२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाइने

२३ भाद्र २०७८, बुधबार ०८:४६

सञ्चिता घिमिरे । भदौ २३, काठमाडौँ (रासस)।  यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो । 

 फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “दशैँसम्ममा दुई, तीन लाख परीक्षार्थी सहभागी भएमा यसपछि खुलाइनेछ ।” फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झण्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन बाँकी छ । विभागले अनुमतिपत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन । अहिले विभागसँग झण्डै दुई हजार कार्ड मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । 

विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रुपमा रोजगारीमा जानेका लागि मात्रै अनुमतिपत्र दिने गरेको छ । उहाँले भन्नुभयो, “सर्वसाधरणका लागि छपाइ हुँदैन, प्रवेशाज्ञा र टिकट देखाएपछि अत्यावश्यक हेरेर मात्रै छपाइ हुन्छ ।” केही महिनाभित्रमा कार्ड नआएमा अत्यावश्यक कामका लागिसमेत अनुमतिपत्र दिन गाह्रो पर्नसक्ने विभागका प्रवक्ता डा भुसालले बताउनुभयो । दशैँसम्ममा कार्ड आइपुगेमा समस्या नहुने बताइएको छ । 

परीक्षा पास भएको लामो समयसम्म पनि सेवाग्राहीले अनुमतिपत्र नपाएपछि अहिले यातायात कार्यालयले अस्थायी प्रकृतिको अनुमतिपत्र वितरण सुरुआत गरेको छ । कोरोना नियन्त्रणका लागि केही समय पहिलेसम्म निषेधाज्ञा भएकामा त्यो हटेसँगै यातायात कार्यालयले परीक्षा पास गरेकालाई परीक्षणकालीन अनुमतिपत्र दिन थालेका हुन् । यो अनुमतिपत्र कार्यालयले आफैँ छापेर एक वर्षका लागि दिने गरेको प्रवक्ता डा भुसालले बताउनुभयो ।  यसका लागि विभागले प्राविधिकलाई तालिम दिएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले छाप्ने उपकरण (प्रिन्टर) किनेको छ । विभागले गत १० गते गरेको निर्णयका आधारमा कार्यालयले आवेदन दिएका सेवाग्राहीको परीक्षा सञ्चालन गरिरहेका छन् । काठमाडौँ उपत्यकामा रहेका चारवटै कार्यालयले सेवा सुरु गरिसकेका छन् । उपत्यका बाहिरका कतिपय जिल्लाले सुरु गरिसकेका छन् भने केहीले सुरु गर्दैछन् ।  

परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ । ऐनमा भएको व्यवस्था लामो समयसम्म कार्यान्वयन हुन नसकेकामा अहिले भइरहेको छ । सेवाग्राहीलाई उसले पाउने सङ्केत नम्वर (क्यूआर) नम्बरसहितको अनुमतिपत्र दिइएको हो । यसले गर्दा सेवाग्राहीले परीक्षा पास गरेको लामो समयसम्म भौचर लिएर हिँड्नुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो व्यवस्थाबाट सेवाग्राही र ट्राफिक प्रहरीलगायतलाई सजिलो भएको छ ।”

ऐनमा नै व्यवस्था भए पनि परीक्षणकालीन अनुमतिपत्रलाई निरन्तरता दिने नदिने भन्नेमा विभाग नै स्पष्ट छैन । विभागले फ्रान्सेली कम्पनीमार्फत खरिद गरेको १४ लाख कार्ड आएपछि यसलाई निरन्तरता दिने कि पास गर्नासाथ ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने भन्नेमा छलफल भइरहेको विभागले जनाएको छ । 

ऐनमा परीक्षणकालीन अनुमतिपत्र पाएको अवधि एक वर्षभित्र दुर्घटना नगरेमा स्थायी दिने उल्लेख छ । उहाँले भन्नुभयो, “यो कार्ड शुरु गरेपछि सेवाग्राहीलाई मैले पास गरेँ मसँग लाइसेन्स छ भन्ने अनुभूति हुने रहेछ ।”

अहिले परीक्षणकालीन अनुमतिपत्र पाउँदा त्योसमेत नै पाँच वर्षको हुनेछ । एउटा प्रकारको सवारीको अनुमतिपत्र लिँदा सेवाग्राहीले अर्काे प्रकार थप्दा पहिलेको मिति कायम हुन्छ । त्यसरी अहिले पनि परीक्षणकालीन अनुमतिपत्रसमेत गरी पाँच वर्ष रहेको छ । 

विभागले खरिद गरेको कार्ड आपूर्तिमा ढिलाइ भइरहँदा सेवाग्राही हैरान छन् । फ्रान्सेली कम्पनीले कार्ड ल्याउनुपर्ने भए पनि कार्ड ल्याउनुपर्ने एउटा र सिस्टम अर्काे कम्पनीको भएकाले समस्या आएको प्रवक्ता डा भुसालले बताउनुभयो । दुई कम्पनीलाई एक ठाउँमा राखेर समस्या के हो पत्ता लगाएर समाधान गर्न भनिएको छ । उनीहरुले धेरै महिना लगाएर समस्या पत्ता लगाएका छन् । पुरानो कम्पनीको सिस्टमले ल्याएको ‘इनपुट’ कार्डमा छापिन समय लागेको बताइएको छ । फ्रान्सेली कम्पनीले पछिल्लो पटक पठाएको कार्ड यहाँ परीक्षण गर्दा पुरानो प्रणालीमा छापिनसक्ने देखिएको विभागले जनाएको छ । 

‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले पनि केही कार्ड पठाएपछि त्यसको स्थायित्व परीक्षण गर्छौं भनेको उहाँले बताउनुभयो । कार्ड लगातार छापिँदा कुनै समस्या आउँछ कि आउँदैन हेर्नका लागि कार्ड अहिले भारत पठाइएको छ । राम्रो भयो भने पनि स्वीकार गर्ने र त्यसपछि मात्रै कार्ड आउन थाल्ने प्रवक्ता डा भुसालले बताउनुभयो । उहाँका अनुसार कार्ड आएपछि दुई/तीन सिफ्टमा छापेर पनि सकेसम्म चाँडो सेवाग्राहीको हातमा अनुमतिपत्र पुर्याइनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप