माघ १५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध विशेष अदालतमा फेरी अर्को मुद्दा दायर गरेको छ । आज दायर भएको मुद्धा अनुसार शर्माले बयानमा दिएको खर्च र शर्माले गरेको खुद खर्चमा ४ करोड भन्दा बढीको फरक परेको भन्दै झन्डै चार महिना लामो अनुसन्धानपछी मुद्धा दायर गरिएको हो ।
यस अघि कर फर्च्यौट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा उनलाई दायर गरिएको मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अर्को मुद्दा दायर गरेको हो । अख्तियारले उनीविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाा बिगो मागदाबी गरेको छ ।
अख्तियारसँगको बयानका क्रममा शर्माले आफूसँगको बचत रकम ३ करोड ६३ लाख ७२ हजार नौ सय ६१ रहेको देखाएका थिए । तर अख्तियारले शर्माले गरेको खर्च सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको जनाएको छ । अख्तियारले शर्माको आम्दानी र खर्चबीचको अन्तरलाई अकुत मानेर मुद्दा दायर गरेको हो ।
गैरकानूनी सम्पत्ति आर्जनको विषयमा बयानका लागि बोलाउँदा पनि शर्मा बिभिन्न बहानामा पूरा समय अख्तियारमा उपस्थित भएका थिएनन् । शर्मा अख्तियारमा उपस्थित भएर दिएको वयान र प्राप्त प्रमाणका आधारमा उनीमाथि अभियोगपत्र तयार भएको अख्तियार स्रोतले बताएको छ ।