१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने

८ श्रावण २०७८, शुक्रबार १०:५५

हेमन्त केसी । साउन ८, जाजरकोट (रासस)। जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुग्नुभयो । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १०० दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त रु ५० हजारको चेक भुक्तानीका लागि उहाँ सदरमुकाम आउनुभएको हो । आदर्श मावि लुहादहको घेराबारको काम गरेबापत गाउँपालिकाले उहाँलाई रु ५० हजारको चेक दिएको थियो ।

चेक लिएर आएको र बैंकमा लाइन कुर्न थालेको १४ दिन बितिसकेको छ तर काम भने ज्यूँकात्यूँ रहेको दमाईंले भन्नुभयो । लाइन बस्दाबस्दा दिक्क लागेर आएको उहाँको भनाइ छ । “सदरमुकाम पहिलो पटक आएको हुँ, यहाँ कसैलाई चिन्दिन, काम पनि हँुदैन, के अचम्म हो यस्तो ? होटलको बास बस्दा आजसम्ममा रु सात हजार ८०० खर्च भइसकेको छ ।”

आउँदा दुई हजार ५०० गाडी भाडा खर्च गर्नुभएकी दमाईंको जाँदा पनि सोही रकम खर्च हुनेछ । निम्न आर्थिक अवस्था रहकी दमाइको घरमा बिरामी श्रीमान् र छ वटा छोराछोरी छन् । घरको सबै काम उहाँकै काँधमा छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाएको रु ५० हजार सदमुकामको होटल बास र आउने जानेमै सकिने हो कि भन्ने चिन्ताले पिरोलिएको छ”, उहाँले भन्नुभयो, “बिहान ५ बजेदेखि लाइन बसेको बेलुकी ४ बजेसम्म बल्लबल्ल पालो आउँछ । आएको पालोमा पनि कहिले इन्टरनेट चलेन, त कहिले रकम नै छैन भन्दै रकम नदिएर भोलि आउन सल्लाह दिँदै दिन बितिरहेका छन् ।” 

उहाँजस्तै जुनिचाँदे गाउँपालिका–४ का शङ्कर खड्का सदरमुकाम १४ दिन बिताएर बल्लबल्ल रकम भुक्तानी लिएको बताउनुभयो । सङ्घीय खानेपानी आयोजनाअन्तर्गत काम गरेको पारिश्रमिक लिन आएका ६८ वर्षीय खड्काले भुक्तानी रकमको आधा बजेट होटल र यातायातमा खर्च भएको पीडा पोख्नुभयो । उहाँसहित एकै योजनाका तीन जना सदरमुकाम आउँदा र धेरै दिन बैंकले झुलाउँदा धेरै खर्च भएको हो । 

जुनिचाँदे –१ का नरसिंह दमाईं जनता आवासअन्तर्गत काम गरेको पारिश्रमिकबापत रकम लिन आएको एक हप्तापछि आधा रकम सदरमुकाममै खर्च भएको बताउनुभयो । निकासा भएको रकमको आधा सदरमुकाममै सकिँदा अब ऋण कसरी तिर्ने भन्ने चिन्ता दमाईंको छ । रु ४७ हजार ५०० रकम लिन उहाँ सदरमुकाम आउँदा भाडा, बास र नास्तामा धेरै खर्च भएको थियो । बैंक र कार्यालयमा काम ढिला हुँदा यसरी समस्या भएको थियो । 

उहाँहरु जस्तै जुनिचाँदे गाउँपालिकाबाट बैंकको काम लिएर सदरमुकाम आउने अधिकांशको काम नहुँदा र भए पनि हप्ता दिन बढी बस्नु पर्दा पारिश्रमिकबापत पाउने रकमको आधा सकिने गरेको हो । गाउँमा बैंक नहुँदा यहाँका सर्वसाधारण सदरमुकामस्थित कृषि विकास बैंकमा आउने गरेका छन् । गाउँपालिकाको केन्द्रका विषयमा विवाद भएपछि जुनिचाँदेमा बैंक स्थापना हुन सकेको छैन । 

गाउँपालिकाको दुई तिहाइको निर्णयानुसार लुहादहमा २०७५ वैशाख ३१ गते केन्द्र तोक्ने निर्णय भएको थियो । निर्णय भएको केही समयपछि तीन जना सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएको भन्दै प्रदेशले सङ्घीय सरकारलाई गाउँपालिका तोक्ने निर्णयमा गणपूरक सङ्ख्या नपुगेको भन्दै कार्यान्वयन गर्न नसकिने भनी पत्राचार गरेपछि अहिलेसम्म जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्रको टुङ्गो लागेको छैन । केन्द्रको टुङ्गो नलागेका कारण गाउँमा बैंक जान नसकेको बताइएको छ । 

गाउँमा बैंक नजाँदा सबै काम सदरमुकाम आएर गर्नुपर्दा सर्वसाधारण हैरान हुँदै आएका छन् । त्यस्तै सदरमुकाममा सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकको सङ्ख्य बढेका कारण बैंकमा कामको चाप बढेको हो । कृषि विकास बैंकका प्रमुख सन्तोष योगीले नेपाल बैंकबाट रकम ल्याउने गरेको र त्यहाँ नै रकम नभएपछि समस्य भएको बताउनुभयो । बिहीबारदेखि पर्याप्त बजेट भएकाले समस्य नभएको तर ग्राहक सङ्ख्या बढी भएकाले काममा ढिला भएको बताउनुभयो । 

सबै काम सदरमुकाममै गर्नुपर्दा आफूहरु सङ्घीयताको अनुभूति गर्न नपाएको स्थानीयवासीको भनाइ छ । गाउँमै सिंहदरवार आएको भन्ने नेताहरु यसप्रति संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह