२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

२५ हजार रियाल तिर्न नसक्दा खजुराका चन्द साउदीमा अलपत्र

२३ श्रावण २०८०, मंगलवार ०९:२४

साउन २३, काठमाडौँ | खजुरा गाउँपालिका– २ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द १८ कात्तिक ०७५ को बिहानै साउदी जान घरबाट बिदा भए । उनी नेपालगन्जबाट काठमाडौंको बस चढे । एक रात काठमाडौंमा बसेर उनी २० कात्तिकमा साउदीका लागि प्रस्थान भए । उनी साउदीको एक कम्पनीमा काम गर्दै थिए । करिब डेढ वर्षसम्म काम राम्रैसँग चलिरहेको थियो । पारिश्रमिक पनि ठिकै थियो । तर, दुई वर्ष नपुग्दै दुई हजार पारिश्रमिकबाट कम्पनीले एक हजार रियालमा झार्‍यो । उनी छाँगाबाट खसेझैँ भए । उनले कम्पनी छाड्ने निर्णय गरे । र, साथीहरूसँग मिलेर कम्पनीबाट फरार भए । त्यतिवेला उनले कम्पनीबाट दुई महिनाको तलब लिन बाँकी थियो ।


कुवेर अर्को कम्पनीमा काम गरिरहेका थिए । उनको भिसाको समय सकिनै लागेको थियो । उनले घर फर्किने योजना बनाए, तर फर्कन पाएनन् । ‘पहिलेको कम्पनीले २५ हजार रियाल तिर्न बाँकी रहेको भन्ने उजुरी त्यहाँको सरकारलाई दिएको रहेछ,’ उनकी पत्नी अजिताले भनिन्, ‘कम्पनीले दिएको उजुरीका कारण स्वदेश फर्किने उहाँ (पति)को योजना बीचमै तुहियो ।’  पतिले आफू स्वदेश फर्किन नसक्ने कारण फोनमार्फत सुनाएको अजिताले बताइन् । अजिताले रकम जोहो गरेर पतिलाई स्वदेश ल्याउने कोसिस गरिन्, तर ठूलो रकमका कारण उनको प्रयास असफल भयो । अजिता भन्छिन्, ‘ऋण, सापट गरेर भए पनि तीन–चार लाख रुपैयाँ पठाउँछु भनेको थिएँ । उहाँले १४–१५ लाख रुपैयाँ हो भनेपछि स्तब्ध भएँ । यति ठूलो रकम तिर्न नसक्ने भएपछि उतै अलपत्र पर्नुभएको छ ।’

उजुरी परेपछि उनी तीन महिनादेखि बेरोजगार छन् । साथीभाइको कोठामा बस्दै आएका उनले कम्पनीले दिएको उजुरीलाई लिएर दूतावास गुहारे । कम्पनीसँग सोधपुछ गरे । रकम मिनाहा गर्न हारगुहार गरे । बिन्तीभाउ बिसाए, तर उनको हारगुहार न दूतावासले सुन्यो, न त कम्पनीले नै । ‘नेपाल आउने व्यवस्था मिलाइदेऊ भन्दै हरेक दिन फोन गर्नुहुन्छ । निराश र हतास देखिनुहुन्छ । मानसिक तनावमा हुनुहुन्छ,’ उनले भनिन् । 

कुवेर र अजिताका एक छोरा र एक छोरी छन् । १७ वर्षीय छोरा नेपालगन्जस्थित ब्राइटल्यान्ड कलेजमा होटेल म्यानेजमेन्ट पढ्छन् । ६ वर्षीया छोरी गाउँकै ध्रुवतारा बोर्डिङ स्कुलमा युकेजीमा पढ्छिन् । अजिताले भनिन्, ‘छोरीले बाबालाई एकदमै पछ्याउँछिन् । भिडियो कल गरेर बाबा कहिले फर्किनुहुन्छ ? छिटो घर आउनुस् भन्छिन्,’ अजिताले भनिन्, ‘तिमी ठूलो भएपछि आउँछु छोरी भन्ने जवाफ फर्काउनुहुन्छ । छोरीले तपाईं सधैँ तिमी ठूलो भएपछि आउँछु भन्नुहुन्छ, म ठूलो भइसके बाबा छिट्टै आउनुस् भन्छिन् ।’

पतिले रकम नपठाएपछि छोराछोरी पढाउन र घर खर्च धान्न अजितालाई हम्मे–हम्मे परेको छ । छोरीको विद्यालय शुल्क थोरै भए पनि छोराको मासिक शुल्क धेरै छ । ‘छोरीको विद्यालय शुल्क जसोतसो तिरे पनि छोराको कलेज शुल्क तिर्न मुस्किल छ,’ उनले भनिन् । 

उनीसँग भएको एउटा घर पनि बैंकमा छ । उनले पतिलाई साउदी पठाउन र घर बनाउन बैंकबाट कर्जा लिएकी हुन् । उनले तीन महिनामा ब्याज र साँवा गरी २८ हजार बुझाउनुपर्छ । तीन महिनाको साँवा र ब्याज नबुझाएको उनले बताइन् । ‘बैंकले किस्ता हाल्नुपर्‍यो भनेर फोन गर्‍या–गर्‍यै गर्छ । मैले पैसा छैन । भएपछि एकमुस्ट बुझाउँछु भनेर टार्दै आएकी छु,’ उनले भनिन् । 

उनले साउदीको दमाममा अलपत्र रहेका पतिलाई नेपाल फिर्ता ल्याइदिन अपिल गरेकी छिन् । आफ्नोतर्फबाट रकम तिरेर ल्याउन सक्ने अवस्था नरहेको बताउँदै उनले सरकार, दूतावास, राजनीतिक दलका नेता, सांसद, गाउँपालिकाका जनप्रतिनिधिको सहयोगको अपेक्षा गरेकी छिन् । ‘मेरो, मेरो पति र परिवारका अन्य सदस्यले रकम जम्मा गरेर नेपाल झिकाउन सक्ने अवस्था छैन । सरकार, दूतावास, सांसद र गाउँपालिकाका जनप्रतिनिधिको सहयोगविना उहाँ (पति) नेपाल आउने सम्भावना छैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान