बैशाख २०, काठमाडौं । श्रम कार्यालय ताहाचलबाट श्रम स्वीकृतिको काम छिटो गरीदिन्छु भनी सेवाग्राहीबाट नगद लिने एक जना विचौलिया पक्राऊ परेका छन् । श्रमकार्यालय परिसरमा सेवाग्राहीबाट नगद २ हजार रुपैयाँ लिने काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पिताम्बर गैरेलाई बिहीबार प्रहरीले पक्राऊ गरेको हो ।
ताहाचलस्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय बाहिर पानी विक्री वितरण गरी हिंड्ने गैरेले श्रम स्वीकृतिको लागि लाईनमा बसेका २ जना सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनि प्रलोभनमा पारी उनीहरुबाट जनही १/१ हजार रुपैयाँ नगद लिएको अवस्थामा सो स्थानमा ड्युटीमा खटिएको प्रहरी र श्रम कार्यालयका कर्मचारीले फेला पारी पक्राउ गरिएको हो । पक्राऊ परेका गैरेलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।