पछिल्लो नौ महिनामा म्यानपावरहरुले अशुले ७८ अर्व, एजेन्टहरु पनि मालामाल

Posted on: 04 May, 2023

अनिल अधिकारी । वैशाख २१, काठमाडौँ । नेपाली युवाहरुबाट बिभिन्न देशमा वैदेशिक रोजगारमा जान म्यानपावर कम्पनी तथा एजेन्टहरुले सरकारको नीति बिपरित अशुली गरिरहेका छन् । चालु आर्थिक बर्षको ९ महिनाको अवधिभरको वैदेशिक रोजगारमा जानेहरुबाट औशत तथ्यांक अनुसार झन्डै एक खर्वको अशुली भएको पाइएको छ । 

सरकारले फ्री भिसा फ्री टिकटको नीति लिएको आठ बर्ष बितिसक्दा पनि युवाहरुले वैदेशिक रोजगारमा जाँदा मनपरी रकम तिर्नुपर्ने बाध्यता छ । पछिल्लो नौ महिनाको अवधिमा म्यानपावर कम्पनीबाट मात्र वैदेशिक रोजगारमा जानेहरुको संख्या तीन लाख २२ हजार २९६ जना रहेको छ । म्यानपावरहरुले १२ हजार ३४२ जना युरोप लगायत देशहरुमा, १ लाख ८० हजार ५१ जना मलेसियामा र खाडी राष्ट्रहरुमा १ लाख २२ हजार ३११ जना पठाएको तथ्यांकमा छ । जसबाट औशतमा ७८ अर्ब भन्दा बढी रकम लिएको आंकलन गरिएको छ ।

त्यस्तै म्यानपावरको सहायो बिनै ३० हजारभन्दा बढी नेपालीहरुलाई बिभिन्न व्यक्तिले व्यक्तिगत तवरबाट रोजगारमा पठाएको बिभागको रेकर्डमा छ । 

पछिल्लो ९ महिनाको अवधिमा म्यानपावर कम्पनीहरुले सबैभन्दा बढी कुल रकम मलेसिया जाने युवाहरुबाट अशुली गरेका छन् । औशत तथ्यांकमा युरोप र युरोप पठाउँदा जतिकै अशुली हुने देशहरुमा पठाउन औशतमा प्रतिव्यक्ति ७ लाख अशुली हुने, मलेसिया रोजगारमा पठाउँदा प्रति व्यक्ति २ लाख ७० हजार र खाडीका ६ राष्ट्रमा पठाउँदा प्रतिव्यक्ति एक लाख ७० हजार अशुली हुने औशत आंकलन छ । यस मध्ये मलेसिया रोजगारमा केहि म्यानपावर कम्पनीले निशुल्क लागतमा पठाएको करिव सात हजार जनाको तथ्यांक समेत समावेश गरिएको छ । 

क्रोएसिया रोजगारको लागि म्यानपावर तथा व्यक्तिहरुले १० लाखसम्म अशुली गरेका छन् भने माल्टा ८ लाखसम्म, रोमानिया ७ लाखसम्म र साइप्रस ६ लाखसम्म अशुली हुने गरेको छ । खाडी मुलुककै रोजगारमा हुने अशुली पनि पद अनुसार फरक छ । युएईमा जाने सेक्युरिटी गार्डहरुले ६ लाखसम्म तिर्ने गरेका छन् । त्यस्तै तलब अनुसार खाडीमै जाने ड्राइभरहरुलाई ४ लाखसम्म अशुली गर्ने गरेको पाइएको छ । त्यस्तै सामान्य ३५/४० हजार कमाउने क्लिनर पदमै पनि खाडी मुलुकमा पठाउने क्रममा एक लाख ७० हजारसम्म अशुली हुने गरेको पाइएको छ।

