मनोज पराजुली | चैत्र १, काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीका १० हजार १ सय ५२ उजुरी गृह मन्त्रालयमा बुझाएको छ । विभागले गृह मन्त्रालयमा बुझाएको यो बिबरण म्यानपावर कम्पनी विरुद्धका विभागमा दर्ता भएका हालसम्मको उजुरी हो ।
विभागमा २०६० सालदेखि म्यानपावर कम्पनी विरुद्ध परेका उजुरी लगायतका बिवरण गृहमन्त्रालयलाई उपलब्ध गराइएको विभागका निर्देशक मोहन अधिकारीले जानकारी दिए । हरेक म्यानपावर कम्पनी विरुद्ध परेका उजुरीहरु छुट्टाछट्टै रुपमा बुझाएका छौँ उनले भने “विभागमा हालसम्म म्यानपावर विरुद्ध परेका उजुरी, सो अनुरुप भएका छानवीन र हालको अवस्थाबारे सम्र्पूण बिवरण गृहमन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयलाई उपलब्ध गराएका हौँ।”
विभागको रेकर्डमा हालसम्म १० हजार १ सय ५२ उजुरी परेका छन् जसमध्ये २ हजार ५ सय ११ वटा उजुरी कामदार र व्यवसायी बीच मिलापत्र गरिएको निर्देशक अधिकारीले जानकारी दिए । विभागले ३ हजार ८ सय ९२ उजुरीको छानवीन गरी पीडितलाई क्षतिपुर्ति उपलब्ध गराएको साथै ५ सय ४२ वटा उजुरी तामेली गरेको र हाल ३ हजार १ सय उजुरीहरु पच्यौट हुन बाँकी रहेको बिवरण गृह मन्त्रालयमा पठाइएको निर्देशक अधिकारीले बताए ।
गत सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठगीका उजुरी लगायतका बिवरण उपलब्ध गराउन श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलाई निर्देशन दिएका थिए ।