२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै

१३ आश्विन २०७७, मंगलवार ०६:४३

किरण पौड्याल। असोज १३, इलाम। झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ । 

चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको सङ्ख्या पनि बढ्दो छ । कृषिको महत्वपूर्ण हिस्सा भएकाले चियामा लगानीसँगै आम्दानी पनि बढ्दो नै छ । सरकारी र निजी तवरबाट चिया उत्पादन र बजारलाई प्राथमिकता दिइए पनि कृषि क्षेत्रको यस महत्वपूर्ण विषयका शैक्षिक तथा दक्ष जनशक्ति भने उत्पादन गर्न सकिएको छैन ।

नेपालमा चिया विषयको पठनपाठन नहुँदा उच्च अध्ययनका लागि अहिले भारत वा तेस्रो मुलुकमा जानुपर्ने बाध्यता छ । त्यस्तै यस विषयको पठनपाठनका लागि शिक्षक पनि विदेशबाटै भित्र्याउनुपर्ने अवस्था छ । नेपालमा चियाको अध्ययन अध्यापन शुरु भए पनि दीर्घकालीन नहुनाले यस्ता समस्या आएका हुन् । 

हाल नेपालको चिया क्षेत्रमा प्रमाणपत्रधारी प्राविधिक निकै थोरै छन् । त्यसमा पनि विदेशमा पढेर आएका नै धेरै छन् । नेपालमा पढाइ नहुने भएपछि एकातिर विदेशमा अध्ययन गर्न जानुपर्ने बाध्यता छ भने अर्कातिर जस्तोसुकै भए पनि यहीँका जनशक्तिलाई नै काममा लगाउनुपर्ने बाध्यता छ । राज्यको आयस्रोतको महत्वपूर्ण हिस्सा ओगट्ने चियामा प्रमाणपत्रधारी शैक्षिक जनशक्ति, विशेषज्ञ वा प्राविधिक नहुनु दुःखद रहेको नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनाली बताउनुहुन्छ । 

“निजी क्षेत्रले मात्रै धान्नुपर्ने र सरकारको उपस्थिति कम भएकाले पठनपाठन अगाडि नबढेको हो”, मैनालीले भन्नुभयो, “गुणस्तरीय चिया उत्पादनका लागि त दक्ष जनशक्तिकै खाँचो पर्छ । हामी त्यही काममा चुकेका छौँ ।”

नेपालमा चियासम्बन्धी विषयमा पठनपाठन शुरु नभएको भने होइन । पाँच वर्षअघि झापाको मेची बहुमुखी क्याम्पसमा विज्ञान सङ्कायको स्नातक तहमा  अध्ययन शुरु भएको थियो । तर क्याम्पसका आफ्नै विविध समस्याका कारण अध्ययन तीन वर्षभन्दा लामो समयसम्म टिक्न सकेन । 

शुरुमा २४ जनाको कोटामा २४ विद्यार्थीले अध्ययन गरेकामा दोस्रो वर्ष सोही कोटामा १६ जना मात्र विद्यार्थी भर्ना भए । यस्तै तेस्रो वर्ष छजना विद्यार्थी सहभागी भए भने चौथो वर्षदेखि विद्यार्थी नहुँदा यस विषयको पढाइ नै हुन छाड्यो । “पहिले पढाइ राम्ररी भइरहेकै थियो तर बीचमा पाठ्यक्रम परिवर्तन गर्नुप¥यो, यसले गर्दा पनि समस्या भयो ।”

क्याम्पसका पूर्वप्रमुख कमल गुरागाईंले भन्नुभयो, “यो सबै रकम विद्यार्थीबाटै उठाउनुपर्ने भएकाले खर्चिलो थियो, त्यसैले विद्यार्थी आउन छाडे ।” पहिलो क्याम्पसमा बिटिटिएम (ब्याचलर्स इन टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट) विषय पढाइ हुन्थ्यो तर पछि त्यसलाई परिमार्जन गरेर बिएसी टी (ब्याचलर्स अफ साइन्स टी) बनाइएको थियो । 

“पहिले विज्ञान सङ्काय पढेका सबै विद्यार्थीले पढ्न पाउँथे तर पाठ्यक्रम परिवर्तन गरेपछि बायोलोजी पढेकाले मात्र पढ्नु पर्ने भयो”, पूर्वक्याम्पस प्रमुख गुरागाईंले भन्नुभयो ।  चियाको अध्ययन बारेमा शिक्षा नीतिमै स्पष्ट व्यवस्था नभएकाले विद्यार्थीले पढ्न छाडेको पूर्वप्रमुख गुरागाईंको भनाइ छ । “चियाका बारेमा पढ्दा पनि प्रभावकारी नहुने देखेकाले पढाइ हुन छाड्यो”, गुरागाईंले भन्नुभयो, “प्राविधिक विषय भएकाले कम रकमले यो विषय पढ्नै गाह्रो छ, खर्चिलो छ ।”

स्पष्ट शिक्षा नीति र खर्च बढी लाग्ने भएकाले चियामा अध्ययन हुन नसकेको हो । यही कारण अहिले पनि चिया क्षेत्रमा अब्बल प्राविधिकको अभाव छ । चियाका बारेमा अध्ययन नभएकै कारण नेपाली चिया गुणस्तरहीन हुनसक्ने चिया विशेषज्ञ चन्द्रभुषण सुब्बाको भनाइ छ । 

दक्ष जनशक्ति नभएकाले जानकारी नहुँदा चियाको गुणस्तर नसुध्रिने समेत सुब्बाको दाबी छ । “अध्ययन गरेको जनशक्ति नै छ । यही भएको जनशक्तिले काम गर्दा चियाको गुणस्तरको मात्रामा थाहा नहुन पनि सक्छ”, सुब्बाले भन्नुभयो, “चियाको पढाइ गुणस्तरीय हुन सैद्धान्तिकभन्दा व्यावहारिक पक्षलाई ध्यान दिनुपर्छ । हाम्रोमा पढाइ भए पनि त्यतातिर ध्यान नदिँदा अब्बल विद्यार्थी नहुन सक्छन् ।” सुब्बाका अनुसार अहिले पनि नेपालमा प्राविधिक एवं विशेषज्ञ ल्याउँदा विदेशमै सम्पर्क गर्नुपर्ने छ । 

विशेषगरी चियाको अर्गानिक प्रमाणीकरणमा आवश्यक पर्ने अनुसन्धानकर्ता (इन्स्पेक्टर) त नेपालमा दुईदेखि तीनजना मात्र छन् । इन्स्पेक्टर ल्याउन र अर्गानीकरण गर्न खर्चिलो हुने भएकाले धेरै उद्योग अहिले पनि अर्गानीकरणमा गएका छैनन् । “नेपालमा यो विषयमा पढेका दक्षशक्ति नभएकाले विदेशबाट ल्याउनुपर्छ खर्चिलो हुन्छ । त्यसैले धेरै उद्योगले अर्गानिक सर्टिफिकेट लिएका छैनन् ।” सुब्बाका अनुसार अहिले पनि नेपालमा पुरानो तवरले नै चियाको काम गरिने भएकाले सम्बन्धित क्षेत्रले चियाको पठनपाठन अध्ययनमा चासो नदेखाएको हो । नेपालको चिया क्षेत्र (विशेषगरी चिया उद्योग) मा कामकाजी सोचमात्र भएकाले दीर्घकालीन सोच नभएको सुब्बाको भनाइ छ ।

चिया उद्योगी र सरकारी पक्षले चासो नदेखाएकाले पनि यो क्षेत्र अहिले पनि गुणस्तरहीन छ । यही कारण अबका वर्षमा पनि चियामा दक्ष जनशक्ति र अनुसन्धानकर्ता भेट्न मुस्किल पर्ने देखिन्छ । समस्यालाई दृष्टिगत गर्दै इलामको सूर्योदय नगरपालिकाले पठनपाठन गराउने भने पनि अझै पनि अघि बढ्न सकेको छैन ।

त्यसमा पनि विद्यालयस्तर (१–८) मात्र नगरमा पढाइ हुने भएकाले प्राविधिक बन्न चाहिँ सम्भव देखिँदैन । “हामीले स्थानीय पाठ्यक्रमबाट चियाको अध्ययन त गराउने हो तर पहिलो पटक कक्षा ६ सम्म र त्यसपछि वर्षैपिच्छे पढाउँदै कक्षा ८ सम्मको मात्र हो”, नगरपालिकाका चिया सचिवालय संयोजक देवेन्द्र शर्माले भन्नुभयो, “यो पढाइ चियाको आधारभूतमात्र जानकारी हो । प्राविधिक र दक्ष जनशक्ति जन्माउन चाहिँ हाम्रो पढाइ अपुग नै हुन्छ ।” 

जिल्लामात्र होइन । देशका कुनै पनि विद्यालय वा क्याम्पसमा चियाको पठनपाठन शुरु भएको छैन । यही कारण एकातिर चियाको विषयमा पढ्न चाहने विद्यार्थी पनि पढ्नबाट वञ्चित छन् भने अर्कातिर चिया क्षेत्रमा दक्ष जनशक्ति अभाव छ । दक्ष जनशक्ति अभाव भएकाले गर्दा नै चिया पेशाका विषयमा विभिन्न क्षेत्रमा प्रभावकारी काम हुन नसकेको चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालको भनाइ छ । 

खनालका अनुसार दक्षशक्ति नभएकै कारण अहिले पनि चिया क्षेत्रले अपेक्षाकृत फड्को मार्न सकेको छैन । “हाम्रोमा चियाको शिक्षा व्यवस्था नै छैन भने भएको पनि दीर्घकालीन हुन सकेन”, प्रवक्ता खनालले भन्नुभयो, “हाम्रो चिया नीति प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नु पनि चियामा दक्ष जनशक्ति नभएको प्रमुख कारण हो ।”

नेपाली चियाको मुख्य बजार भारत वा तेस्रो मुलुक हो । नेपालबाट जाने अधिकांश चिया भारत भएरै तेस्रो मुलुक जान्छ । यसैले पनि समयसमयमा भारतले नेपाली चियालाई समस्या दिइरहन्छ । नेपाली चियामा गुणस्तर भए पनि तेस्रो मुलुकसम्म पहुँच नपुग्दा सकस पर्ने गरेको छ । यसैले पनि चिया क्षेत्रमा दक्ष जनशक्तिको खाँचो पर्दछ । तर अध्ययन नै नभएका कारण सधैँ समस्या पर्ने गरेको नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीको दुःखेसो छ । उहाँका अनुसार नेपालमा चियाका बारेमा अध्ययन र चासो नहुँदा चिया क्षेत्र पछि परेको हो । 

“सरकारले रकम लगानी गरेर भए पनि स्वदेशमै दक्ष जनशक्ति उत्पादन नगरेसम्म यस्ता समस्या हल हुँदैन”, मैनाली भन्नुभयो, “विद्यार्थीलाई पढाउँदा पनि उद्योगमैत्री वा नेपालको चियाका बारेमा पढाउनुपर्छ ।” विगतमा चियाको पठनपाठन भए पनि सैद्धान्तिक ज्ञान बढी दिइएकाले खासै प्रभावकारी नदेखिएको मैनालीको भनाइ छ । 

कृषिका बारेमा पठनपाठन गराइने क्याम्पसमा पनि अहिले चियाको पठनपाठन भएको छैन । नेपालमा यस विषयका शिक्षक नभएकाले पनि कृषिसम्बन्धी क्याम्पसले चासो नदेखाएको प्रस्ट बुझिन्छ । विगतमा चिया विषयका शिक्षक भारतबाट ल्याउनु परेको थियो । बाहिरबाट शिक्षक ल्याउँदा खर्चिलो र झन्झटिलो भएर पनि अध्ययन अघि नबढेको मेची बहुमुखी क्याम्पस झापाका पूर्वविद्यार्थी अशोक खतिवडाको भनाइ छ । आफू पढ्न इलाम छाडेर झापा गए पनि पढाइ नभएकाले विज्ञान सङ्कायकै अन्य विषय पढेको खतिवडाको भनाइ छ । “चिया पनि मुख्यगरी दुई प्रकारको (अर्थोडक्स र सिटिसी) हुँदो रहेछ”, अशोकले भन्नुभयो, “कुन चियाका बारेमा पढाउने अन्योल हुँदा पढाउनै सकस परेको थियो ।”

नेपालमा दक्ष जनशक्तिको अभाव भनिए पनि कति जनशक्ति चाहिन्छ भन्ने तथ्याङ्क भने छैन । नेपालको चियामैत्री दक्ष जनशक्ति उपलब्ध भए प्रत्येक उद्योगले एक÷एकजना प्राविधिक खटाउने चिया सरोकारवालाको भनाइ छ ।

त्यसमा पनि सरकारीस्तरबाट ५०÷५० प्रतिशत प्राविधिकको खर्च धानेको खण्डमा धेरै जनशक्तिले रोजगार पाउने नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीको भनाइ छ । “अहिलै पनि ५० भन्दा बढी दक्ष जनशक्ति त यो क्षेत्रमा आवश्यक छ”, मैनालीले भन्नुभयो, “जनशक्ति नभएकाले प्राविधिक ज्ञान नभएकालाई नै काममा खटाउनु परेको छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य