२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यसरी मुहार फेरिँदै छ दिक्तेल बजारको

२०७७, २६ श्रावण सोमबार ०६:३५

केदार मगर । साउन २६, खोटाङ ।  पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । सडक ढलान, खानेपानीको पाइप र विद्युत्को तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो । 

विसं २०६४ देखि यातायात सञ्चालन हुँदै आएको बजारको साँघुरो तथा कच्ची सडक तीन भागमा विभाजन गरेर ढलान भइरहेको छ । रत्नपार्कको किराँतचोकदेखि सङ्मपार्कस्थित माताको मन्दिरसम्मको ७०० मिटर र त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको ४५० मिटर सडक ढलानको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारस्थित पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने सडकखण्डको २५४ मिटर सडक ढलानको काम यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ । रत्नपार्कको किराँतचोकदेखि हाटडाँडासम्मको सडक ढलानका लागि शहरी विकास तथा भवन निर्माण विभागको लगानी रहेको छ । 

क्रमागत योजनाअन्तर्गत पर्ने उक्त सडकखण्ड ढलानका लागि विभागबाट गत वर्ष रु पाँच करोड बजेट आएको थियो । करिब रु १५ करोड लगानीमा सम्पन्न हुने उक्त सडकका लागि यस वर्ष रु नौ करोड ७० लाखको काम हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । 

नगरपालिका र १ नम्बर प्रदेश सरकारको साझेदारी कार्यक्रमअन्तर्गत रु दुई करोड लगानीमा ढलान शुरु गरिएको त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको सडकको दायाँबायाँ गमलासमेत राखिएको छ । नगरपालिकाकै लगानीमा राखिएको गमलामा स्थानीयवासी विभिन्न प्रजातिका फूल रोपेका छन् । 

सडक ढलानसँगै व्यवस्थित खानेपानी विस्तार, विद्युत् तथा टेलिफोनको तार व्यवस्थापनलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने टोकरी राख्नुका साथै जम्मा भएका फोहरलाई कम्पोष्ट मल बनाउने गरिएको छ । 

लामो समयदेखि खानेपानीको समस्या रहेको दिक्तेल बजारमा शहरी खानेपानी तथा सरसफाइ आयोजनाको कामसमेत तीव्रगतिमा अगाडि बढाइएको छ । आसपासका क्षेत्रका वडामा बसोबास गर्ने स्थानीय बासिन्दाको घरमा विस्तार गर्ने गरी सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा उक्त खानेपानी आयोजनाको काम शुरु गरिएको हो ।  

पन्ध्रवटा वडा कार्यालय रहेको सो नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन नगरपालिका र खानेपानी आयोजनाको संयुक्त लगानीमा फायरिङ गेटसमेत जडान गरिएको छ । अधिकांश जस्तापाताको छाना भएका घर रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिएको हो । 

आगलागीका कारण वर्षेनी करोडौँको क्षति हँुदै आएको दिक्तेल बजारमा आगामी दिनमा हुनसक्ने घटनालाई तुरुन्तै नियन्त्रण गर्न १०० मिटरको फरकमा फायरिङ गेट राखिएको नगरप्रमुख रिजालले बताउनुभयो । “दिक्तेल बजारमा अहिले शहरी खानेपानी आयोजनाको काम तीव्रगतिमा सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन खानेपानी आयोजनाको पाइपमा फायरिङ गेट जडान गरेर आगलागीका घटनालाई सहजै नियन्त्रण गर्ने योजना बनाएका हौँ ।”

तीन वर्षभित्र सफा, सुन्दर र व्यवस्थित नगर बनाउने लक्ष्यसहित सबै समस्यालाई समाधान गरेर भौतिक निर्माणका कामलाई अगाडि बढाइएको नगरप्रमुख रिजालले बताउनुभएको छ । “पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित नगर बनाउन स्थानीय बासिन्दासमेत कम्मर कसेर लागी परेका छन्”, उहाँले भन्नुभयो, “नगरबासीको साथ र सहयोगका कारण हामीले लिएको लक्ष्य हाँसिल गर्न सकिनेमा आशावादी बनेका छौँ ।”

यातायात सञ्चालन भएको १३ वर्षसम्म धुलाम्मे अवस्थामै रहेको दिक्तेल बजारको सडक यसअघि पनि पटक÷पटक ढलानको प्रयास गरिएको थियो । बजार क्षेत्रकै केही स्थानीय बासिन्दाको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो । 

पछिल्लो समय जनप्रतिनिधि निर्वाचित भएर आएसँगै नगरपालिकाको भौतिक विकासले गति लिएको छ । जिल्लाको दश स्थानीय तहको तुलनामा अन्य स्थानीय तहभन्दा भौतिक पूर्वाधार निर्माणमा यो नगरपालिका अगाडि देखिएको छ ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो