२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उडान सञ्चालनयोग्य अन्तर्राष्ट्रिय विमानस्थल

२०७७, १८ जेष्ठ आईतवार १६:१९

सिबी अधिकारी | जेठ १८, काठमाडौँ | कोभिड–१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी नयाँ संरचना तयार गरिएको हो ।

विमानस्थलको तीन सय मिटर धावनमार्ग विस्तारसँगै कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलको भौतिक संरचना तथा कोभिडको जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे आज विमानस्थलले सञ्चारमाध्यमलाई स्थलगत अवगत गराएको थियो । विमानस्थलको धावनमार्ग विस्तारदेखि सामाजिक दूरी कायम गर्न दुबैतर्फका उडानको टर्मिनल भवनमा बनाइएको नयाँ संरचनाबारे विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीसहितको प्राविधिक टोलीले विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो ।

माथिको तश्वीरमा: विश्व स्वास्थ्य सङ्गठन एवं  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्डअनुसार ‘कोभिड– १९’ को रोकथामका लागि सरकारले लगाएको लकडाउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुका लागि साङ्केतिक पाइलाको सामाजिक दूरीको व्यवस्था  । तस्वीरः रोशन सापकोटा/रासस

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा यात्रुको स्वास्थ्य सुरक्षाका लागि सामाजिक दूरी कायम गरिएको छ । यात्रुका लागि अन्तर्राष्ट्रियको टर्मिनलको ट्रली हलमा डेढ मिटर दूरी कायम गरिएको छ । सेवामा खटिने कर्मचारीको स्वास्थ्य सजकताका सबै मापदण्ड बनाइएको छ ।

बन्दाबन्दीपछि अन्तर्राष्ट्रिय विमानस्थलको सेवा कसरी सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । सम्भवतः सरकारको निर्णयअनुरुप एक साताभित्रै हवाई उद्धार उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई घर फर्काउनेछ । त्यसका लागि विमानस्थलले अपनाउनुपर्ने आवश्यक सतर्कता र सबैखाले तयारी गरिएको महाप्रबन्धक केसीले बताउनुभयो ।

बन्दाबन्दीको अवस्थामा विमानस्थलको धावनमार्ग विस्तारको काम पनि सकिएको विमानस्थलले जनाएको छ । विमानस्थलको पुरानो तीन हजार मिटर धावनमार्गलाई विस्तार गरी तीन हजार ३०० कायम गरिएको छ । विमानस्थलको दक्षिणतर्फ तीन सय मिटरको धावनमार्ग निर्माण गरिएको हो । विस्तार भएको धावनमार्गमा अब रनवे र एप्रोच लाइटिङको काम मात्रै बाँकी छ । यसले अन्तर्राष्ट्रिय उडान सहजताका साथै हवाई सुरक्षाको सुनिश्चितता हुने विमानस्थलको भनाइ छ ।

विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टू विस्तारको काम भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने बताउनुभयो । यसले विमानस्थलको सेफ्टी स्ट्यान्डर बढ्नाका साथै हवाई सुरक्षाको सुनिश्चिता भएको उहाँले उल्लेख गर्नुभयो ।


एशियाली विकास बैंकको सहयोगमा सन् २०१३ देखि नै ठेक्का प्रक्रिया चलेको भए पनि बीचमा ठेकेदारको लापर्वाहीले केही ढिला गरी आयोजना सम्पन्न भएको श्रेष्ठले बताउनुभयो । तीन सय मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक रु ८० करोड बजेट खर्च भएको आयोजनाले जनाएको छ ।

विगत आठ वर्षदेखि थाती रहेको धावनमार्ग विस्तारको काम सम्पन्न भएको विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो । बन्दाबन्दीको अवस्थामा जहाजको गतिविधि कम भएपछि निर्माणमा सहजता आएको थियो । झण्डै दुई महिनामा यो काम सकिएको छ । धावनमार्ग विस्तारपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो । 

कोभिडको महामारीकै सन्दर्भमा सामाजिक दूरी कायम गरेर विमानस्थल सञ्चालनका तयारी भइरहेको छ । त्यसो त  बन्दाबन्दीको अवस्थामा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो चार्टर र कार्गो उडान भएका छन् । विमानस्थलका महाप्रबन्धक केसीले सरकारले विमानस्थल सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको बताउनुभयो । विमानस्थलमा सामाजिक दूरी कायम गरी सानिटाइजर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

यसैबीच विमानस्थलको नयाँ आवागमन भवनको काम पनि सम्पन्न भएको छ । विदेशबाट उद्धार गरेर ल्याउने पहिलो उडानका यात्रुलाई नयाँ भवनबाटै बाहिर ल्याउने गरी धमाधम काम भइरहेको जनाइएको छ । अब विदेशबाट आउने यात्रु सिधै पार्किङस्थलतर्फको हलबाट सिधै बाहिर निस्कनुपर्नेछ । प्रस्थान गर्ने यात्रु सिधै टर्मिनलको अगाडि ओर्लिएर सवारी साधन तलपट्टि पार्किङ हुँदै बाहिरिनुपर्नेछ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान गर्छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो