काठमाडौँ | संयुक्त राष्ट्रसंघको शान्ति मिसन युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) अन्तर्गत कार्यकाल पूरा गरेर स्वदेश फर्किने क्रममा प्रदर्शनकारीको आक्रमणमा घाइते भएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल उपचारपछि डिस्चार्ज भएका छन्।
बेरुतस्थित यूएनको लेभल थ्री अस्पतालमा उपचारपछि उनलाई आइतबार डिस्चार्ज गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिएका छन्। प्रवक्ता केसीका अनुसार ढकाल अब स्वदेश फर्कने तयारीमा छन्।
शनिबार मध्यराति, नाकुरा स्थित युनिफिल फोर्स हेडक्वार्टरबाट विमानस्थलतर्फ जाँदै गर्दा उपरथी ढकाल प्रदर्शनकारीको आक्रमणमा परेका थिए। ढकाल सवार गाडीलाई प्रदर्शनकारीले रोकेर उनलाई निकालेर कुटपिट गरेका थिए, जसका कारण उनको टाउकोमा चोट लागेको थियो।
आक्रमणका क्रममा गाडीमा रहेका थप चार नेपाली शान्ति सैनिक पनि सामान्य घाइते भएका थिए। लेबनानी सेनाले ढकाललाई उद्दार गरी अस्पताल पु¥याएको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार, लेबनानमा अहिले इरानबाट आएको यात्रुविमानलाई बेरुत अवतरण अनुमति नदिएको निर्णयको विरोधमा प्रदर्शन भइरहेको छ।
लेबनानी सरकारी अधिकारीहरूका अनुसार, इरानले सो उडानमार्फत हिज्बुल्लाहलाई नगद पठाउने गरेको आशंका गर्दै विमानलाई प्रतिबन्ध लगाइएको हो। इजरायली सेनाले पनि यसअघि इरानले नागरिक उडानमार्फत हिज्बुल्लाहलाई नगद तस्करी गर्ने गरेको आरोप लगाएको थियो।
यस निर्णयको विरोधमा प्रदर्शनकारीहरूले राजधानी बेरुतसहित विमानस्थल जाने मार्ग र अन्य मुख्य सडकहरू अवरुद्ध पारिरहेका छन्। यही क्रममा उपरथी ढकालको गाडी पनि प्रदर्शनकारीको निशानामा परेको थियो।
लेबनानी अधिकारीहरूले उक्त आक्रमणमा संलग्न कम्तीमा २५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका छन्।