८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उडान सञ्चालनयोग्य अन्तर्राष्ट्रिय विमानस्थल

१८ जेष्ठ २०७७, आईतवार १६:१९

सिबी अधिकारी | जेठ १८, काठमाडौँ | कोभिड–१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी नयाँ संरचना तयार गरिएको हो ।

विमानस्थलको तीन सय मिटर धावनमार्ग विस्तारसँगै कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलको भौतिक संरचना तथा कोभिडको जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे आज विमानस्थलले सञ्चारमाध्यमलाई स्थलगत अवगत गराएको थियो । विमानस्थलको धावनमार्ग विस्तारदेखि सामाजिक दूरी कायम गर्न दुबैतर्फका उडानको टर्मिनल भवनमा बनाइएको नयाँ संरचनाबारे विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीसहितको प्राविधिक टोलीले विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो ।

माथिको तश्वीरमा: विश्व स्वास्थ्य सङ्गठन एवं  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्डअनुसार ‘कोभिड– १९’ को रोकथामका लागि सरकारले लगाएको लकडाउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुका लागि साङ्केतिक पाइलाको सामाजिक दूरीको व्यवस्था  । तस्वीरः रोशन सापकोटा/रासस

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा यात्रुको स्वास्थ्य सुरक्षाका लागि सामाजिक दूरी कायम गरिएको छ । यात्रुका लागि अन्तर्राष्ट्रियको टर्मिनलको ट्रली हलमा डेढ मिटर दूरी कायम गरिएको छ । सेवामा खटिने कर्मचारीको स्वास्थ्य सजकताका सबै मापदण्ड बनाइएको छ ।

बन्दाबन्दीपछि अन्तर्राष्ट्रिय विमानस्थलको सेवा कसरी सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । सम्भवतः सरकारको निर्णयअनुरुप एक साताभित्रै हवाई उद्धार उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई घर फर्काउनेछ । त्यसका लागि विमानस्थलले अपनाउनुपर्ने आवश्यक सतर्कता र सबैखाले तयारी गरिएको महाप्रबन्धक केसीले बताउनुभयो ।

बन्दाबन्दीको अवस्थामा विमानस्थलको धावनमार्ग विस्तारको काम पनि सकिएको विमानस्थलले जनाएको छ । विमानस्थलको पुरानो तीन हजार मिटर धावनमार्गलाई विस्तार गरी तीन हजार ३०० कायम गरिएको छ । विमानस्थलको दक्षिणतर्फ तीन सय मिटरको धावनमार्ग निर्माण गरिएको हो । विस्तार भएको धावनमार्गमा अब रनवे र एप्रोच लाइटिङको काम मात्रै बाँकी छ । यसले अन्तर्राष्ट्रिय उडान सहजताका साथै हवाई सुरक्षाको सुनिश्चितता हुने विमानस्थलको भनाइ छ ।

विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टू विस्तारको काम भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने बताउनुभयो । यसले विमानस्थलको सेफ्टी स्ट्यान्डर बढ्नाका साथै हवाई सुरक्षाको सुनिश्चिता भएको उहाँले उल्लेख गर्नुभयो ।


एशियाली विकास बैंकको सहयोगमा सन् २०१३ देखि नै ठेक्का प्रक्रिया चलेको भए पनि बीचमा ठेकेदारको लापर्वाहीले केही ढिला गरी आयोजना सम्पन्न भएको श्रेष्ठले बताउनुभयो । तीन सय मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक रु ८० करोड बजेट खर्च भएको आयोजनाले जनाएको छ ।

विगत आठ वर्षदेखि थाती रहेको धावनमार्ग विस्तारको काम सम्पन्न भएको विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो । बन्दाबन्दीको अवस्थामा जहाजको गतिविधि कम भएपछि निर्माणमा सहजता आएको थियो । झण्डै दुई महिनामा यो काम सकिएको छ । धावनमार्ग विस्तारपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो । 

कोभिडको महामारीकै सन्दर्भमा सामाजिक दूरी कायम गरेर विमानस्थल सञ्चालनका तयारी भइरहेको छ । त्यसो त  बन्दाबन्दीको अवस्थामा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो चार्टर र कार्गो उडान भएका छन् । विमानस्थलका महाप्रबन्धक केसीले सरकारले विमानस्थल सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको बताउनुभयो । विमानस्थलमा सामाजिक दूरी कायम गरी सानिटाइजर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

यसैबीच विमानस्थलको नयाँ आवागमन भवनको काम पनि सम्पन्न भएको छ । विदेशबाट उद्धार गरेर ल्याउने पहिलो उडानका यात्रुलाई नयाँ भवनबाटै बाहिर ल्याउने गरी धमाधम काम भइरहेको जनाइएको छ । अब विदेशबाट आउने यात्रु सिधै पार्किङस्थलतर्फको हलबाट सिधै बाहिर निस्कनुपर्नेछ । प्रस्थान गर्ने यात्रु सिधै टर्मिनलको अगाडि ओर्लिएर सवारी साधन तलपट्टि पार्किङ हुँदै बाहिरिनुपर्नेछ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान गर्छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता