साउन १८, काठमाडौं | कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा कैदी जीवन बिताइरहेको जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका लम्सालले कुवेतको जेलमा कैदी जीवन बिताइरहेकामध्ये एक पुरुष र एक महिलालाई जन्मकैदको सजाय सुनाइएको बताए ।

संघीय संसदको संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा प्रस्तावित राजदूत लम्सालले कुवेतमा नेपाली श्रमिकको संख्या ८५ हजार पुगेको आकलन रहेको पनि बताए । 'कुवेतका जेलमा ५७ जना नेपाली अहिले जेलमा रहेका छन् । ३६ जनालाई दूतावासले भेटिसकेको छ । धेरैजसो ड्रगको मुद्दामा जेलमा परेका छन्,' उनले भने, 'जेलमा रहेकामध्ये १ महिला र १ पुरुष लाइफ सेन्टेन्स (जन्मकैद) पाएका छन् ।'

आफू राजदूत बनेर गएपछि कुवेतको जेलमा रहेका नेपालीको कैद घटाउने आफ्नो पहल हुने लम्सालले प्रतिबद्धता जनाए ।

कुवेतमा महिलालाई कामदारका रुपमा जान प्रतिबन्ध लगाएको छ । तर, अवैध प्रक्रिया र बाटोबाट हजारौं महिला पुगेको बताइएको छ ।