२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो चमेलिया निर्माणको काम धमाधम

२५ बैशाख २०७८, शनिबार ०७:०९

नरेन्द्रसिह कार्की | वैशाख २५, दार्चुला | मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने गरी जलविद्युत् निर्माणको काम भइरहेको हो ।

“विद्युत्को ड्याम, पावर हाउसलगायत क्षेत्रमा काम भइरहेको छ, कोरोनाको बेला पनि काम रोकिने अवस्था छैन”, माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका आयोजना म्यानेजर धर्मराज उपाध्यायले भन्नुभयो, “अहिले मजदूरहरु सबै यहीँ खटिएका छन्, भएकै मजदूरको प्रयोग गरिन्छ, आयोजनाका लागि ठूला उपकरण पनि पुर्याइएको छ, आयोजनालाई समयमै सक्नका लागि सबै लागिपरेका छौँ, ३० प्रतिशत हाराहारीमा आयोजनाको काम सकिएको छ ।”

आयोजनाको बाँध क्षेत्रमा संरचना निर्माणको काम चलिरहेको छ । चमेलिया नदी फर्काउने, बालुवा थिग्राउने र पोखरीको काम अहिले चालू छ । पाइप जडानका लागि काम भइरहेको बताइएको छ । नहर खन्ने कामसँगै अघि बढाइएको छ । “आयोजनामा सबै संरचना निर्माणको काम धमाधम हुँदैछ”, उपाध्यया भन्नुहुन्छ, “अहिलेको अवस्थामा कोरोनाले धेरै असर पुर्याउन सकेन भने समयमै काम सक्छौँ, ४० मेगावाटको आयोजना भए पनि यसमा सुरुङको प्रयोग गरिने छैन ।” 

चमेलिया नदीको पानी विद्युत्गृहमा खसाल्न ३.३ मिटर व्यास भएको ६.३ किलोमिटर लामो ‘लो प्रेसर’ पाइप राखिने छ । पाता आयात गरेर आयोजनास्थलमै पाइप तयार गरेर जडान शुरु गरिएको छ । यसमा पनि मेकानिकल इन्जिनीयर र मजदूर खटिएका छन् । मेकानिकल स्थलमा अहिले पाता जडानको काम तीव्र गतिमा भइरहेको उपाध्याय बताउनुहुन्छ । आयोजना निर्माणमा खटिएका कर्मचारी र मजदूरको सक्रियता बढेको छ । 

उहाँले विद्युत्गृहको संरचना निर्माणका लागि जग खनेर ढलान शुरु हुने तयारी छ । आयोजना निर्माणको ठेक्का चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभी तथा लटीनाथ कन्स्ट्रक्शन कम्पनीलाई दिइएको छ । चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभीले बाँध क्षेत्रमा काम गरिरहेको छ । लटीनाथ कन्स्ट्रक्शनले विद्युत् गृहमा काम गरिरहेको छ । यो आयोजना २०७९ साल फागुनबाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।

निर्माणमा स्थानीयवासीको अवरोध नहुँदा काम गर्न सहज भएको आयोजनाले जनाएको छ । “हामीले सबैको सहयोग पाएका छौँ”, अपी पावर कम्पनीका निर्देशक इन्द्रमणि त्रितालले भन्नुभयोे, “सडकको पहुँच पुगेकाले पनि काम गर्न सहज भएको छ, अहिलेसम्मको कामको प्रगति हेर्दा लक्ष्य अघि नै सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।”

आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी बलाँच सबस्टेशनमा जोडिने छ । आयोजनाको विद्युत् गृहदेखि सबस्टेशनसम्मको दूरी १६ किलोमिटर छ । सबस्टेशनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनका ५७ खम्बा कम्पनीले नै निर्माण गर्दैछ । खम्बा निर्माणका लागि पनि उपकरण ढुवानी भइरहेको आयोजनाले जनाएको छ । प्याराडाइज बिल्डर कम्पनीले प्रसारण लाइनको काम गरिरहेको छ । 

यो आयोजना सम्पन्न गर्न रु सात अर्ब ४० करोड लागत अनुमान गरिएको छ । आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य, नेपाल, नेपाल बङ्गालादेश र सेन्चुरी बैंकले रु पाँच अर्ब १८ करोड लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रतिशत हो । रु दुई अर्ब २२ करोड (३० प्रतिशत) स्वपूँजी लगानी छ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिँउदका छ महिना र बाँकी ७० प्रतिशत वर्षाका छ महिनामा उत्पादन हुनेछ । कम्पनीले आयोजनाको विद्युत् बिक्रीबाट पहिलो वर्ष रु एक अर्ब ६२ करोड आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष तीन प्रतिशतका दरले आठ वर्षसम्म मूल्य वृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।

माथिल्लो चमेलिया अपी पावरले निर्माण गरिरहेको तेस्रो जलविद्युत् आयोजना हो । कम्पनीले यसअघि नै दार्चुलाको शैल्यशिखरको देथलामा साढे आठ मेगावाट क्षमताका नौगाड र अपर नौगाड साढे आठ मेगावाट क्षमताको विद्युत् उत्पादन गरेको छ । दुई आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’