२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

२५ हजार रियाल तिर्न नसक्दा खजुराका चन्द साउदीमा अलपत्र

२०८०, २३ श्रावण मंगलवार ०९:२४

साउन २३, काठमाडौँ | खजुरा गाउँपालिका– २ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द १८ कात्तिक ०७५ को बिहानै साउदी जान घरबाट बिदा भए । उनी नेपालगन्जबाट काठमाडौंको बस चढे । एक रात काठमाडौंमा बसेर उनी २० कात्तिकमा साउदीका लागि प्रस्थान भए । उनी साउदीको एक कम्पनीमा काम गर्दै थिए । करिब डेढ वर्षसम्म काम राम्रैसँग चलिरहेको थियो । पारिश्रमिक पनि ठिकै थियो । तर, दुई वर्ष नपुग्दै दुई हजार पारिश्रमिकबाट कम्पनीले एक हजार रियालमा झार्‍यो । उनी छाँगाबाट खसेझैँ भए । उनले कम्पनी छाड्ने निर्णय गरे । र, साथीहरूसँग मिलेर कम्पनीबाट फरार भए । त्यतिवेला उनले कम्पनीबाट दुई महिनाको तलब लिन बाँकी थियो ।


कुवेर अर्को कम्पनीमा काम गरिरहेका थिए । उनको भिसाको समय सकिनै लागेको थियो । उनले घर फर्किने योजना बनाए, तर फर्कन पाएनन् । ‘पहिलेको कम्पनीले २५ हजार रियाल तिर्न बाँकी रहेको भन्ने उजुरी त्यहाँको सरकारलाई दिएको रहेछ,’ उनकी पत्नी अजिताले भनिन्, ‘कम्पनीले दिएको उजुरीका कारण स्वदेश फर्किने उहाँ (पति)को योजना बीचमै तुहियो ।’  पतिले आफू स्वदेश फर्किन नसक्ने कारण फोनमार्फत सुनाएको अजिताले बताइन् । अजिताले रकम जोहो गरेर पतिलाई स्वदेश ल्याउने कोसिस गरिन्, तर ठूलो रकमका कारण उनको प्रयास असफल भयो । अजिता भन्छिन्, ‘ऋण, सापट गरेर भए पनि तीन–चार लाख रुपैयाँ पठाउँछु भनेको थिएँ । उहाँले १४–१५ लाख रुपैयाँ हो भनेपछि स्तब्ध भएँ । यति ठूलो रकम तिर्न नसक्ने भएपछि उतै अलपत्र पर्नुभएको छ ।’

उजुरी परेपछि उनी तीन महिनादेखि बेरोजगार छन् । साथीभाइको कोठामा बस्दै आएका उनले कम्पनीले दिएको उजुरीलाई लिएर दूतावास गुहारे । कम्पनीसँग सोधपुछ गरे । रकम मिनाहा गर्न हारगुहार गरे । बिन्तीभाउ बिसाए, तर उनको हारगुहार न दूतावासले सुन्यो, न त कम्पनीले नै । ‘नेपाल आउने व्यवस्था मिलाइदेऊ भन्दै हरेक दिन फोन गर्नुहुन्छ । निराश र हतास देखिनुहुन्छ । मानसिक तनावमा हुनुहुन्छ,’ उनले भनिन् । 

कुवेर र अजिताका एक छोरा र एक छोरी छन् । १७ वर्षीय छोरा नेपालगन्जस्थित ब्राइटल्यान्ड कलेजमा होटेल म्यानेजमेन्ट पढ्छन् । ६ वर्षीया छोरी गाउँकै ध्रुवतारा बोर्डिङ स्कुलमा युकेजीमा पढ्छिन् । अजिताले भनिन्, ‘छोरीले बाबालाई एकदमै पछ्याउँछिन् । भिडियो कल गरेर बाबा कहिले फर्किनुहुन्छ ? छिटो घर आउनुस् भन्छिन्,’ अजिताले भनिन्, ‘तिमी ठूलो भएपछि आउँछु छोरी भन्ने जवाफ फर्काउनुहुन्छ । छोरीले तपाईं सधैँ तिमी ठूलो भएपछि आउँछु भन्नुहुन्छ, म ठूलो भइसके बाबा छिट्टै आउनुस् भन्छिन् ।’

पतिले रकम नपठाएपछि छोराछोरी पढाउन र घर खर्च धान्न अजितालाई हम्मे–हम्मे परेको छ । छोरीको विद्यालय शुल्क थोरै भए पनि छोराको मासिक शुल्क धेरै छ । ‘छोरीको विद्यालय शुल्क जसोतसो तिरे पनि छोराको कलेज शुल्क तिर्न मुस्किल छ,’ उनले भनिन् । 

उनीसँग भएको एउटा घर पनि बैंकमा छ । उनले पतिलाई साउदी पठाउन र घर बनाउन बैंकबाट कर्जा लिएकी हुन् । उनले तीन महिनामा ब्याज र साँवा गरी २८ हजार बुझाउनुपर्छ । तीन महिनाको साँवा र ब्याज नबुझाएको उनले बताइन् । ‘बैंकले किस्ता हाल्नुपर्‍यो भनेर फोन गर्‍या–गर्‍यै गर्छ । मैले पैसा छैन । भएपछि एकमुस्ट बुझाउँछु भनेर टार्दै आएकी छु,’ उनले भनिन् । 

उनले साउदीको दमाममा अलपत्र रहेका पतिलाई नेपाल फिर्ता ल्याइदिन अपिल गरेकी छिन् । आफ्नोतर्फबाट रकम तिरेर ल्याउन सक्ने अवस्था नरहेको बताउँदै उनले सरकार, दूतावास, राजनीतिक दलका नेता, सांसद, गाउँपालिकाका जनप्रतिनिधिको सहयोगको अपेक्षा गरेकी छिन् । ‘मेरो, मेरो पति र परिवारका अन्य सदस्यले रकम जम्मा गरेर नेपाल झिकाउन सक्ने अवस्था छैन । सरकार, दूतावास, सांसद र गाउँपालिकाका जनप्रतिनिधिको सहयोगविना उहाँ (पति) नेपाल आउने सम्भावना छैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन