असार १५, काठमाडौँ | रेड सीको छेउमा रहेको साउदी अरबको जेद्दा सहरमा अमेरिकाको महावाणिज्य दूतावास छ। राजधानी रियाददेखि झन्डै साढे ९ सय किलोमिटर टाढाको जेद्दा महत्वपूर्ण व्यापारिक केन्द्र हो। पोर्ट सिटी भएकाले त्यहाँ धेरै देशले महावाणिज्यदूतावास खोलेका छन्। नेपालले पनि केही वर्षअघि जेद्दामा महावाणिज्य दूतावास राखेको छ। जेद्दाको अमेरिकी महावाणिज्यदूतावासमा नेपालीहरूले सेक्युरिटी गार्डको काम गर्छन्।

तिलोत्तमा-९ शंकरपुरका ६० वर्षीय नैनसिंह नेपाली पनि अमेरिकी महावाणिज्यदूतावासको सुरक्षामा खटिएका थिए। सन् २००१ देखि उनी सेक्युरिटी गार्डका रूपमा महावाणिज्यदूतावासमा काम गरिरहेका थिए। बाग्लुङको बलेवाका नैनसिंहले वैदेशिक रोजगारीबाट कमाएको पैसाले केही वर्षअघि शंकरपुरमा घर किनेका थिए।

बुधबार साँझ स्थानीय समयअनुसार पौने ७ बजेतिर महावाणिज्यदूतावास बाहिरको सडकमा एउटा कार आएर रोकियो। कारबाट निस्किएका मानिसले अचानक गोली चलाए। उनले चलाएको गोली नैनसिंहलाई लाग्यो। आफ्ना साथीमाथि गोली चलाउने आक्रमणकारीमाथि अरू नेपाली सेक्युरिटी गार्डले जवाफी कारबाही गरे। ती बन्दुकधारीको घटनास्थलमै मृत्यु भयो। गोली लागेका नैनसिंह पनि बाँच्न सकेनन्। केहीबेरमा उनको मृत्यु भयो।

नैनसिंहकी साली शर्मिला परियारका अनुसार घटना हुनु केही मिनेटअघि मात्रै उनले श्रीमतीसँग फोनमा कुरा गरेका थिए।

‘ड्युटीकै बीचमा केही मिनेट उहाँहरूको रेस्ट हुँदो रैछ। त्यहीबेला फोनमा दिदीसँग कुरा भएको थियो,’ शर्मिलाले भनिन्,‘भिनाजुले रेस्ट टाइम सकियो भोलि फेरि कुरा गरौंला भनेर फोन राख्नुभएको थियो। एकछिनमा त घटना भइहालेछ।’

बाग्लुङमा जन्मे हुर्केका नैनसिंह धेरै समय भारतको सिलोङमा बसेका थिए। सन् २००१मा उनी सेक्युरिटी गार्ड बनेर साउदी गएका थिए। बेला-बेलामा नेपाल आउने-जाने गरिरहन्थे। गत वर्ष नेपाल आएर आँखाको अप्रेशन गरेर फर्किएका थिए। २० वर्षभन्दा बढी काम गरिसकेकाले अबको दशैंमा साउदी नजाने गरी घर फर्किने उनको योजना थियो।

‘बुढो पनि भएँ, दशैंमा घर आउँछु अनि त्यतै केही गर्नुपर्ला। साउदी फर्किन्नँ भन्नुहुन्थ्यो,’ शर्मिलाले भनिन्,‘तर घरै आउन पाउनुभएन।’

नैनसिंहको घरमा ९५ वर्षकी आमा छन्।

‘कान नसुन्ने भएकाले उहाँलाई छोरा बितेको थाहै छैन,’ शर्मिलाले भनिन्।

नैनसिंहका जेठा छोरा पनि साउदीमै सेक्युरिटी गार्डको काम गर्छन्। सेक्युरिटी कम्पनीले उनैलाई जेद्दा बोलाएर बुवाको शव जिम्मा लगाउने तयारी गरेको छ।

‘यता इदको विदा छ। शव बुझ्न अझै केही दिन लाग्छ भन्थ्यो बाबुले,’ शर्मिलाले भनिन्।

नैनसिंहका माइला छोरा शारीरिक रूपमा अपांग छन् भने कान्छा छोरा प्लस टु पढिरहेका छन्। जेद्दास्थित नेपाली महावाणिज्यदूतावासका एक अधिकारीका अनुसार अहिले उनको शव अस्पतालमा राखिएको छ। उनलाई सेक्युरिटी गार्डका रूपमा साउदी पठाउने कम्पनीले शव नेपाल ल्याउने प्रक्रिया सुरू गरेको छ। महावाणिज्यदूतावासले सहजीकरणको काम गरिरहेको छ।

साउदी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। आक्रमणकारी पनि मारिएकाले आक्रमण गर्नुका पछाडि उनको उद्देश्य के थियो भन्ने खुल्न सकेको छैन।

भोलि कुरा गरौंला भन्दै फोन राखेको केहीबेरमै साउदीमा बन्दुकधारीको आक्रमणमा परेका थिए नैनसिंह
Leave a Comment