माघ ८, काठमाडौँ | विदेश जाने तयारीमा हुनुहुन्छ भने तपाइँले द्रुत सेवामा पासपोर्ट बनाउन पनि सक्नु हुन्छ । राहदानी विभागले राहदानी लिन अहिले कुनै झन्झट नरहेको जनाएको छ । विभागका अनुसार अहिले आवश्कयताअनुसार एक दिनमै पासपोर्ट लिन सकिन्छ । द्रुत सेवाअन्तर्गत आवेदन फारम बुझाउँदा समयअनुसार लाग्ने शुल्क निर्धारण गरिएको छ ।
राहदानी नयाँ लिन तथा नवीकरणका लागि तीन दिनमा लिनका लागि १० हजार, दुई दिनमा लिन १२ हजार र एक दिनमा लिन १५ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै आवेदकको गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः राहदानी बनाउँदा तीन दिनमा बनाउनु परे ५ हजार, २ दिनमा बनाउनु परे ७ हजार हजार र एक दिनमा बनाउनु परेमा १० हजार रुपैयाँ शुल्क लाग्नेछ । तर, विभाग आफ्नै गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः बनाउनु परेमा भने कुनै शुल्क नलाग्ने विभागले स्पष्ट पारेको छ ।
त्यस्तै हराएको, बिग्रिएको वा च्यातिएको एक वर्ष नाघेर बनाउनु परेको खण्डमा लाग्ने मूल्यसूची भने फरक छ । त्यस्तो अवस्थामा तीन दिनमा राहदानी लिनका लागि १५ हजार, दुई दिनमा लिन १७ हजार तथा एक दिनमा लिन २० हजार रुपैयाँ लाग्छ ।

राहदानी बिभागका अनुसार सात वर्षमा ५० लाखभन्दा बढी नेपालीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिएका छन् । सन् २०१० डिसेम्बरदेखि २०१७ डिसेम्बरसम्ममा एमआरपी लिनेको संख्या ५१ लाख ५७ हजार ८३६ पुगेको छ । यस अवधिमा कूटनीतिक राहदानी ३ हजार ८१०, विशेष राहदानी १४ हजार ४१८, साधारण राहदानी ५१ लाख ३८ हजार २४८ तथा यात्रा अनुमतिपत्र १३ सय ६० वटा वितरण भएको तथ्यांक छ ।
२०१० डिसेम्बर २६ देखि एमआरपी लागू भए पनि यसको अनिवार्य प्रयोग तथा हस्तलिखित राहदानीको खारेज भने २४ नोभेम्बर २०१५ बाटमात्रै भएको थियो ।
राहदानी विभागबाट प्रत्यक्षबाहेक जिल्ला तथा विदेशस्थित दूतावास वा कूटनीतिक नियोगमार्फत पनि राहदानी लिन सकिने व्यवस्था छ । २०१७ सम्ममा विभागमार्फत् २० लाख ४६ हजार ५७१, जिल्लामार्फत २४ लाख ३९ हजार २५६ र विदेशी नियोगमार्फत् ६ लाख ७२ हजार ९ वटा राहदानी वितरण भएको छ । राहदानी लिने महिलाको संख्या भन्दा पुरुषको संख्या ५ गुणा बढी छ । सात वर्षमा राहदानी लिने महिलाको संख्या ८ लाख ९१ हजार ८८८ रहेको छ ।