कोभिड–१९ सङ्क्रमणबाट विदेशमा मृत्यु हुने शून्य

Posted on: 14 Mar, 2021

चैत १, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो ।   

 गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा  थप कोरोना सङ्क्रमण देखिएको छ ।   

उहाँका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७  नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७  सङ्क्रमण मुक्त भएका छन् । कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।     

ढुक्क भएर खोप लगाऔँ  

समितिका संयोजक डा सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ । उहाँले केही अपवादबाहेक खोप प्रयोगबाट  गम्भीर समस्या नदेखिएकाले  खोप लगाउन आह्वान समेत गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!