मलेसिया रोजगार 

कोरोना कालपछि खुलेको मलेसिया रोजगारमा पछिल्लो नौ महिनामा १ लाख ८० हजार ५१ जना रोजगारमा गएका छन् । मलेसिया रोजगारमा पठाउने क्रममा अधिकांश म्यानपावर कम्पनीहरुले २ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म अशुली गरेको पाइएको छ । मलेसियाका केहि कम्पनीका डिमाण्ड निशुल्क आएका छन् । जस मध्ये करिव ५ देखि ८ हजार नेपाली मलेसिया रोजगारमा जाँदा निशुल्क लागतमा गएको अनुमान छ । त्यसबाहेक अधिकांशले मलेसिया जाँदा २ लाख ७० हजार औशत दरले तिर्दा म्यानपावर कम्पनीहरुलाई ४८ अर्व भन्दा बढी लागत खर्च तिरेको औशत आंकलन गरिएको छ । म्यानपावरहरुलाई तिरिने लागत मध्ये झन्डै एक तिहाई लागत रकम हुण्डी मार्फत मलेसियामा डिमाण्ड मिलाइदिने एजेन्टहरुलाई भाग लाग्ने गरेको म्यानपावर व्यवसायीहरुको दावी छ । 

मलेसियाका रोजगारदाताहरुसँग म्यानपावरहरुले सिधा सम्पर्क नबनाई एजेन्टहरुबाट डिमाण्ड किन्ने गरेको कारण युवाहरु मलेसिया रोजगारमा जाँदा चर्को लागत अशुली हुने गरेको छ । श्रम मन्त्री गोकर्ण विष्ट श्रम मन्त्री हुँदा मलेसिया रोजगारमा जाने नेपालीले निशुल्क जान पाउने भनि सम्झौता भएपनि मलेसिया रोजगारको क्रममा अचाक्ली अशुली बढ्दा नेपाल सरकारका सम्बन्धित निकायहरु मौन छन् । 


युरोप लगायत देशहरु 

वैदेशिक रोजगारको क्रममा युरोप सहित युरोप पठाए बराबर लागत अशुली हुने देशहरुमा रोजगारमा पठाउँदा संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृतिमा प्रतिव्यक्ति युवाहरुले औशतमा ७ लाखसम्म तिर्ने गरेका छन् । पछिल्लो ९ महिनामा म्यानपावरहरुले यस्ता देशहरु अन्तर्गत क्रोएसिया, रोमानिया, माल्टा, युके, अल्वानिया, साइप्रस, जापान रोजगारमा पठाएका छन् । पछिल्लो ९ महिनामा म्यानपावर मार्फत यी देशहरुमा १२ हजार ३४२ जना रोजगारको लागि गएका छन् । जसलाई औशतमा म्यानपावरहरुले प्रतिव्यक्ति करिव ७ लाखका दरले अशुली गर्दा ८ अर्व २ करोड २३ लाख अशुलेका छन् । 

युरोप रोजगारको क्रममा देश अनुसार ५ देखि १० लाखसम्म अशुली हुने गरेको छ । त्यस्तै जापान रोजगारको क्रममा १२ लाखसम्म अशुली हुने गरेको पाइएको छ । 

खाडीका ७ राष्ट्रहरु

म्यानपावर कम्पनीहरुले खाडीका ६ राष्ट्रमा वैदेशिक रोजगारमा पठाउँदा औशतमा प्रतिव्यक्ति एक लाख ६० हजारका दरले अशुली गर्ने गरेको बताइन्छ । पछिल्लो ९ महिनामा खाडीका ७ राष्ट्रहरु कतार, साउदी अरेविया, युएई, कुवेत, बहराइन, ओमान र जोर्डन रोजगार १ लाख २२ हजार ३११ जनालाई पठाएका छन् । यसरी पठाइएकाहरुबाट औशतमा अशुली हुँदा कुल औशत २० अर्व ७९ करोड ८७ लाख अशुली भएको अनुमान छ । सरकारको नीति अनुसार यी देशहरुमा प्रतिव्यक्ति १० हजार भन्दा बढी अशुली गर्न नपाइने नीति छ । तर यथास्थितिमै आर्थिक स्वार्थ र बार्गेनिङ गर्न पाई रहेका सरकारी संयन्त्रलाई यस सम्बन्धमा कुनै चासो छैन । 

खाडी मुलुकमै पनि पछिल्लो समय तलब अनुसार अशुली गर्ने गरिएको छ । राम्रो तलब भएको रोजगारमा पठाउँदा ६ लाखसम्म अशुली हुने गरेको पाइएको छ । धेरै नेपालीको माग हुने युएईमा सेक्युरिटी गार्ड पदमा रोजगारमा पठाउँदा ६ लाखसम्म अशुली हुने गरेको छ । 

एजेन्टहरुलाई इजजात बिनै वैदेशिक रोजगारको धन्दाले फलिफाप 

राज्य वैदेशिक रोजगारमा जाने युवाहरुप्रति उत्तरदाई नभन्दा एजेन्टहरुलाई इजजात बिनै वैदेशिक रोजगारको धन्दाले फलिफाप भईरहेको छ । म्यानपावरले २ करोड देखि ६ करोडसम्मको धरौटी राखेर वैदेशिक रोजगार व्यवसाय गर्नुपर्ने बाध्यता भएको अवस्थामा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा पठाउने गिरोहले खुलेयाम वैदेशिक रोजगारको धन्दा चलाईरहेका छन् । 


यसरी धन्दा चलाईरहेकाहरुले अग्रिम अशुली तथा ठगिका कयौं उजुरीहरु वैदेशिक रोजगार बिभागमा थुप्रिंदा सम्बन्धित निकायले व्यक्तिगत श्रम स्वीकृतिका नाममा भईरहेका धन्दालाई रोक्ने संयन्त्र बनाउन सकेको छैन । शैक्षिक परामर्श दिने उदेश्यले खुलेका अधिकांश कन्सल्टेन्सी तथा वैदेशिक रोजगारको इजाजत लिएर व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा पठाउने गिरोहहरुको संक्रियता ब्यापक छ । यसरी काम गर्नेहरुले वैदेशिक रोजगारमा पठाइएका युवाहरुको जिम्मेवारी समेत लिन नपर्ने तथा मनपरी अशुली गरेर कमाई गर्न पाइरहेका छन् । 

यसरी काम गर्नेहरुले पठाउने भन्दा पनि बढी अग्रिम अशुली गर्ने र सम्पर्कबिहीन बस्ने वा लामो समयसम्म झुलाएर अग्रिम अशुली गरेको रकम फिर्ता दिन आलटाल गर्ने प्रवृति बढ्दै गएको छ । वैदेशिक रोजगारको पछिल्लो ९ महिनाको तथ्यांकलाई हेर्ने हो भने व्यक्तिगत तर्फ ३० हजार भन्दा बढीले बिभिन्न देशमा रोजगारको लागि गएको देखिन्छ । यसरी गएकाहरुले एजेन्टहरुलाई व्यक्तिगत तर्फ १९ अर्व भन्दा बढी रकम बुझाएको बुझ्न सकिन्छ । व्यक्तिगत तर्फ नेपालीहरु ७५ भन्दा बढी देशमा जाने गरेका छन् । 

युरोप रोजगारको क्रममा म्यानपावरमा भन्दा बढी युवाहरुको संलग्नता व्यक्तिहरुसंग छ । श्रम गरेर पठाएको तथ्यांकलाई आधार मान्दा मात्र १९ अर्वको अशुलीको तथ्यांक आएको हो । यदि अग्रिम अशुली तथा ठगि भएको तथ्यांकलाई भिडाउने हो भने व्यक्तिगत तर्फ युवाहरुलाई बिभिन्न देशमा रोजगारको प्रलोभन देखाई अशुली भएको रकमको अरवौं हिसाव आउने आंकलन छ । 

यो पनि हेर्नुहोस् 

वैदेशिक रोजगारमा जान म्यानपावरलाई एक महिनाको तलब दिन प्रस्ताव (भिडियो) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!