाहरण विगतका सरकारहरूले पुष्टि गरिसकेका छन्।’

आफ्नो विगतको राजनीतिक यात्राको समीक्षा गर्दै भट्टराईले आत्मआलोचना समेत गरे। आफ्नो राजनीतिक अभियानका क्रममा ‘नयाँ शक्ति’ को ब्रान्ड स्थापित भइसकेपछि आफूहरूले पटक–पटक पार्टीको नाम परिवर्तन गर्दा जनतामा अन्योल उत्पन्न भएको र त्यो आफ्नो पक्षको ठुलो कमजोरी रहेको उनले स्वीकार गरे। पुराना दलहरूको विकल्प खोजिरहेका नागरिकका लागि अब नयाँ र स्पष्ट वैचारिक धार भएका शक्तिहरू नै देशको भविष्य भएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो