जेठ १६,काठमाडौं । बैदेशिक रोजगारीको लागि ५६ हजार ८७ जना नेपालीहरु वैशाख महिनामा विदेशिएका छन् ।म्यानपावर कम्पनी मार्फत, रिइन्ट्री,व्यक्तिगत, इपिएस तथा बैधानिकरण भएर यो संख्यामा नेपालीहरु विदेशिएका हुन् ।वैदेशिक रोजगार विभागको वैशाख महिनाको विवरण अनुसार संस्थागत रुपमा ३० हजार २ सय ४० जना कामदार वैदेशिक रोजगारीमा गएका हुन् । वैशाख महिनामा अन्य प्रक्रियाबाट जानेको संख्या २५ हजार ८ सय ४७ रहेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरीयामा वैशाख महिनामा ४७ महिलासहित ९ सय ७८ जना ईपीएस मार्फत गएका छन् । रिइन्ट्री मार्फत विभिन्न देशमा २२ हजार ४ सय ७९ जना गएका छन् भने व्यक्तिगत रुपमा जानेको संख्या ८ सय ३९ जना रहेको छ । वैशाखमा बैधानिकरण हुनेको संख्या १ हजार ५ सय ५१ रहेको विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार गत चैत्र महिनामा ३१ हजार ८ सय १८ जना कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा गएका थिए । विभागले तयार पारेको तथ्यांकका आधारमा वैशाख महिनामा संस्थागत रुपमा सबैभन्दा धेरै मलेसिया पुगेका छन् । मलेसिया जानेको संख्या १० हजार १ सय १४ रहेको छ ।
गत महिनामा कतार दोश्रो स्थानमा परेको छ । कतारमा ८ हजार ५ सय ८६ जना गएका छन् । तेस्रो स्थानमा रहेको यूएईमा जाने कामदारको संख्या बढेको छ । चैतमा ३ हजार ९ सय १८ जना गएको यूएईमा वैशाखमा ५ हजार ४ सय ६० जना गएका छन् । अघिल्लो महिनाको आँकडा हेर्दा यूएई जानेको संख्या निरन्तर बढेको छ । उक्त मुलुकमा जाने संस्थागत र व्यक्तिगत रुपमा जानेको संख्या हाराहारी छ ।
चौथो स्थानमा रहेको साउदी अरबमा वैशाख महिनामा २ हजार ९ सय ८३ जना गएका छन् । वैशाखमा १ हजार ७ सय ७४ जना कुवेत गएका छन् ।वैशाखमा बहराईनमा ३ सय १२ जना, टर्कीमा २ सय ९८ जना, पोल्याण्डमा १ सय ९६,ओमानमा २ सय २७ जना, जोर्डनमा ३ जना, मकाउमा ८ जना कामदार गएका छन् ।
त्यस्तै, अफगानिस्तानमा संस्थागत रुपमा १४ जना गएका छन् । नेपाली कामदार रि इन्ट्री मार्फत वैदेशिक रोजगारीमा जाने मुलुकमा यूएई, कतार र मलेसिया रहेका छन् । वैशाखमा वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्या १ हजार ९ सय ४४ रहेको छ । त्यसमध्ये सबै भन्दा बढी यूएईमा ६ सय १० जना, कतारमा २ सय ८९ जना, मलेसियामा ३ सय ९५ जना जोर्डनमा ३ जना र कुवेतमा २ सय ५३ जना गएका छन् ।