३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना

२८ माघ २०७९, शनिबार ०५:४९

माघ २८, ढोरपाटन | धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू–भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ । 

तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौंदेखि पर्यटक पर्खी रहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्र्याउन सकेको छैन । 

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न ‘मिनी’ जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गर्ने भएको छ । यही गाउँ हुँदै बग्ने तमानखोलालाई थुनेर गाउँपालिकाले हाइड्रोपावर निर्माण गर्न दुई वर्षदेखि अध्ययन गरेको  छ ।  

गाउँपालिकाको गौरवको यो परियोजना सरकारी तथा निजी क्षेत्रको सहकार्यमा हुने छ । तमानखोला थुनेर हाइड्रोपावर मात्रै बन्ने छैन । यहाँ ‘फिस फार्म’, ‘-याफ्टिङ’ लगायत पर्यटक आकर्षित गर्ने अन्य संरचना बन्ने छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर तमान गाउँलाई ‘पर्यटकीय गाउँ’ बनाउन र यहाँका नागरिकको जीवनस्तर उकास्न यो योजना सुरु गर्न लागेको बताउनुहुन्छ । “हाइड्रोपावरसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने छ, यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ, योजनाको निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी काम हुने छ, परियोजना सरकार, निजी क्षेत्र र स्थानीय नागरिकको लगानीमा निर्माण हुनेछ”, उहाँ भन्नुहुन्छ ।

तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्छ । सरकारको रणनीतिक सडकअन्तर्गत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने सडकको केन्द्रमा यो गाउँ पर्छ । यो सडकलाई ‘धार्मिक पर्यटक सडक’को नामकरण गरेको र यहाँ धार्मिक पर्यटक बढी भित्र्याउने लक्ष्य लिइएको छ । उहाँ भन्नुहुन्छ, “यो गाउँ निकै केन्द्रमा पर्छ, अहिले आन्तरिक पर्यटक त आउँछन् तर एक÷दुई दिन राख्न सकिएको छैन, पर्यटक घुम्न बाँध बाँधेर ताल बन्छ, डुङ्गा सञ्चालन हुन्छ, फिस फार्म चल्छ्, वरपर रेष्टुराँ र आकर्षक पर्यटकीय संरचना निर्माण हुने छ ।”

गाउँपालिकाले पहिलो चरणको अध्ययन सकेर दोस्रो चरण सुरु गरेको छ । अहिले एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सी कोटेश्वरले दोस्रो चरणको अध्ययन गरिरहेको छ । खोला थुनेर जलाशययुक्त हाइड्रोपावर बनाउन रु ४० करोड र पर्यटकीय संरचनासहितको काम गर्न करिब रु ६० करोड लाग्ने एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सीका इन्जिनीयर नवीन घर्तीमगरले जानकारी दिनुभयो । इन्जिनियर घर्तीमगर भन्नुहुन्छ, “यो ठाउँ बाध बाँधेर हाइड्रो निर्माण गर्नका लागि उपयुक्त देखिएको छ, यहाँको भूगोलको अवस्था, बाध र पर्यटकीय संरचना कहाँ निर्माण गर्नेलगायतका विषयमा अध्ययन गरिरहेका छौँ ।”

यहाँबाट तीन सय ५० किलोवाटको विद्युत् उत्पादन हुने आँकलन गरिएको छ । यसलाई उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’को रुपमा लिइएको छ । गाउँपालिकाले रु १५ लाख खर्च गरेर पहिलो चरणको अध्ययन गरिरहेको छ । गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले जलाशययुक्त हाइड्रोपावर निर्माणपछि सिङ्गो तमानखोलाले मुहार फर्ने भन्दै यहाँका नागरिको जीवनस्तर बदलिने बताउनुहुन्छ । परम्परागत खेतीपाती र पशुपालनमा हुँदै आएको यहाँ हाइड्रोपावरले रोजगार सिर्जना गर्नुका साथै गाउँलेलाई व्यवसायसँग जोड्ने उपाध्यक्ष छन्त्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भौगोलिक हिसाबले पछि पर्दा यहाँका नागरिक पछाडि परेका छन्, अब विस्तारै सडक पनि राम्रो हुँदै छ, दैनिकीमा केही परिवर्तन आउँदै छ, यो परियोजना सम्पन्नपछि धेरैको जीवनस्तर बदलिने छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’