साउन १८, जुम्ला। जुम्लाको तिला गाउँपालिका–६, ७, ८, ९ नं वडा हालसम्म सडक सञ्जालमा जोडिएका छैनन् । स्थानीय तहले ती ठाउँमा ग्रामीण सडक निर्माण गरे पनि तिलानदीमा पक्की पुल निर्माण नहुँदा सडक सञ्जालमा नजोडिएको हो ।
वडाध्यक्ष सन्तवीर रावतले भन्नुभयो, “अहिले पनि यहाँका नागरिक पिठ्युमै बोकेर दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री ढुवानी गर्न बाध्य छन् । यस क्षेत्र आलु, मकै र सिमीलगायत कोशेबालीको उर्वरभूमि हो ।” तिला–९ मानेचौरमा आलु भण्डारण गर्ने चिस्यान घर (रष्टिक स्टोर) निर्माण गर्न थालिको छ । मौसममा आलुको मूल्य नपाइने भएकाले बेमौसममा बिक्री वितरण गर्न चिस्यान घर निर्माणको थालनी गरिएको उहाँले बताउनुभयो ।करिव रु ३३ लाख लागतमा १० मेट्रिक टन क्षमताको चिस्यान घर दातृ संस्थाको लगानी र साझेदारीमा निर्माण थालनी गरिएको हो ।
साझेदारी सहयोग केन्द्र (पेस नेपाल) का अध्यक्ष किशोर न्यौपानेका अनुसार गाउँपालिका र स्थानीयवासीको मागका आधारमा चिस्यान घर निर्माणको काम भइरहेको छ । विशेषगरी यस क्षेत्र आलु र मकै उत्पादनको उर्वरभूमि हो । यहाँ उत्पादित वस्तुको बजारीकरणको समस्या भएकाले अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको रु २२ लाख आर्थिक सहयोगमा १० मेट्रिक टन क्षमताको चिस्यान घर निर्माणको काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आलु उत्पादन हुने सिजनमा सबै कृषकले एकैपटक बजारमा लैजाने भएकाले मूल्य राम्रो नपाइने र खेर जाने हुँदा भण्डारण गरेर बेमौसममा बिक्री वितरण गर्दा राम्रो मूल्यमा बिक्री गरेर लाभ लिउन् भन्ने उद्देश्यका साथ आलु भण्डारण चिस्यान घर निर्माण गर्न थालिएको हो ।”
हिमा–६ महावैपाथरखोला गाउँका उम्म रावतले उन्नतजातको बोका पाउनुभयो । स्थानीय जातको भेडा पालिरहेका उहाँलाई उन्नतजातको भेडापालन गर्ने धोको थियो । अहिले उहाँको इन्छा पूरा भएको छ । उहाँले भन्नुभयो, “भेडापालनलाई पनि उन्नत बनाउँदै लैजानु अहिलेको टड्कारो आवश्यकता हो । व्यावसायिकरूपमा गरिने उन्नतजातको भेडापालनले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”
उम्म रावतजस्तै जिल्लाका तीन स्थानीय तहका आठ किसानले उन्नतजातको बोका र थुमा पाएका छन् । भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरमा लामो समयदेखि पालिरहेका अष्ट्रेलियन जातका भेडा तथा बोका किसानलाई उपलब्ध गराइएको हो । जिल्लाको तातोपानी गाउँपालिकाका दुई, हिमाका एक र तिलाका पाँच किसानलाई बोका र थुमा दिइएको हो ।
भेडापालनले किसानलाई फाइदा हुने स्थानीयवासी बताउँछन् । यो एक भेडा एक क्विन्टलसम्मको हुन्छ । मासु बेच्दा पनि राम्रो आम्दानी हुन्छ । ऊन पनि स्थानीय जातको भेडाभन्दा दोब्बर नै हुन्छ । ऊनबाट विभिन्न सामग्री बनाउन सकिने अवस्था रहन्छ । जुम्लाको वातावरणमा लामो समयदेखि पालन भइरहेकाले किसानलाई बोका र थुमा दिइएको हो ।
बोका र थुमा गरेर झण्डै रु पाँच लाखमा खरिद गरिएको हो । अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले किसानलाई उन्नतजातका भेडा उपलब्ध गराएको हो । जुम्ला भेडापालनमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तर परम्परागत भेडापालनले खासै उपलब्धि भएन । किसान भीमबहादुर रावतले भन्नुभयो, “उन्नतजातको भेडापालनले किसानको जीवनशैली परिवर्तन गर्न सक्छ । पछिल्लो समयमा उन्नतजातको भेडापालनप्रति किसान आकर्षित भइरहेका छन् ।” दशैं तिहारमा उन्नतजातको भेडाको माग पनि तीव्र हुन्छ । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका ६० वटै वडामा भेडापालन भइरहेको छ । रासस