इजरायल-हमासको युद्धविराम दुई दिन थपियो, रिहा हुन्छन् त विपिन ?

साझासवाल
3 Min Read

मङ्सिर १२, काठमाडौँ | इजरायल र हमासबीच लागू गरिएको पहिलो चरणको युद्ध विरामको सकिँदा समेत रिहा नभएका कञ्चनपुरका विपिन जोशीको परिवारमा थप दुई दिन युद्ध विराम थपिएपछि केही राहत मिलेको छ ।

गत शुक्रवारदेखि लागू भएको चार दिने युद्ध विराम सोमबार सकिँदै थियो । त्यस बिचमै युद्ध विरामको अवधि थप दुई दिन लम्बिएपछि विपिनको परिवारमा विपिन रिहामा आशावादी छन् ।

‘पहिलो चरणको युद्ध विरामै छोरा रिहा हुन्छ भन्नेमा हामी आशावादी थियौँ । त्यो समयमा नहुँदा हामी निराश भयौँ’ विपिनका बुवा महानन्दले भने, ‘अहिले युद्ध विराम थप भएको सुनेका छौँ यो बेला छोरालाई रिहा गरिदिन सरकारलाई अपिल गरिरहेका छौँ ।’

युद्ध विराम लागू भएपछि हमास र इजरायलले बन्दीहरूलाई रिहा गरेका छन् । हालसम्म हमासले आफ्नो कब्जामा रहेका इजरायली र अन्य देशका नागरिक गरी ५८ जनालाई मुक्त गरेको छ । त्यसको बदलामा इजरायलले पनि प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरेको छ । तर, यति हुँदा पनि विपिन भने रिहा भएका छैनन् ।

विपिनको परिवारले यस अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै रिहाइको अपिल गरेका थिए । उनीहरूले पटक पटक परराष्ट्र मन्त्री एनपी साउँदलाई भेटेरै रिहाइको पहल गर्न आग्रह गरेका थिए । तर, सरकारले अझै कूटनीतिक पहल बढाउनु पर्ने महानन्द बताउँछन् ।

‘हामीले पटक पटक सरकारलाई आग्रह गरिरहेका छौँ ’ उनले भने, ‘सरकारले पनि पहल गरिरहेको बताएको छ । तर, अझै पहल बढाउनु पर्ने देखिएको छ ।’

भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका जोशी अहिले सम्म सम्पर्कविहीन छन् ।

असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा जोशीसँगै रहेका १० नेपालीको मृत्यु भयो । त्यही दिन बेपत्ता भएका जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् । इजरायलबाट फर्किएका कैलाली भजनी–४ का वीरेन्द्र चौधरीले विपिनलाई हमास समूहले अपहरण गरेर लगेको बताएका थिए ।

यस अघि परराष्ट्र मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह समेत गरेका थिए । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा परराष्ट्र मन्त्री साउदले जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

भेटमा मन्त्री साउदले विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरेका थिए । तर, उक्त सूचिमा विपिन परेनन् । अहिले फेरी युद्ध विराम २ दिन थप भएको छ । यो बेला रिहाको पहल गर्न विपिनको परिवारले सरकारसँग आग्रह गरिरहेको छ ।

गाँजा क्षेत्रमा भएको आक्रमणमा इजराइलमा १,२०० जनाको ज्यान गएका थियो । इजरेलले गरेको हमलामा १४, ५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply