माघ ६, काठमाडौँ | सुनको भाउ बढेर तोलाकाे एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज शुक्रवार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुनको भाउ तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो ।
यसअघि पोहोर फागुन २५ गते सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो । त्यति बेला सुनकाे भाउ बढेर तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता भाउ घट्न थाले पनि फेरि सुनको भाउ बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि सुन महँगो भएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।