११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–बुटवल सडक विस्तारका काम पुनः ठप्प

१० चैत्र २०७७, मंगलवार ०६:१२

चैत १०, चितवन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ । शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै निर्माण ठप्प पारिएको हो । 

आयोजनाले पारिश्रमिक दिन ढिलो गरेको जनाउँदै शुक्रबारदेखि नै मजदूरहरु निर्माण स्थलमा जान छोडेपछि सडक विस्तार ठप्प भएको हो । नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले मजदूर सडक निर्माणमा नआउँदा काम ठप्प भएको जानकारी दिनुभयो । आयोजनाको खण्ड (क) को विभिन्न स्थानमा करीब ४०० मजदूरले सडक विस्तारमा संम्लग्न थिए । 

सो सडक विस्तार आयोजनाको काम मजदूरले दोस्रोपटक बन्द गरेका हुन् । यसअघि केही महिनापहिले ठेकेदार कम्पनीले श्रम कानूनअनुसार व्यवहार नगरेको भन्दै उनीहरुले हडताल गर्दा सडक विस्तारको काम प्रभावित बनेको थियो ।  एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो । 

सरकारका तर्फबाट निर्माण कम्पनीलाई कामअनुसारको भुक्तानी नरोकेको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । सडक विस्तारको काम निकै कम भएकाले ठेकेदारले धेरै भुक्तानी दाबी गर्न नपाएको आयोजनाले जनाएको छ ।  निर्माण कम्पनीको आन्तरिक समस्या, साइट क्लियरेन्सका लागि स्वीकृतिलगायतका कारण निर्माण थालेको दुई वर्षमा चार प्रतिशत मात्रै भौतिक प्रगति गरेका कारण सोहीअनुसारको भुक्तानी गरिएको उहाँले बताउनुभयो ।

ठेक्का सम्झौता भएर २०७५ साल चैत ८ देखि सो आयोजनाको निर्माण शुरुआत भएको थियो ।  आयोजनाको काम करीब ९६ प्रतिशत बाँकी हुँदा ठेक्का सम्झौताअनुसार अबको १८ महिनाभित्र निर्माणको काम पूरा गर्नुपर्ने हुन्छ । सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउँदा गरिएको अनुमानभन्दा करीब २० प्रतिशत कममा ठेक्का हालेपछि आयोजनाको काम चाइना स्टेट इन्जिनीयरिङ कम्पनीले पाएको थियो । हतारहतार काम थालेको घोषणा गरिएको आयोजनाको साइट क्लियर नै नगरी ठेक्का निकालिएको बताइएको छ  । 

सडक विस्तारका क्रममा बाटोबाट उत्तरतर्फ पर्ने रूख कटानको काम भए पनि दक्षिणतर्फको रूख कटानमा समस्या देखिएको छ । दक्षिणतर्फ मध्यवर्ती क्षेत्रको वन पर्ने भएकाले रूख कटानमा समस्या उत्पन्न भएको आयोजनाका सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिनुभयो  । रूख कटानको स्वीकृति लिने सबै प्रक्रिया भइसकेको र स्वीकृति पाएपछि दक्षिणतर्फको रूख कटानको काम पनि अगाडि बढ्ने उहाँले बताउनुभयो । 

रूख कटानभन्दा पनि सडक विस्तारका क्रममा सार्नुपर्ने विद्युत्का पोलहरु समस्याका रुपमा देखापरेको आयोजनाले जनाएको छ । विद्युत्का पोल सार्ने काम निर्माण कम्पनीकै भए पनि नमानेपछि पटकपटक परामर्शदातासमेत राखेर बैठक गरेपछि निर्माण कम्पनी विद्युत्का पोलहरु सार्न सहमत भएको उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको सडक विस्तारका क्रममा पर्ने करीब दुई हजार ४०० पोल सार्न करीब रु ३४ करोड दिने जनाएको थियो । 

काम गर्ने स्थानको पोल सार्दै काम गर्न सहज हुने भन्दै निर्माण कम्पनीलाई नै विद्युत्को पोल सार्न दिने सहमति भए पनि निर्माण कम्पनीले उक्त सहमतिअनुसार पोल सार्न नसक्ने जवाफ दिएको आयोजनका एक कर्मचारीले बताउनुभयो । उक्त रकममा पोल सार्दा आफूहरुलाई घाटा पर्ने भन्दै पोल सार्ने काम गर्न इन्कार गरेको आयोजनाले जनाएको छ । आयोजनाको ११५ किलोमिटरको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । 

गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटरलाई खण्ड (क) तथा दाउन्ने–बुटवल खण्डको ५० किलोमिटरलाई खण्ड (ख) बनाएर निर्माणको काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार भएको आयोजनाको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी रहने आयोजना प्रमुख दिष्टीले जानकारी दिनुभयो । 

अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनका बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ । यसमा फूल र साना बिरुवाहरु रोपेर सडकलाई सुन्दर बनाइने ढाँचामा छ । 

साढे तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्नेगरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । सडक विस्तारपछि पनि निर्माण कम्पनीले पाँच वर्षसम्म मर्मतसम्भारको काम गर्नुपर्ने सर्त छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह