२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

२०७५, १५ चैत्र शुक्रबार १७:५०

नवदीप श्रेष्ठ/रामहरि न्यौपाने | चैत १५, नुवाकोट (रासस) | रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ । 

आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न गरेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । बाँधस्थलका तीन वटा ढोकाबाट पानी थुनेर डि–सेन्टर (पानी जमाउने पोखरी)मा पठाउने कार्य सफल भएको हो । 

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण सबैभन्दा बढी क्षति पुगेको उक्त आयोजनाको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसगैँ तोकिएको समयमा विद्युत् उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक ई सत्यराम ज्याख्वाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “भूकम्पले क्षति पुर्याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएकाले बाँधस्थलको परीक्षण चुनौती थियो, तीन वटा ढोकामार्फत थुनिएको पानीले सहजै डि–सेन्टरमा प्र्रवेश गरेको छ, यो सुखद पक्ष हो ।” बाँधस्थलको परीक्षणअन्तर्गत थुनिएको बाँध करीब ४८ घण्टासम्म परीक्षण गरिने आयोजनाको निर्माण गरिरहेको चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले जनाएको छ । 

आयोजनाको सिभिल (भौतिक) संरचना निर्माणपश्चात् करीब ४५ दिनको परीक्षण अवधिको यस समयमा दोस्रो चरणअन्तर्गत अर्को सातादेखि डि–सेन्टर हुँदै सुरुङ मार्गको परीक्षण गर्ने योजना छ । असारसम्ममा निर्माण सम्पन्न गर्ने योजनाका साथ तीव्र गतिमा भइरहेको कार्यअन्तर्गत आयोजनाको समग्र काम हाल ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । 

आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रशारण लाइन विस्तारको कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको छ । उक्त आयोजनाबाट ३० मेगावाट बिजुली आगामी वैशाख १७ मा पहिलो युनिटबाट उत्पादन शुरु गर्ने लक्ष्य छ । तीस मेगावाट क्षमताको दोस्रो युनिट आगामी असार १५ गते सञ्चालनमा ल्याउने गरी हाल इलेक्ट्रोमेकानिकलको कामलाई तीव्र बनाइएको छ । 

सन् २०११ जुनदेखि सिजिजिसी कम्पनीले उक्त आयोजनाको निर्माणको काम थालेको थियो । निर्माणका लागि उक्त कम्पनीसँग इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको थियो । इपिसी मोडेलमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको यो पहिलो जलविद्युत् आयोजना हो । क्षमता वृद्धि, विभिन्न मागमा स्थानीयवासीको अवरोध र विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीको प्रभावले तोकिएभन्दा चार वर्ष ढिलाइ गरी आयोजना निर्माण अन्तिम चरणमा पुर्याइएको छ । 

यसबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनसम्म जडानका लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रशारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’मार्फत भइरहेको छ । उक्त कार्य हाल ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । आयोजनामा सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक र चीनले वित्तीय व्यवस्थापन गरेको छ । 

आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर प्रक्षेपण गरिएको छ । भूकम्पले बाँधस्थल, पहुँच मार्गलगायतमा धेरै क्षति पुर्याएको उक्त आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायी पक्षलाई हालसम्म कुनै ‘भेरिएशन’ दिइएको छैन । भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्याएको क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीनरुपमा पहिरो रोकथामसम्बन्धी कार्यका लागि भने मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेनाबाट काम भइरहेको छ । पहिरो रोकथामको कार्य सेनाले अन्तिम चरणमा पुर्याएको छ । 

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्णरुपमा सञ्चालन आएपश्चात् यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी गर्नेछ । त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत (पहाड भित्र) बनाइएको छ । 

आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । ‘क्यू सेभेन्टी’ मोडलमा निर्माण गरिएकाले आयोजनामा गरिएको लगानीको तुलनामा आम्दानी राम्रो लिन सकिने देखिएको छ । “कूल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रुपमा हेरिएको छ”, आयोजनाका उपप्रबन्धक ज्याख्वाले भन्नुभयो । 

उहाँका अनुसार यो आयोजना सम्पन्नपश्चात् सहायक योजना (क्यासकेड) मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाइएको छ । थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्नेगरी गत फागुनदेखि निर्माण थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा