विद्यार्थीलाई एसइइको हाउगुजी

Posted on: 23 Feb, 2022

— सुष्मा सुब्बा लामा 

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसइइको हाउगुजी देखाउने त ? यो प्रश्न गम्भीर रुपमा तेर्सिएको छ । पहिलेदेखि नै एसइइ अर्थात् साविकको एसएलसी खारेज गरौँ भन्दै सरकारी निकायका पदाधिकारीहरु कराउँदै आए । होमा हो गर्दै निजी विद्यालयअन्तर्गतका प्याब्सन, एन प्याब्सनहरु पनि निकै तातेकै हुन् । तथापि अहिले यस्तो अवस्थामा भौतिकरुपमा विद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी सबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ । एसइइमा अहिले जम्माजम्मी आठवटा विषयहरु हुन्छन् । कक्षा आठमा पढ्दै आएका विद्यार्थीहरु करीब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा पर्दछन् । किनकि उनीहरु नै त्यस्ता विद्यार्थी हुन् जसले लामो समय अनलाईनबाटै कक्षा लिए, भौतिकरुपमा लामो समय घरमै बस्नुपर्ने बाध्यता भयो । यसअघि र त्योभन्दा पनि पहिलो वर्ष सरकारले मेरिटका आधारमा जाँच लियो, नतिजा पनि सोहीप्रकारले सार्वजनिक गर्यो । तर अहिले आएर आजको आजै कक्षा सञ्चालन गर्ने, अनि दुई महिनामै कोर्ष पनि सकिने र परीक्षाका लागि तमाम विद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन । फेरि एसइइको ‘वेटज‘लाई लिएर विगतदेखि नै यो केही समयसम्मका लागि मात्रै हो, अन्ततोगत्वा कक्षा १२ नै विद्यालयस्तरका पढाइका लागि मुख्य ढोका हो पनि भनिँदै आएको अवस्था छ । विगतको एसएलसी र अहिलेको एसइइमा के समस्या छ भने यदि विद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालय जाँदैन । किनभने फेल पास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाको रुपमा लिएको हुन्छ । यो पालाको एसइइ परीक्षामा सामेल हुने विद्यार्थीहरु लामो समयसम्म कोभिडका विभिन्न प्रकारका वेभहरुबाट प्रभावित भएकाहरु नै छन् । उनीहरुमा कन्फिडेन्ट लेभल पनि कमजोर भएको छ । केही समयअघि पनि सरकारले भौतिकरुपमा कक्षा सञ्चालन नगराउनू भन्दै उर्दी जारी गर्यो, त्योभन्दाअघि पनि तिनै विद्यार्थीहरु लामो समय घरमै बसेर अनलाईन कक्षाबाट आफूलाई जसरीतसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसइइका लागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त ? यहाँनेर मेरो प्रश्न हो ।  

उमेरका हिसावले पनि एसइइ दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरु नाबालक नै हुन् । तिनको अद्र्धचेतन मस्तिष्क पनि बलियो र पूर्णरुपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरणशक्तिका हिसावले पनि यो उमेर समूहका बालबालिकाहरु कमजोर नै हुन्छन् । बल्ल त उनीहरुको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनि भएको हुँदैन । विद्यार्थीलाई विगतदेखि नै एसइइ अर्थात् विगतको एसएलसी ‘आइरन गेट‘ हो भनिँदै आइयो । विद्यार्थी पनि एसइइलाई यसरी तयारी गर्नुपर्छ कि मानौँ जीवनको ठूलो उपलब्धी नै त्यही हो भन्नेमा विश्वस्त छ । स्कुलहरु पनि दिनरात एसइइकै तयारीमा हुन्छन्, सकेसम्म बढी अंक ल्याउने होडबाजीमा परम्परागत स्कुलहरुले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुनप्रकार भौतिकरुपमा उपस्थित गराउँदै एसइइको जाँच गर्ने उद्घोष गरेको छ, त्यसका बारेमा केही सोच्ने हो कि भन्ने मेरो भनाई हो ।  

मान्छेको शारीरिक हिसावले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँत आउने हो । त्यसैगरी अद्र्धचेतन मनको विकास पनि क्रमिकरुपले हुँदै जाने हो । र फेरि अहिले जो जसले एसइइको जाँच दिने तयारी गरिरहेका छन्, तिनलाई त तीन तीन पटकको कोभिड १९ का विभिन्न प्रकारका वेभहरुले यति गलाई सकेको छ कि अब उनीहरु दौडन नसक्ने अवस्थामा पुगिसकेका छन् । विगतमा पनि केही विद्यार्थीहरुलाई ‘कोभिड फोबियॉकै कारण समस्या आएको कुरालाई विभिन्न सञ्चार माध्यमहरुले बाहिर ल्याएका थिए । अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए‘ नै ल्याउँछन् भन्ने पनि छैन । विद्यार्थीहरुमा महामारीको फोबिया यति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिन खोजिरहेको छ, अनि यस्तो बेलामा एसइइको झोला बोकाएर ‘हिँडे हिँड नभए कुट्छु‘ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । मलाई त कस्तो लाग्छ भने कम्तीमा पनि यो वर्षसम्मका विद्यार्थीलाई चाहिँ सरकारले आन्तरिक मूल्यांकनकै आधारमा एसइइ परीक्षाको नतिजा दिलाउनुपर्छ । अहिले एसइईको जाँज दिन लागेका विद्यार्थीहरुलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ‘ह्याङओभर‘मा रहेका विद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्त होइन । सम्बन्धित निकायले बेलैमा यसका बारेमा सोच्नुपर्छ । 

हुन त यसबीचमा धेरै विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरे । तर त्यो कति प्रभावकारी भयो भन्ने त अहिले देखिँदै आएको छ । अनलाईनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ, घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायाम नहुँदा विद्यार्थीहरु भद्दा भएका छन् । शिक्षकले भनेको भन्दा प्रविधिमा देखेका र भेटेका कुरामा अहिलेका विद्यार्थीहरु भरपर्दा अवस्था कस्तो आउँछ, सोचनीय विषय बन्ने गरेको छ । लामो समय अनलाईनकै भरपर्दा कतिपय अभिभावकहरुले आफ्ना नानीहरुलाई रायसल्लाह दिन सके पनि होलनन्, तर धेरैको अवस्था फरक छ । शिक्षकले भौतिक उपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्याहरु आउँथे भने अहिले त पढ अनलाईन, नपढ अनलाईन भनेजस्तो भयो । अनलाईनको भूतले पनि विद्यार्थीलाई निरश बनाएको छ । अहिलेको समस्याले समस्त विद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ । आइसबर्गमा मात्रै माथिकोे टुप्पो हेरिन्छ, तर तल त्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यान गएको हुँदैन । अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फीरुपमा मात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्ष दुई महिनामा सिध्याऊ भन्ने, अनि परीक्षाको लागि आफ्ना विद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनि न्यायसंगत कुरा होइन । अनलाईनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमित बनाइदिएको छ । सामाजिकरुपमा पनि हाम्रा विद्यार्थीहरु कमजोर भएका छन् । तसर्थ, अहिलेको समस्यालाई सबै मिलेर हल गर्नुपर्दछ । विद्यार्थीलाई एसइइको भूत देखाउने भन्दा पनि अब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्नसके त्यसले पक्कै पनि भोलिका दिनमा सरकारले सोचेजस्तो उच्च शिक्षाका लागि हाम्रा विद्यार्थीहरु तयार हुन्थे कि ? 

(लामा मन्टेश्वरी एसोसिएसन नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

यस बिषयमा तपाइको प्रतिक्रिया...!